केरा पाउडर, साधारण देखिए पनि अत्यन्त उपयोगी र बहुउद्देश्यीय उत्पादनको रूपमा अहिले क्रमशः महत्व पाउँदै गएको छ। पाकेका वा काँचो केरालाई सुकाएर राम्रोसँग पिसी तयार गरिने यो पाउडरमा केरामा पाइने भिटामिन, खनिज पदार्थ र आहार फाइबरजस्ता पोषक तत्वहरू ठूलो मात्रामा सुरक्षित रहन्छन्।
लामो समयसम्म भण्डारण गर्न मिल्ने, सजिलै प्रयोग गर्न सकिने र शिशु आहारदेखि लिएर बेकरी, स्वास्थ्य परिकार तथा खाद्य प्रशोधनसम्म विभिन्न क्षेत्रमा यसको प्रयोग हुने भएकाले यसको माग पनि बढ्दो छ। विशेषगरी केरा उत्पादन प्रशस्त हुने क्षेत्रहरूमा यसले पोस्ट–हार्भेस्ट नोक्सानी घटाउने मात्र नभई किसान र साना उद्योगका लागि नयाँ आयआर्जनको अवसर सिर्जना गर्ने सम्भावना बोकेको छ।

केरा पाउडर: नेपालमा केराबाट आम्दानी बनाउने नयाँ बाटो
नेपालका तराई तथा मध्य-पहाडी क्षेत्रमा उत्पादन हुने केरा समयमा बजार आई नपुग्दा वा मूल्य घट्दा ठूलो मात्रामा खेर जाने सम्भावना हुन्छ। यही समस्यालाई अवसरमा रूपान्तरण गर्ने सरल उपाय हो—केरा पाउडर। ताजा केराको तुलनामा पाउडर बनाउँदा यसको भण्डारण अवधि धेरै बढ्छ, ढुवानी सजिलो हुन्छ, र वर्षभरि बिक्री गर्न सकिन्छ।
साना प्रशोधन इकाइमार्फत स्थानीय किसान, सहकारी वा युवाहरूले काँचो वा कम मूल्यमा बिक्ने केरालाई प्रशोधन गरेर उच्च मूल्यमा बेच्न सक्छन्। विशेषगरी, आयात हुने बेबी फुड, बेकरी सामग्री, र स्न्याक उद्योगमा प्रयोग हुने कच्चा पदार्थको सट्टा स्वदेशी केरा पाउडरले बजार लिन सक्ने सम्भावना छ। यसले केवल पोस्ट–हार्भेस्ट नोक्सानी घटाउँदैन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने क्षमता राख्छ।
विवरण | अनुमानित लागत/परिमाण |
|---|---|
काचो केरा | प्रति गोटा रु २-५ (बेमौसममा अझ सस्तो) |
एक केजी पाउडरका लागि केरा | करिब २५–३५ गोटा केरा |
प्रशोधन लागत | प्रति केजी पाउडर रु. २००–३०० |
कुल उत्पादन लागत | प्रति केजी रु. ३५०–५०० |
बिक्री मूल्य | रु. ५००–१२०० प्रति केजी |
सम्भावित नाफा | रु. १५०–६०० प्रति केजी |
लगानी उठ्ने समय | ६–१८ महिना |
Source: Doline et al. (2025); Imarc Group; Barc; Industry Today 05/02/2024
कच्चा केराको लागत: नेपालमा सामान्य अवस्थामा एउटा केराको मूल्य रु. ५–१० सम्म हुन्छ। तर बेमौसममा वा अत्यधिक उत्पादन हुँदा यो मूल्य घटेर रु. २–३ सम्म पुग्न सक्छ। साथै, बजार नपाएको वा धेरै पाकेर छिट्टै बिग्रने अवस्थामा पुगेको केरा पनि सस्तोमा प्राप्त गर्न सकिन्छ। व्यवसायीले यस्तो केरालाई कच्चा पदार्थको रूपमा प्रयोग गर्दा लागत निकै कम हुन्छ। यसले किसानलाई पनि फाइदा हुन्छ किनकि उसको केरा पूरै खेर जानबाट बच्छ।
