1334
गोबरबाट स्वर्णिम कमाइ: कसरी नेपाली गोबर धूप विश्व बजारमा 'ग्रीन गोल्ड' बन्न सक्छ?
Data Insight

कल्पना गर्नुहोस्: एउटा यस्तो वस्तु, जुन हाम्रो गाउँघरमा सर्वसुलभ रूपमा पाइन्छ, आज अमेरिकादेखि खाडी मुलुकसम्म लाखौं डलरमा बिकिरहेको छ। यो कुनै सिलिकन चिप वा सफ्टवेर कोड होइन, तर हाम्रै गाउँगोठमा हुने गाईहरूको गोबर हो। जसलाई शताब्दियौंसम्म केवल इन्धन वा साधारण मल ठानिन्थ्यो, त्यही गोबर आज विश्व बजारमा 'ग्रीन गोल्ड' (हरित सुन) का रूपमा उदाएको छ।

यस ब्लगमा हामी विभिन्न समाचार स्रोतहरूबाट प्राप्त तथ्यांक र विश्लेषणको माध्यमबाट बुझ्नेछौं कि कसरी गोबर नेपालका गाईपालक तथा उद्यमीहरूको लागि करोडौंको कारोबारको माध्यम बन्न सक्छ।

गोबर अर्थतन्त्रको विश्वव्यापी उदय: फोहोरदेखि विश्व बजारसम्म

हाल बिश्वोभर प्राकृतिक मलहरूको माग बढ्दै गएको छl रासायनिक मलले दिने वातावरणीय हानि र स्वास्थ्य प्रभावहरूका कारण विश्वभरका देशहरू अहिले प्राकृतिक मललाई विकल्पको रुपमा अघि सार्दै छन्।

सिंथेटिक मलहरूको निरन्तर प्रयोगले माटोको संरचनालाई क्षति पुर्याउँछ, अम्लीयता बढाउँछ, जलस्रोतहरू दूषित गर्छ, र माटोका लागि चाहिने लाभदायक सूक्ष्मजीवहरूलाई नष्ट गर्छ। यी रसायनहरूका अवशेषहरू खानामा पनि रहन सक्छन्, जसले क्यान्सर र उच्च रक्तचाप जस्ता दीर्घकालीन स्वास्थ्य जोखिमहरू बढाऊदछ।

फलस्वरूप, जैविक खाद्य र अन्य वस्तुहरुको विश्वव्यापी माग बढिरहेको छ। यस्तो अवस्थामा, गोबर विशेष रूपमा मूल्यवान छ किनकि यसले माटोको उर्वरता सुधार गर्छ, सूक्ष्मजीव गतिविधि बढाउँछ, र माटोको संरचना प्राकृतिक रूपमा पुनर्स्थापित गर्छ।

निर्यात गर्ने र खरिद गर्ने व्यवसायी संघसंस्थाको संख्या - भारतको उदाहरण

स्रोत: KisanTak 24/10/2025; RuralVoice 15/05/2023; GauBharatBharati 4/12/2025; IndianNewslink 17/5/2025 

भारतको गोबर निर्यातले यस क्षेत्रको सम्भावनालाई अझ प्रस्ट पार्दछ। हाल भारतमा १८१ निर्यातकर्ता र ३२७ विश्वोभरका खरीददारहरू गोबर व्यवसायमा सक्रिय छन् l विशेष गरी, कुवैत जस्ता मरुभूमि प्रधान देशले गोबरलाई खजूर खेतीमा प्रयोग गर्नुले यसको बहुआयामिक उपयोगिता र जलवायु-लचिलो कृषिमा योगदान देखाउँछ। यसले गोबरलाई केवल कृषि इनपुट मात्र नभई मरुभूमि पुनरुत्थानको औजारको रूपमा पनि स्थापित गरेको छ।

