भारतीय पर्यटन: संख्या मात्र होइन, एउटा चलायमान अर्थतन्त्र पनि हो
नेपाल–भारत सीमा पार गर्दा नेपाल र भारत दुवै देशका नागरिकहरुलाई विदेशी भूमिमा आएको अनुभूति हुँदैन। किनभने यी दुई देशको भाषा मिल्छ, खाना मिल्छ, धर्म मिल्छ, चाडपर्व मिल्छ। यही कारणले नेपाल भारतीय पर्यटकका लागि “विदेश” भन्दा पनि सजिलै पुग्न सकिने नजिकको अनुभवजस्तो बनेको छ।
तर भारतीय पर्यटनको वास्तविक कथा केवल सांस्कृतिक नजिकपनमा सीमित छैन। यसको गहिरो प्रभाव नेपालको होटल व्यवसाय, धार्मिक पर्यटन, यातायात, खुद्रा व्यापार, साहसिक पर्यटन र स्थानीय उत्पादन बजारसम्म फैलिएको छ।
हरेक वर्ष नेपाल आउने विदेशी पर्यटकमध्ये भारतीय पर्यटक सबैभन्दा ठुलो समूह हो । तर अब प्रश्न केवल “कति भारतीय पर्यटक नेपाल आए?” भन्ने होइन। वास्तविक प्रश्न हो - उनीहरू कहिले आउँछन्, कहाँ जान्छन्, र उनीहरुको आगमनलाई आधार मानेर हामीले आफ्नो आम्दानीमा कसरी सुधार ल्याउन सक्छौ भन्ने हो l
भारतीय पर्यटन: तीव्र वृद्धिदेखि स्थिर बजारसम्म
कोभिडपछिको पुनरुत्थानपछि भारतीय पर्यटन नयाँ चरणमा प्रवेश गरेको देखिन्छ। सन् २०२३ मा भारतीय पर्यटकको तीव्र वृद्धि भएपछि बजार अहिले स्थिर र बलियो अवस्थामा पुगेको छ। विशेष गरी मे देखि अगस्टसम्मको पर्यटन तीन वर्षदेखि लगभग उस्तै छ। यसको अर्थ नेपालको पर्यटन उद्योगसँग एउटा भरपर्दो आधार बजार छ।
- २०२२: पुनरुत्थानको वर्ष
- २०२३: तीव्र विस्तार (३,१९,९३६ आगमन)
- २०२४: उच्च तर स्थिर पर्यटन
- २०२५: सामान्य गिरावट भए पनि बलियो बजार
- २०२६: सुरुवातमै सकारात्मक संकेत
वर्ष | जनवरी-अप्रिल | मे-अगस्ट | सेप्टेम्बर-डिसेम्बर | जम्मा |
|---|---|---|---|---|
२०२२ | ४७,४४० | ८३,५४८ | ७८,३४६ | २०९,३३४ |
२०२३ | ९२,१८५ | १२३,४४२ | १०४,३०९ | ३१९,९३६ |
२०२४ | ११०,५७३ | १२३,४४६ | ८३,७५३ | ३१७,७७२ |
२०२५ | ८७,०१७ | १२३,४७९ | ८१,९४२ | २९२,४३८ |
२०२६* | १००,२९३ |
स्रोत: Nepal Tourism Board (2022-2026)
👉 भारतीय पर्यटन अब “रिकभरी” को चरणमा छैन। यो नेपालको सबैभन्दा स्थिर पर्यटन बजारमध्ये एक हो l
मुख्य बुझाई: अब व्यवसायहरूले केवल पर्यटक संख्या बढाउने होइन, उनीहरूको खर्च, बसाइ अवधि र अनुभव सुधारतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ।
भारतीय पर्यटन: जनवरी महिना देखि नै बलियो आगमन
पहिले भारतीय पर्यटकहरु मुख्यतः गर्मी बिदा, दशैं–तिहार वा धार्मिक अवसरमा नेपाल आउने गर्थे। तर अहिले वर्षको सुरुवाती महिनाहरू पनि उनीहरु नेपाल आउन थालेका छन् । सङ्ख्यामा भन्नु पर्दा जनवरी २०२६ मा २६,६२४ भारतीय पर्यटक नेपाल आए - सो महिनाको अहिलेसम्मकै उच्च संख्या।
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
|---|---|---|---|---|---|