पाउडर उत्पादन दर: एक किलोग्राम केरा पाउडर बनाउन करिब २५ देखि ३५ वटा केरा चाहिन्छ। यो संख्या केराको साइजमा भर पर्छ। यसलाई सरल बनाउँदा, एक किलो पाउडरका लागि २ किलो ताजा केरा चाहिन्छ। नेपालमा एक केराको औसत तौल ६०-८० ग्राम हुने गर्दछ, जसअनुसार २५-३५ गोटा केरा आवश्यक पर्छ ।
प्रशोधन लागत: प्रशोधन लागतमा मुख्यतया केरा धुने, बोक्रा निकाल्ने, सुकाउने र पिस्ने खर्च जोडिएको हुन्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण खर्च सुकाउने प्रक्रियाको हो। परम्परागत विद्युतीय ड्रायर प्रयोग गर्दा विद्युत खर्च धेरै हुन्छ। तर सौर्य सुकाउने (Solar Drying) प्रविधि प्रयोग गरेमा यो खर्च निकै कम हुन्छ। नेपालमा प्रशस्त घाम लाग्ने भएकाले यो प्रविधि अत्यन्त उपयुक्त छ। प्रति केजी रु. २००–३०० को लागतमा श्रम, प्याकेजिङ, र विद्युत/इन्धन खर्च समावेश गरिएको छ।
कुल उत्पादन लागत: कुल उत्पादन लागत भनेको कच्चा केरा (रु. ७५–१७५) र प्रशोधन लागत (रु. २००–३००) जोड्दा आउने रकम हो। यसरी हेर्दा एक किलो केरा पाउडर बनाउन करिब रु. ३५०–५०० खर्च हुन्छ। यो लागत ठूलो उद्योग सञ्चालन गर्दा अझै घट्न सक्छ किनकि ठूलो परिमाणमा उत्पादन गर्दा प्रति एकाइ लागत घट्ने अर्थशास्त्रको नियम (Economies of Scale) लागू हुन्छ।
बिक्री मूल्य: नेपाली बजारमा केरा पाउडरको मूल्य रु. ५०० देखि रु. १२०० प्रति केजी सम्म पाइन्छ। यो मूल्य निम्न कुरामा निर्भर गर्दछ:
- थोक कि खुद्रा बिक्री: ठूलो परिमाणमा बिक्री गर्दा मूल्य कम हुन्छ, खुद्रा बिक्री गर्दा बढी।
- ब्रान्डिङ: ब्रान्डेड उत्पादनको मूल्य सामान्य भन्दा बढी हुन्छ l
- अर्गानिक प्रमाणपत्र: अर्गानिक प्रमाणपत्र प्राप्त उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा धेरै मूल्यमा बेच्न सकिन्छ।
- प्याकेजिङ: आकर्षक र गुणस्तरीय प्याकेजिङले पनि मूल्य बढाउँछ।
सम्भावित नाफा: कुल उत्पादन लागत (रु. ३५०–५००) र बिक्री मूल्य (रु. ५००–१२००) को फरक नै नाफा हो। यसरी हेर्दा प्रति केजी रु. १५० देखि रु. ६०० सम्म नाफा हुन सक्छ। अर्गानिक र ब्रान्डेड उत्पादन गर्न सके नाफाको यो अन्तर अझै बढ्न सक्छ।
लगानी उठ्ने समय (ब्रेक-इभन पिरियड): यस व्यवसायमा गरेको लगानी उठ्न करिब ६ देखि १८ महिना लाग्न सक्छ। यो अवधि उद्योगको आकार, सुरुको लगानी, र बजारमा उत्पादन बेच्न कति समय लाग्छ भन्ने कुरामा भर पर्छ। सानो लगानीमा सुरु गरेर स्थानीय बजारमा राम्रो पहुँच बनाउन सके ६ महिनामै लगानी उठ्न सक्छ भने ठूलो उद्योगलाई बजार विस्तार गर्न समय लाग्ने भएकाले १८ महिना वा सोभन्दा बढी पनि लाग्न सक्छ।
