Follow us
११२,००० अमेरिकी पर्यटक : नेपालको पर्यटन उद्योगको लागि नयाँ अवसर र रणनीति
Data Insight

दशकौँ सम्म अमेरिकी पर्यटकहरू नेपाल आउने समय भनेको अंग्रेजी क्यालेन्डरको सेप्टेम्बर र अक्टोबर महिना रह्यो । सो समयमा मौसम पनि सफा हुने, ट्रेकिङ जाने बाटोहरू पनि खुला हुने, र नेपालमा चाडपर्वहरूको रौनक हुने हुँदा अमेरिकी पर्यटकहरुले सो समयलाई लक्षित गर्थे l तर अब यो अवस्था फेरिदै गएको छ। विगत ४ वर्षको पर्यटक सङ्ख्याले अमेरिकी पर्यटकहरुको यात्रा तालिका हेरफेर हुदै गएको देखाएको छ l यसर्थ अमेरिकी पर्यटकहरु कुन महिनामा कति आउदै छन् भन्ने कुरो हरेक व्यवसायी वा अन्य सरोकारवालाहरुले बुझ्नु जरुरी छ l

अमेरिकी पर्यटकहरुको निरन्तर वृद्धि 

सन् २०२२ मा ७७,०८३ अमेरिकी पर्यटकहरू नेपाल आएका थिए। यो सङ्ख्या सन् २०२४ र २०२५ मा ११२,००० भन्दा बढी पुगेको छ । वृद्धि दरमा भन्नु पर्दा, २०२२ को तुलनामा ५०% भन्दा थप अमेरिकी पर्यटकहरु नेपाल आएका छन् । सन् २०२६ को सुरुवाती महिना ज्यानवरीमा अघिल्लो सालको सोही महिनाभन्दा बढी अमेरिकी पर्यटकहरू नेपाल आएका छन् l यसले अमेरिकी पर्यटकहरूको नेपालप्रतिको रुचि र चासो देखाएको छ । यस्तै, पहिलेको समयमा अमेरिकी पर्यटकहरु असोजदेखि मंसिरमा धेरै आउने गरेकोमा हालको समयमा भने पुस-माघमा धेरै आउन थालेका छन्। अर्थात्, अमेरिकी पर्यटकहरूको यात्रा तालिकामा फेरबदल आएको छ l

वर्ष
जनवरी-अप्रिल
मे–अगष्ट
सेप्टेम्बर–डिसेम्बर
जम्मा
२०२२
१८,७१९
२४,९६६
३३,३९८
७७,०८३
२०२३
३२,४१८
२७,२०६
४०,७३१
१००,३५५
२०२४
३६,८४६
३०,२८६
४४,०८४
१११,२१६
२०२५
३९,५५६
३१,४६४
४१,२९६
११२,३१६
२०२६*
१८,११६ २६,०९०



स्रोत:  Nepal Tourism Board (2022-2026)
मुख्य कुरो: कोभिडपश्चात् नेपालले खुलेर अमेरिकी पर्यटकहरुलाई स्वागत गर्यो। यस कार्यले अमेरिकी पर्यटकहरु माझ एउटा आधार तय गर्यो, जसले गर्दा पछिका वर्षहरुमा १,१२,००० भन्दा बढी अमेरिकी पर्यटकहरु नेपाल आएका छन् । अबको बाटो भनेको संख्यालाई होइन बरु गुणस्तरीय पर्यटकहरु खोज्ने हो । अमेरिकी पर्यटकहरुको यात्रा तालिकामा आएको फेरबदल सँगै, उनीहरुलाई नेपाल आउने संदेश अब हरेक महिना पुर्याउनुहोस् । नेपालमा किन धेरै समय बस्ने भन्ने कुरोको जानकारी दिनुहोस् l