जनवरी | ३,९१५ | १६,४३६ | २४,१३९ | २०,४८५ | २६,६२४ |
फेब्रुअरी | ६,०१५ | १८,४०१ | २५,५७८ | १९,१८७ | २२,७४५ |
मार्च | १५,०३४ | २५,९११ | ३०,६९८ | २१,४१२ | २५,७२८ |
अप्रिल | २२,४७६ | ३१,४३७ | ३०,१५८ | २५,९३३ | २५,१९६ |
मे | २६,७५४ | ३६,५७५ | ३८,२८८ | २८,१६० | |
जुन | २३,२४८ | ३८,८४५ | ३७,८३५ | ३२,६६२ |
स्रोत: Nepal Tourism Board (2022-2026)
यसले भारतीय पर्यटकको व्यवहार बदलिँदै गएको संकेत दिन्छ।अब उनीहरू:
- छोटो छुट्टीमा,
- अफ-सिजनमा,
- जाडो मौसममा,
- तथा “वीकएन्ड अन्तर्राष्ट्रिय ट्रिप” को रूपमा पनि नेपाल आउन थालेका छन्।
👉 यसको अर्थ पर्यटन व्यवसायले अब मार्च–अप्रिल कुर्नु पर्दैन। जनवरीदेखि नै होटल, ट्राभल प्याकेज, धार्मिक भ्रमण र वेलनेस पर्यटन सक्रिय बनाउन सकिन्छ।
भारतीय पर्यटन: गर्मी याम सबैभन्दा भरपर्दो सिजन
भारतीय पर्यटकहरु जुलाई-अगष्टको गर्मी समयमा पनि नेपाल आउने गर्छन l
- अगस्ट २०२५ मा ३५,५०५ भारतीय पर्यटकहरु नेपाल आएका थिए - सो महिनाको लागि यो अहिलेसम्मकै उच्च संख्या हो।
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
|---|---|---|---|---|---|
जुलाई | १७,३९९ | २१,३५७ | २१,४९१ | २७,१५२ | |
अगस्ट | १६,१४७ | २६,६६५ | २५,८३२ | ३५,५०५ | |
सेप्टेम्बर | १४,४७१ | २८,६९४ | २२,९८४ | १५,५५६ | |
अक्टोबर | १६,९१० | १८,४८० | १६,३१३ | १७,२९८ | |
नोभेम्बर | २०,५३२ | २४,४४३ | १९,९१५ | १८,९९५ | |
डिसेम्बर | २६,४३३ | ३२,६९२ | २४,५४१ | ३०,०९३ |
स्रोत: Nepal Tourism Board (2022-2025)
भारतीय पर्यटकहरू गर्मी छल्न, परिवारसँग घुम्न, धार्मिक भ्रमण गर्न र छोटो छुट्टी मनाउन नेपाल आइरहेका छन्। यसलाई लक्षित गरेर निम्न सेवाहरू विस्तार गर्न सकिन्छ l
- पारिवारिक प्याकेज, हिल स्टेशन अनुभव, वेलनेस र योग पर्यटन, मानसुन पर्यटन, लक्जरी बसाइ र धार्मिक सर्किट l
तर एउटा रोचक कुरा के छ भने - अगस्टपछि भारतीय पर्यटकहरु नेपाल आउने क्रम अलिक कम हुन्छ । विशेष गरी सेप्टेम्बरमा पर्यटकहरुको सङ्ख्या कम देखिन्छ।
👉 त्यसैले “अफ-सिजन” लाई नयाँ अवसरका रूपमा हेर्नुपर्ने बेला आएको छ।
भारतीय पर्यटक: संस्कृति प्रतिको मोह
नेपाल घुम्न आउने भारतीय पर्यटकहरू केवल फोटो खिच्ने ठाउँ खोजीराखेका छैनन् । बरु उनीहरू त अनुभव खोजिरहेका छन्। भक्तपुरमा भारतीय पर्यटकको संख्या लगातार बढ्नु यसको संकेत हो।
- सन् २०२१/२२ मा ६१,८५१ रहेको संख्या सन् २०२४/२५ मा ७९,१३२ पुगेको छ।
भक्तपुरमा भारतीय पर्यटकहरु
स्रोत: Nepal Tourism Board (2022-2026); The Rising Nepal 24/7/2025
👉
यसले देखाउँछ कि भारतीय पर्यटकहरू स्थानीय संस्कृति, नेवारी खाना, पुराना शहर, हस्तकला, तथा “अथेन्टिक अनुभव” तर्फ आकर्षित भइरहेका छन्।
अब के गर्न सकिन्छ?