मुख्य संदेश: केरा पाउडरलाई नेपालमा केवल “स्वास्थ्य उत्पादन” होइन, “आम्दानी समाधान” का रूपमा हेर्नुपर्छ, किनकि यसले किसानका मुख्य समस्या—बजार अभाव, मूल्य अस्थिरता र छिटो बिग्रिने समस्या—समाधान गर्छ।
तराईबाट सस्तोमा केरा सङ्कलन गरी काठमाडौं, पोखरा जस्ता शहरमा प्रशोधन/बिक्री गर्दा कम मूल्यको उत्पादनलाई उच्च मूल्यमा रूपान्तरण गर्न सकिन्छ।
स्थानीय रूपमा गुणस्तरीय उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्दै bulk supply र “हिमालयन अर्गानिक” ब्रान्डमार्फत अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना हुन्छ।
एक रोपनी केरा खेती: समीक्षात्मक विश्लेषण
एक रोपनी जमिनबाट करिब १,५०० देखि २,००० वटा केरा उत्पादन हुन सक्छ, जुन सिधै बजारमा बेच्दा सीमित आम्दानी मात्र दिन्छ र मूल्य घट्ने तथा बिग्रिने जोखिम पनि उच्च हुन्छ। व्यवसायिक रूपमा केरा पाउडर उत्पादन गर्दा लागत र नाफाको स्पष्ट गणना हुनु आवश्यक छ। १०० किलो काँचो केराबाट करिब ५० किलो पाउडर उत्पादन हुन्छ भन्ने तथ्यांक प्रामाणिक छ ।
यही उत्पादनलाई केरा पाउडरमा रूपान्तरण गर्दा मूल्य उल्लेखनीय रूपमा बढ्छ। कच्चा उत्पादनलाई प्रशोधन गरेर दीर्घकालीन भण्डारणयोग्य, सजिलै ढुवानी गर्न मिल्ने र उच्च मूल्यमा बिक्री गर्न सकिने उत्पादनमा बदल्ने भएकाले, केरा पाउडरले "low-value agriculture" लाई "high-value agribusiness" मा रूपान्तरण गर्ने स्पष्ट उदाहरण प्रस्तुत गर्छ। यसले किसानलाई केवल उत्पादनकर्ता होइन, मूल्य सिर्जना गर्ने उद्यमी बनाउने सम्भावना खोल्छ।
तुलनात्मक तालिका: कच्चा केरा बिक्री बनाम केरा पाउडर उत्पादन (१ रोपनी जमिनबाट)
विवरण | काचो केरा विक्री | केरा पाउडर उत्पादन |
|---|---|---|
कुल उत्पादन | १,५००– २,००० केरा | ५० – ७० केजी पाउडर |
बिक्री मूल्य | रु. ३–५ प्रति केरा | रु. ६०० – १००० प्रति केजी |
कुल आम्दानी | रु. ४,५०० – १०,००० | रु. ३६,००० – ६०,००० |
कुल लागत | रु. ३,००० – ५,००० |
रु. १५,००० – २०,००० |
सम्भावित नाफा |
रु. २,००० – ५,००० | रु. २०,००० – ४०,००० |
जोखिम | उच्च (बिग्रिने, मूल्य घट्ने) | मध्यम (बजारमा निर्भर) |
स्रोत: Doline et al. (2025); Imarc Group; Barc; Industry Today 05/02/2024
गाठी कुरो