मुख्य संदेशहरु: 
  • मुख्य कुरो गोबरलाई मूल्यवर्धन (Value Addition) बनाउनु हो: कच्चा गोबर बेचेर न्यूनतम मूल्य पाइन्छ, तर प्रशोधित उत्पादनहरूले ३-५ गुणा बढी मूल्य दिन सक्छन्। जस्तै: गोबर पाउडर/पेलेट्स वर्मी कम्पोस्ट गोबर-आधारित जैविक कीटनाशक गोबर धूप र अगरबत्ती l
  • प्रमाणीकरणले बजार पहुँच बढाउँछ: अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न 'जैविक' प्रमाणपत्र (Organic Certification) अनिवार्य जस्तै छ। यसले उत्पादनको मूल्य २०-३०% सम्म बढाउन सक्छ।
  • स्थानीय स्रोत, अन्तर्राष्ट्रिय बजार: गाउँमा फोहोर ठानिने गोबरलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार प्रशोधन गरेर सिंगापुर, अमेरिका, खाडी मुलुकहरूमा पुर्याउन सकिन्छ। यसको लागि: गुणस्तर नियन्त्रण प्याकेजिङ्गमा ध्यान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण आवश्यक छ।

गोबरबाट धूप : नेपालमा पञ्चगव्यबाट करोडौंको व्यवसाय

"गोबर भनेको फोहोर होइन, यो सम्भावना बोकेको मोहर हो" – यो भनाइले गोबरलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिन्छ। काठमाडौंमा बसेर गोबर धूप उत्पादन गर्ने उद्यमीको कथा आज प्रेरणाको स्रोत बनेको छ। पाँच वर्षअघि मात्र ६०० रुपैयाँबाट सुरु गरेको यो यात्रा आज वार्षिक करोड रुपैयाँको व्यापारमा पुगेको छ। उनले उत्पादन गरेको पञ्चगव्य धूप स्वदेश मात्र नभई अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशहरूमा निर्यात हुँदैछ।

गोबर, गौमूत्र, दूध, दही र घिउको मिश्रणबाट बनेको यो धूपले मानसिक तनाव, माइग्रेन, अनिन्द्रा जस्ता समस्या समाधान गर्न मद्दत गर्ने बिश्वास छ।

यस व्यवसायले केहि महिलाहरुलाई प्रत्यक्ष रोजगारी दिएको छ भने ग्रामीण क्षेत्रका किसानहरूले गोबर बेचेर आम्दानी गर्न थालेका छन्। एक किलोग्राम गोबरबाट १५० भन्दा बढी धूप बनाउन सकिन्छ, जसले मूल्यवर्धनको ठूलो सम्भावना देखाउँछ । 

विवरण
अन्य जानकारी
शुरुवाती लगानी
रु ६००/-
हालको मासिक व्यापार
रु. ४००,००० – ८००,०००
वार्षिक व्यापार
करोडभन्दा माथि
एक केजी गोबरबाट धूप संख्या
१५०+ वटा
गोबर खरिद मूल्य
रु. ५० प्रति बोरा (५० केजी)
निर्यात हुने देशहरू
अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क
धूपको आयु
५ वर्षसम्म
स्रोत:  YouTube (2026)

नेपालमा गुणस्तर परीक्षणको अभाव, युवा जनशक्ति विदेश पलायन, र सरकारी सहयोगको कमी जस्ता चुनौतीहरू छन् । यदि यी समस्या समाधान गर्न सकियो भने, गोबर धूपले नेपालको निर्यात व्यापारमा ठूलो योगदान पुर्याउन सक्छ।

गाठी कुरो:
  • थोरै लगानी, ठुलो प्रतिफल: ग्रामीण क्षेत्रमा गाई भएका परिवारले त सहजै यो व्यवसाय सुरु गर्न सक्छन्। सुरुवातमा आफ्नै घरको लागि बनाउन थालेको धूपले बिस्तारै बजारको माग बुझ्दै व्यवसायको रूप लिन सक्छ।
  • निर्यातको ठुलो सम्भावना:  हाल यो धूप ५ भन्दा बढी देशमा निर्यात भइरहेको छ। पर्यटन क्षेत्रसँग सहकार्य गरेर पर्यटकहरूलाई उपहारको रूपमा यो धूप दिन सके विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पुग्न सक्छ।