जनवरी-जुन: अमेरिकी पर्यटकहरुको बदलिएको यात्रा तालिका

सन् २०२२ को जनवरीदेखि अप्रिल महिनासम्ममा १८,७१९ अमेरिकी पर्यटकहरू नेपाल घुम्न आए। यस्तै, सन् २०२५ मा यो सङ्ख्या ३९,००० भन्दा बढी पुग्यो । हिसाब गर्ने हो भने २०२२ को तुलनामा सन् २०२५ को सङ्ख्या दोब्बर भन्दा पनि बढी छ । झन्, २०२५ को फेब्रुअरी महिनामा मात्रै १०,३४८ अमेरिकी पर्यटकहरु नेपाल आएका थिए l तीन वर्षअघिको सङ्ख्या भन्दा यो सङ्ख्या तेब्बर बढी हो l अङ्ग्रेजी क्यालेन्डरको मे र जुनमा पनि उत्तिकै पर्यटकहरू नेपाल आए । यस्तै अवस्था मार्च र अप्रिल महिनामा पनि छ। सन् २०२६ को ज्यानवरी महिनामा ८,४०६ अमेरिकी पर्यटकहरू नेपाल आए l जनवरी महिनाको लागि यो सबैभन्दा धेरै संख्या हो। यसर्थ अमेरिकी पर्यटकहरूको नेपाल आगमनले एउटा सन्देश दिएको छ। उनीहरूको यात्रा तालिका परिवर्तन हुँदैछ। यो हुनु भनेको नेपालको लागि फाइदाको विषय हो।

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जनवरी
३,२५९
६,५६१
७,०४७
८,०६३
८,४०६
फेब्रुअरी
३,२०६
७,८८७
९,०८९
१०,३४८
९,७१०
मार्च
४,९०९
९,५५७
१०,७६३
११,०९२
७,९७४
अप्रिल
७,३४५
८,४१३
९,९४७
१०,०५३

मे
७,३१८
८,५४६
८,५२७
९,०७४

जुन
८,३५०
८,४७०
८,८२१
९,६९६

स्रोत:  Nepal Tourism Board (2022-2026)
चुरो कुरो:  दशकौंसम्म नेपालमा आउने पर्यटकहरूको एउटा निश्चित समय थियो। तर यो अवस्था अहिले फेरिएको छ। अन्य महिनाहरूमा पनि अमेरिकी पर्यटकहरु नेपाल आउन थालेका छन्। यो यात्रा तालिकाको फेरबदल सँगै अब उनीहरुले खुला आकाश, खाली पदयात्रा, र स्थानीय संस्कृतिहरूको अनुभव गर्ने मौका पाउनेछन् l
 
यात्रा तालिकामा आएको यो फेरबदल समस्या भने होइन l यो त एउटा अवसर हो। यो अवसरलाई उपर्युक्त रणनीति बनाएर जानुहोस् l अमेरिकी पर्यटकहरुलाई स्वागत गर्नुहोस्, उनीहरुको आवस्यकतालाई बुझेर लगानी गर्नुहोस्, र सारा संसारलाई नेपाल घुम्न आउने समय त यो पो हो भनेर जानकारी दिनुहोस् l यसो गरियो भने, हरेक महिना नेपाल आउने पर्यटकहरु हुनेछन् l

जुलाई-डिसम्बर:  दशैँ ताकाको अमेरिकी यात्रा

अङ्ग्रेजी क्यालेन्डरको जुलाईदेखि डिसेम्बरसम्मको अमेरिकी पर्यटकहरूको सङ्ख्यालाई हेर्ने हो भने उल्लेख्य वृद्धि भएको देखिन्छ l सन् २०२२ को अक्टोबर महिनामा ११,८५९ अमेरिकी पर्यटकहरू नेपाल आए l त्यो संख्या २०२४ मा १६००० भन्दा माथि पुगेको छ। अन्य महिनाहरूमा पनि अमेरिकी पर्यटकहरूको सङ्ख्या बढेको छ। सन् २०२५ को सेप्टेम्बर महिनामा अघिल्लो सालको तुलनामा कम पर्यटक आए तापनि समग्रमा हेर्ने हो भने यसले अमेरिकी पर्यटकहरूको नेपालमा विद्यमान रुचि र चासोलाई प्रष्ट पार्दछ।

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जुलाई
५,२२८
५,५६१
७,८६४
६,६२६