भक्तपुरलाई केवल “काठमाडौं नजिकको घुम्ने ठाउँ” को रूपमा होइन, सांस्कृतिक अनुभव केन्द्रका रूपमा ब्रान्ड गर्न सकिन्छ। केहि उदाहरणहरु:
नेवारी फुड टुर
रात्रीकालीन हेरिटेज वाक
माटोका भाँडा बनाउने अनुभव
स्थानीय हस्तकला कार्यशाला
लुम्बिनी: धार्मिक पर्यटनभन्दा ठूलो सम्भावना
लुम्बिनी भारतीय पर्यटकका लागि केवल तीर्थस्थल मात्र होइन, एउटा विशाल पर्यटन बजार पनि हो।
सन् २०२२ देखि २०२४ सम्म भारतीय पर्यटक संख्या निरन्तर बढेको थियो। सन् २०२५ मा सामान्य गिरावट देखिए पनि दीर्घकालीन ट्रेन्ड अझै सकारात्मक छ।
लुम्बिनीमा भारतीय पर्यटकहरु
स्रोत: Nepal Tourism Board (2022-2026); Lumbini Development Trust
तर अब चुनौती बदलिएको छ l पहिले मानिसहरू “दर्शन” गरेर फर्किन्थे। अब लुम्बिनीले पर्यटकलाई लामो समय टिक्ने अनुभव बनाउनुपर्ने अवस्था छ।
👉 उदाहरणको लागि:
- मेडिटेशन रिट्रिट
- बुद्धिस्ट वेलनेस पर्यटन
- परिवार केन्द्रित धार्मिक प्याकेज
- भारतीय शहर लक्षित डिजिटल प्रचार
- होटल + ध्यान + भ्रमण संयुक्त प्याकेज
भारतीय साहसिक पर्यटन: संख्या घट्यो, गुणस्तर बढ्यो
भारतीय पर्वतारोहण संख्या घटेको देखिए पनि सफलता दर भने स्थिर छ । यसले भन्दै छ अहिले साहसिक पर्यटन “मास मार्केट” भन्दा बढी तयारी र गुणस्तरमा आधारित हुँदैछ।
विशेष गरी महिला पर्वतारोहीहरूको सफलता दर पुरुषभन्दा राम्रो देखिनु अर्को रोचक संकेत हो।
हिमाल आरोहणमा भारतीय पर्यटकहरु
स्रोत: Nepal Tourism Board (2022-2026)
👉 अवसरहरु: महिला ट्रेकिङ समूह, शुरुवाती पर्वतारोहण तालिम, लक्जरी ट्रेकिङ, र फिटनेस–आधारित एडभेन्चर प्याकेज
लेक लाग्ने समस्या: भारतीय पर्यटकहरूको प्रमुख चिन्ताको विषय
नेपालमा भारतीय पर्यटकहरूको संख्या बढिरहे तापनि, भारतीय पर्यटकहरूको लागि लेक लाग्ने समस्या एक प्रमुख चिन्ताको विषय बन्दै गएको छ।
- मध्ये २०२३ देखि २०२५ को बीचमा, अन्नपूर्ण क्षेत्रमा लेक लगेर ३८ पर्यटकको मृत्यु भयो, जसमध्ये ५०% भारतीय थिए l
स्रोत: Tourism Info Nepal 21/8/2025
२०२६: भारतीय पर्यटन अझ बढ्ने संकेत
अहिलेसम्मको ट्रेन्ड हेर्दा २०२६ मा भारतीय पर्यटन फेरि वृद्धि हुने सम्भावना बलियो देखिन्छ।
अवस्थाहरु | प्रक्षेपित पर्यटकहरु |
|---|---|
अहिलेको अवस्थामा | ३४५,००० |
बढी आए भने | ३६५,००० |
कम आए भने | ३२२,००० |
नोट: ८०% विश्वास अन्तराल
ध्यान दिनुपर्ने: अब नेपालको चुनौती पर्यटक ल्याउनेभन्दा पनि उनीहरूलाई बढी खर्च गराउने, लामो बसाइ गराउने, नयाँ गन्तव्यमा लैजाने, र स्थानीय अर्थतन्त्रसँग जोड्ने हो।
नेपालमा भारतीय पर्यटनका प्रमुख निष्कर्षहरू
- बजार परिपक्व भइसकेको छ: भारतीय पर्यटन अब तीव्र वृद्धिबाट स्थिर र नियमित आगमन हुने पर्यटन बजारमा रूपान्तरण भइसकेको छ।
- सिजनमा मात्र होइन, वर्षभरि अवसर छ: गर्मी महिना अझै मुख्य आधार भए पनि जनवरी–अप्रिल जस्ता महिनाहरू पनि बलियो बन्दै गएकाले वर्षभरि रणनीति आवश्यक छ।