यो तुलनाले स्पष्ट रूपमा देखाउँछ कि नेपालको समस्या उत्पादन अभाव होइन, मूल्य अभिवृद्धिको कमी हो। एक रोपनीबाट पनि यदि कच्चा उत्पादन बेचिन्छ भने आम्दानी सीमित हुन्छ। तर त्यही उत्पादनलाई प्रशोधनमा जोड्दा आम्दानी ५–१० गुणासम्म बढ्न सक्छ।
नेपाली केरा पाउडर: अबको सम्भावना
नेपालले आफ्नो उत्पादन गुणस्तरीय र अर्गानिक बनाउन सके युरोप र उत्तर अमेरिका जस्ता ठूला बजारमा निर्यात गर्न सक्छ। यसको प्रमाण के हो भने, भारतको सूरतस्थित Drijoy Foods Private Limited नामक कम्पनीले फ्रिज-ड्राइड केरा पाउडर नेपालमा समेत निर्यात गरिरहेको छ । यसले दुई महत्त्वपूर्ण कुरा संकेत गर्दछ:
- नेपालमा पनि केरा पाउडरको माग र बजार अस्तित्वमा छ।
- नेपाली उद्यमीहरूले यो आयात प्रतिस्थापन गर्न सक्छन् र आफैं उत्पादन गरेर भारत लगायत तेस्रो मुलुकमा समेत निर्यात गर्न सक्छन्।
यसको अर्थ, हाल नेपालले भारतबाट केरा पाउडर आयात गरिरहेको छ, जसलाई स्वदेशी उत्पादनले प्रतिस्थापन गर्न सकिन्छ। त्यसपछि, नेपालले आफ्नो हिमालयन अर्गानिक पहिचानलाई ब्रान्डको रूपमा प्रयोग गरेर युरोप, अमेरिका र एसियाली बजारमा प्रवेश गर्न सक्छ, जहाँ ग्लुटेन-मुक्त र प्राकृतिक उत्पादनको माग उच्च छ।
केरा पाउडरलाई एक चोटी फेरी बुझौ:
आयात प्रतिस्थापनको तत्काल सम्भावना: नेपालमा केरा पाउडरको बजार छ l भारतबाट आयात भएको सङ्ख्याले यो देखाएको छ ।
निर्यातको विशाल सम्भावना: नेपालले केरा पाउडरलाई "हिमालयन अर्गानिक केरा पाउडर" को रुपमा ब्रान्डिङ गरेर विदेश निर्यात गर्ने सम्भावना छ ।
नेपालको आन्तरिक बजार पनि बलियो छ: नेपालको फलफूल पल्प बजार नै ८.४४% को दरले बढिरहेको छ। केरा पाउडरको प्रयोग शिशु आहार, स्वास्थ्य पेय पदार्थ, र बेकरी उद्योगमा हुने भएकाले, यो बजार पनि त्यही दरले वा त्योभन्दा छिटो बढ्ने अनुमान गर्न सकिन्छ।
प्रतिस्पर्धामा फाइदा: नेपालमा केरा प्रशस्त मात्रामा उत्पादन हुन्छ र यहाँको केरा प्राकृतिक रूपमा अर्गानिक हुने गर्दछ। यो हाम्रो सबैभन्दा ठूलो प्रतिस्पर्धात्मक फाइदा हो, जसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बेच्न सकिन्छ।
केरा पाउडर व्यवसाय: जोखिम र न्यूनीकरण उपायहरु
कुनै पनि व्यवसायमा जोखिम सामान्य हो, तर यसको पूर्वानुमान र व्यवस्थापन नै सफलताको आधार हो। केरा पाउडर व्यवसायमा नेपाली उद्यमीले देख्न सक्ने मुख्य जोखिम र तिनका समाधान यसप्रकार छन्:
प्रशोधन प्रविधि जोखिम: केरा काटेपछि अक्सिजनको सम्पर्कमा आउँदा हुने कालोपन (अक्सिडेसन) ले उत्पादनको रङ, पोषण मूल्य र बजार मूल्य घटाउँछ ।