गोबरबाट बनेको धुप:  नेपालमा अपार सम्भावना

एक रिपोर्ट अनुसार, सन् २०२३ मा मात्र नेपालले ३,१०० टन भन्दा बढी धूप आयात गरेको थियो, जसको मूल्य २१ करोड रुपैयाँ रहेको थियो । यी आयातित धूपहरूमा प्रायः सिंथेटिक रसायन, पेट्रोलियम पदार्थ र कृत्रिम सुगन्ध हुने गर्दछ, जसले श्वासप्रश्वास समस्या र क्यान्सर जस्ता स्वास्थ्य जोखिम निम्त्याउँछ ।

स्रोत:  Swaviman 29/10/2024

नेपालमा लगभग ७२ लाख गाई तथा गोरु रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक छ । यति ठूलो संख्यामा गाई हुँदा पनि नेपालमा गोबरको व्यवसायिक उपयोग हुन सकेको छैन। गोबर धूपले यसको सम्भावनालाई मूर्त रूप दिएको छ। एक केजी गोबरबाट १५० भन्दा बढी धूप बनाउन सकिन्छ।

स्रोत: The Farsight 21/1/2026

रासायनिक धूपको तुलनामा गोबर धूप पूर्ण प्राकृतिक हुन्छ र यसले स्वास्थ्यलाई कुनै हानि गर्दैन। नेपालसँग रैथाने गाईको सम्पदा छ, जसको गोबर अझ प्रभावकारी मानिन्छ। यदि सरकारले गुणस्तर परीक्षणको व्यवस्था, सहुलियतपूर्ण ऋण, र निर्यात प्रवर्धनमा सहयोग गर्ने हो भने, गोबर धूपले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्छ।

गोबरको धूप त एउटा उदाहरण मात्र हो।
  • यही गोबरबाट हामी जैविक मल (वर्मीकम्पोस्ट) बनाउन सक्छौ।
  • बायोग्यास बनाउन सक्छौ l
  • लामखुट्टे धपाउने धूप बनाउन सक्छौ l
  • गोबरको काठ बनाउन सक्छौ l
  • बायोडिग्रेडेबल गमला र प्याकेजिङ बनाउन सक्छौ l
  • सजावटी मूर्ति र हस्तकला बनाउन सक्छौ l

गोबर धूप उद्योग: अवसर र प्रमुख जोखिमहरू

नेपालमा गोबर धूप उद्योग हरित र मूल्यवर्धित व्यवसायको रूपमा अगाडी बढ्दै छ। वार्षिक २१ करोडको धूप आयात प्रतिस्थापन गर्न सक्ने सम्भावना बोकेको यस उद्योगको दीर्घकालीन सफलता भने केहि जोखिमहरूमा निर्भर छ। समग्रमा, कच्चा पदार्थको निरन्तर आपूर्ति र गुणस्तर नियन्त्रण यसको आधारभूत क्षेत्रहरू हुन्।