- गन्तव्यअनुसार लाभ असमान छ: लुम्बिनी र भक्तपुरजस्ता गन्तव्यहरू बढी लाभान्वित छन् भने धेरै प्राकृतिक र कम प्रचारित क्षेत्रहरू अझै भारतीय पर्यटकको पहुँच बाहिर छन्।
भारतीय पर्यटन र व्यवसायिक अवसरहरू
भारतीय पर्यटनको तथ्य बुझ्नु एउटा कुरा हो, तर त्यसलाई आम्दानीमा बदल्नु अर्को कुरा हो। माथिका तथ्यांक हेर्दा भारतीय पर्यटकहरूसँग मिल्ने पाँच प्रमुख व्यवसायिक अवसरहरू तल प्रस्तुत गरिएको छ।
मोही व्यवसाय: गर्मीमा सबैभन्दा सरल अवसर
भारतीय पर्यटकहरू गर्मी महिनामा नेपाल आउने गर्छन, विशेषगरी धार्मिक स्थल र तराई–सहर क्षेत्रहरूमा।
- अवसर: लुम्बिनी, जनकपुर, पोखरा र हाइवे क्षेत्रहरूमा “रेडी-टु-सर्भ” मोही बिक्रीलाई ब्रान्डेड गर्मी पर्यटन उत्पादनको रूपमा विकास गर्न सकिन्छ।
👉 मोही व्यवसाय: कसरी एउटा गिलासले नेपालमा दैनिक आम्दानीमा रूपान्तरण हुन सक्छ
लप्सी क्यान्डी: भारतीय पर्यटकको इम्पल्स खरीद उत्पादन
भारतीय पर्यटकहरू साना, सजिलै बोक्न मिल्ने र उपहारका रूपमा दिने खाद्य वस्तुहरू धेरै किन्छन्।
- अवसर: एयरपोर्ट, धार्मिक स्थल र पर्यटक बजारमा प्याकेज्ड लप्सी क्यान्डीलाई प्रिमियम नेपाली गिफ्ट उत्पादनको रूपमा विस्तार गर्न सकिन्छ।
👉 लप्सी क्यान्डी: अमिलो परिकारमा गुलियो चकलेट
धूप र धार्मिक उत्पादन: तीर्थयात्रा आधारित बजार
भारतीय पर्यटनको ठूलो हिस्सा धार्मिक यात्रा हो - विशेषगरी मन्दिर, गुम्बा र तीर्थस्थलहरूमा।
- अवसर: गाईको गोबर वा प्राकृतिक सामग्रीबाट बनेका धूप, पूजा सामग्री र सुगन्धित उत्पादनहरूलाई मन्दिर आसपास ब्रान्डेड बिक्रीमा रूपान्तरण गर्न सकिन्छ।
👉 फोहोरलाई आम्दानीमा परिणत गर्ने, र यसको उत्तम उपाय भनेको गाइको गोबर
केरा पाउडर: ट्रेकिङ र यात्रा ऊर्जा उत्पादन
भारतीय पर्यटकहरू अब केवल धार्मिक यात्रा मात्र होइन, साहसिक र ट्रेकिङ अनुभवतर्फ पनि आकर्षित हुँदैछन्।
- अवसर: ट्रेकिङ रुट, टी-हाउस र एडभेन्चर टुरिज्म सप्लाई चेनमा ऊर्जा दिने पोषण उत्पादनको रूपमा केरा पाउडर प्रयोग गर्न सकिन्छ।
👉 फार्म टु फर्चुन: नेपालमा केरा पाउडर व्यवसायको सम्पूर्ण गाइड
नेपाली अचार: घर फर्किने प्रमुख खाद्य स्मृति बजार
भारतीय पर्यटकहरूले विशेषगरि खानेकुरो र उपहारका रूपमा लैजाने खाद्य सामग्रीमा खर्च गर्छन।
- अवसर: हाइजेनिक प्याकेजिङ सहित नेपाली अचारलाई एयरपोर्ट, सीमाना बजार र पर्यटन केन्द्रमा प्रिमियम “Take-home Nepali Taste” उत्पादनको रूपमा विकास गर्न सकिन्छ।
👉 प्रवासीभन्दा पर: कसरी नेपाली अचारले विश्वव्यापी प्रिमियम बजारहरू जित्दै छ
👉
भारतीय पर्यटन अब केवल आगमनको कथा होइन - यो ठूलो उपभोग बजार हो। नेपालमा सफल हुने व्यवसायहरूले भारतीय पर्यटकहरू कहाँ जान्छन् भन्ने मात्रै होइन, उनीहरूले के किन्छन्, के किन्दैनन्, र किन किन्दैनन् भन्ने गहिराइमा बुझ्नुपर्छ, र सोहीअनुसार आफ्नो रणनीति बनाउनुपर्छ।