- समाधान: एसिड उपचार (एस्कोर्बिक/सिट्रिक एसिड), ०-५ मिनेट ब्ल्यान्चिङ, फोम-म्याट ड्राइङ प्रविधि, वा लिक्विड नाइट्रोजन पल्पिङ (चीन) प्रयोग गर्न सकिन्छ ।
उत्पादन लागत र दक्षता जोखिम: सुकाउने प्रक्रियामा उच्च ऊर्जा खपत हुने भएकाले प्रविधि र अप्टिमाइजेसनमा ध्यान नदिए नाफा घट्न सक्छ।
- समाधान: रिस्पोन्स सरफेस मेथडोलोजी (RSM) प्रयोग गरेर सुकाउने समय र तापक्रम अप्टिमाइज गर्ने। फोम-म्याट ड्राइङ प्रविधि स्प्रे ड्राइङको तुलनामा कम लागत र छोटो पेब्याक अवधि (३.५ वर्ष) को हुन्छ ।
कच्चा पदार्थ आपूर्ति जोखिम: आवश्यक परिमाणमा काँचो केराको नियमित आपूर्ति नहुनु र मूल्य अस्थिरता ।
- समाधान: किसानसँग प्रत्यक्ष सम्झौता (ब्याकवर्ड लिङ्केज) गर्ने। फिलिपिन्स मोडेल अनुसार निर्यातयोग्य नभएको ५-२०% केरा प्रयोग गरेर लागत घटाउने ।
बजार र प्रतिस्पर्धा जोखिम: अन्तर्राष्ट्रिय बजारमा कडा गुणस्तर मापदण्ड (ISO, प्रमाणपत्र) पूरा गर्नुपर्ने र भारत, इक्वेडर, फिलिपिन्ससँग प्रतिस्पर्धा ।
- समाधान: ISO र फूड सेफ्टी प्रमाणपत्र अनिवार्य। "हिमालयन अर्गानिक" ब्रान्डिङमार्फत भिन्नता कायम गर्ने ।
नीतिगत तथा पूर्वाधार जोखिम: सरकारी नीति अस्थिरता, अनुदानमा ढिलाइ, बिजुली/सडक अभाव ।
- समाधान: सरकारी निकायसँग समन्वय गरी अनुदान र सहुलियतपूर्ण कर्जा लिने।
अन्तिम निष्कर्ष: के यो व्यवसायको भविष्य छ?
केरा पाउडर व्यवसायको भविष्य छ कि छैन भन्ने प्रश्नको उत्तर एक शब्दमा दिने हो भने—छ, र ठूलो सम्भावना छ । तर यो सम्भावना तत्कालको नाफाभन्दा पनि दीर्घकालीन रणनीति, गुणस्तर, र बजार पहुँचमा भर पर्छ ।
प्राकृतिक र स्वस्थ खानाप्रति बढ्दो माग: उपभोक्ताहरू कृत्रिम र परिष्कृत चिनीको विकल्प खोजिरहेका छन् l
ग्लुटेन-मुक्त र वनस्पति-आधारित उत्पादनको बृद्धि: केरा पाउडर ग्लुटेन-मुक्त हुन्छ, जसले गर्दा यो बेकरी, शिशु आहार र प्लान्ट-बेस्ड उत्पादनहरूमा गहुँको पिठोको उत्कृष्ट विकल्प बनेको छ l
सौन्दर्य प्रसाधन (कस्मेटिक्स) क्षेत्रमा प्रयोग:मेबेलिन जस्ता ठूला कम्पनीहरूले केरा पाउडरलाई सेटिङ पाउडरको रूपमा प्रयोग गरिरहेका छन् l
दिगोपन र फोहोर व्यवस्थापन: केरा पाउडर उत्पादनले बजार नपाएको केरालाई सदुपयोग गरेर कृषि फोहोर घटाउन मद्दत गर्दछ l
नेपालका लागि यो एउटा रणनीतिक अवसर हो। हामीसँग केरा प्रशस्त उत्पादन हुन्छ, तर अहिले हामी त्यो अवसर चुकाइरहेका छौं। नेपालले आफ्नो "हिमालयन अर्गानिक" ब्रान्डिङको प्रयोग गरेर युरोप र उत्तर अमेरिका जस्ता ठूला बजारमा निर्यात गर्न सक्छ, जहाँ अर्गानिक र प्राकृतिक उत्पादनको उच्च मूल्य छ।