  • कच्चा पदार्थ आपूर्ति जोखिम:  गोबर संकलन मौसमी र पशुपालनमा निर्भर हुन्छ। बर्खायाममा गोबर सुकाउन गाह्रो हुने, गाईको संख्यामा कमी आउने, वा संकलन केन्द्रहरूबाट नियमित आपूर्ति हुन नसक्दा उत्पादन श्रृंखला प्रभावित हुन सक्छ।
  • गुणस्तर र प्राविधिक जोखिम:  गोबरमा रासायनिक मिश्रण, फोहोर, वा अन्य वस्तु मिसिने सम्भावना हुन्छ। नेपालमा गोबर धूपको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको अभाव छ। गुणस्तरमा एकरूपता कायम हुन नसके दीर्घकालीन बजार गुम्ने जोखिम हुन्छ। अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्न नसके निर्यातमा कठिनाई हुन्छ।
  • बजार र मूल्य जोखिम:  चीन र भारतबाट आयात हुने सस्तो रासायनिक धूपले मूल्यमा दबाब सिर्जना गर्न सक्छ। चाडपर्वमा माग उच्च हुने तर अन्य बेला मागमा कमी आउने मौसमी जोखिम पनि छ।
  • वित्तीय र नगद प्रवाह जोखिम:  सुरुवाती लगानी कम भए पनि व्यवसाय विस्तारका लागि पुँजी आवश्यक हुन्छ। जडीबुटी खरिद, भण्डारण, र ढुवानीका लागि नियमित नगद प्रवाह आवश्यक छ। अस्थिर नगद प्रवाहले सञ्चालनमा दबाब सिर्जना गर्न सक्छ।
  • नियामक र प्रमाणीकरण जोखिम:  अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि जैविक प्रमाणपत्र (Organic Certification) अनिवार्य छ। नेपालमा यस्तो प्रमाणपत्र दिने संयन्त्रको अभाव छ। गुणस्तर परीक्षणको लागि भारत जानुपर्ने बाध्यताले लागत र समय दुवै बढाउँछ।
  • सञ्चालन र व्यवस्थापन जोखिम: किसानसँगको समन्वय, गोबर संकलन, र ढुवानी व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ। ग्रामीण क्षेत्रबाट गोबर संकलन गरी काठमाडौं ल्याउँदा ढुवानी लागत व्यवस्थापन गर्न कठिनाइ हुन्छ। समूह वा सहकारी मोडेलमा समन्वयको अभावले दक्षता घटाउन सक्छ।

अन्तिम निष्कर्ष: के गोबर घुप व्यवसायको भविष्य छ?

नेपालमा गोबर धूप उद्योगको भविष्य उज्ज्वल, दिगो र बहुआयामिक छ। वार्षिक २१ करोडको धूप आयात प्रतिस्थापन गर्न सक्ने यो उद्योग कृषि फोहोर व्यवस्थापनको माध्यम मात्र नभई ग्रामीण अर्थतन्त्र, महिला सशक्तीकरण, र निर्यात प्रवर्धनको महत्वपूर्ण माध्यमको रूपमा उदाइरहेको छ। त्यसैले, गोबर धूप उत्पादनको बजार भविष्यमा अझ विस्तार हुने अपेक्षा गरिएको छ।

गोबर धूप उद्योगले नेपालको लागि तीनआयामिक समाधान प्रस्तुत गर्दछ:

  • आर्थिक आयाम: किसानको आम्दानी बढाउँछ, स्थानीय रोजगारी सिर्जना गर्छ, र विदेशी मुद्रा आर्जन गर्छ। वार्षिक २१ करोडको आयात प्रतिस्थापन गर्न सक्छ।
  • सामाजिक आयाम: महिला सशक्तीकरण गर्छ, ग्रामीण उद्यमशीलता प्रवर्धन गर्छ, र विदेश पलायन रोक्न मद्दत गर्छ।
  • वातावरणीय आयाम: गोबरको व्यवसायिक उपयोग गरेर वातावरण स्वच्छ राख्छ, रासायनिक धूपको प्रयोग घटाउँछ, र जडीबुटी खेती प्रवर्धन गर्छ।

नेपालमा गोबर धूप उद्योग अझै बाल्यावस्थामा छ। तर, काठमाडौंकी एक महिला उद्यमीले ६०० रुपैयाँबाट सुरु गरेर करोडको व्यापार पुर्याएको यात्रा, ग्रामीण क्षेत्रबाट गोबर संकलन गरेर आम्दानी गर्न थालेका किसानहरू, र पाँच देशमा निर्यात हुन थालेको गोबर धूप — यो उद्योगको भविष्यको लागि सही बाटो हो।

 
 

DHN Admin 11 मार्च, 2026
सेयर गर्नुहोस् 
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
राराको समस्या २० हजार पर्यटक, समाधान यी तीन उत्पादन
Data Insights