अगष्ट
४,०७०
४,६२९
५,६१४
६,०६८

सेप्टेम्बर
७,९३८
७,३६४
१०,०८४
९,६७९

अक्टोबर
११,८५९
१४,८७८
१६,०२३
१३,२८६

नोभेम्बर
७,८३२
११,४६१
१०,९८१
११,२५४

डिसेम्बर
५,७६९
७,०२८
६,९९६
७,०७७

स्रोत:  Nepal Tourism Board (2022-2026)  
मुख्य कुरो:  अमेरिकी पर्यटकहरू असोजदेखि मङ्सिर महिनामा आउने त छँदैछन्। तर उनीहरु यात्रा गर्न लागेको बेला भन्दा पनि यात्राको तालिका बनाउन लाग्दा नेपाल भ्रमणबारे जानकारी दिने बाटो खोज्नुपर्छ l चाडपर्वको रौनक, खुला ट्रेलको जानकारी र स्वच्छ हिमाल देखिने सुनिस्चितता सहितको सन्देश अमेरिकी पर्यटकहरुमा पुर्याउनुहोस् l नेपाल आउने सहि समय यो हो भनेर भन्नुहोस् l

भक्तपुरमा अमेरिकी पर्यटकहरुको बढ्दो रहर

विश्व पर्यटनमा केही वर्ष समस्या भएपनि सन् २०२४/२५ मा भक्तपुर दरबार स्क्वायरले १६,५५८ अमेरिकी पर्यटकहरुलाई स्वागत गर्यो l यो संख्या सन् २०२१/२२ मा १३,२३० थियो। सङ्ख्यालाई जोडघटाउ गर्ने हो भने सन् २०२४/२५ मा भक्तपुर पुग्ने अमेरिकी पर्यटकहरु २५% ले बढे l यसले भक्तपुर दरबार स्क्वायरमा अमेरिकी पर्यटकहरुको चासो निरन्तर बढिरहेको छ भन्ने सकारात्मक संदेश दिएको छ l भक्तपुरमा देखिएको अमेरिकी पर्यटक सङ्ख्याले अबका दिनमा यहाँ थप अमेरिकीहरुलाई ल्याउन के गर्न पर्छ भनेर सोच्न बाध्य बनाएको छ ।

भक्तपुरमा अमेरिकी पर्यटकहरु

स्रोत:  Nepal Tourism Board (2022-2026)

व्यवहारिक कुरो:  अबको अवसर भनेको भक्तपुरमा एकछिन रोकौँ न भन्ने भन्दा पनि केही समय यहाँ बसौँ न भन्ने अवस्था सिर्जना गर्ने हो। यसर्थ एउटा क्याम्पेन नै चलाउनुहोस्, जहाँ भक्तपुरको पुराना शैलीहरू देखाउनुहोस् । माटोको भाडा बनाउने तरिकाहरुको प्रचारप्रसार गर्नुहोस् । भक्तपुरका शान्त बाटाहरु देखाउनुहोस्। यी कार्यहरूले पर्यटकहरु सजिलै तान्न सक्छ l यहाँ आउने अमेरिकी पर्यटकहरुको संख्याले भन्छ कि उनीहरुले भक्तपुरलाई छोडेका छैनन् बरु भक्तपुरलाई नयाँ तरिकाबाट हेर्न चाहन्छन् l यस तर्फ रणनीति बनाउनुहोस् l

लुम्बिनीमा अमेरिकी पर्यटकहरुको बढ्दो चासो

अमेरिकी पर्यटकहरूले लुम्बिनीमा चासो देखाएका छन् । सन् २०२२ मा लुम्बिनी आउने अमेरिकी पर्यटकहरूको सङ्ख्या जम्माजम्मी ९२४ थियो। सन् २०२३ मा यो सङ्ख्या १,६७८ पुग्यो। यो भनेको एकै वर्षमा ८२%ले वृद्धि हो। सन् २०२४ मा यो सङ्ख्या १,८४७ पुग्यो l संख्याको हिसाबमा त्यति ठूलो नभए पनि यसले एउटा सन्देश दिएको छ: अमेरिकी पर्यटकहरु लुम्बिनी भ्रमण गर्न खोज्छन् l लुम्विनी पुगेर आउ न भनेर भन्दा पनि लुम्बिनी त जानै पर्छ भन्ने संदेश जादै छ l

लुम्बिनीमा अमेरिकी पर्यटकहरु

स्रोत:  Nepal Tourism Board (2022-2026)

साचो कुरो:  अबको अवसर भनेको लुम्बिनी महत्त्वपूर्ण पनि छ र यहाँको यात्रा अविस्मरणीय पनि हुन्छ भनेर देखाउने हो । यसर्थ मायादेवी मन्दिरबाट सूर्योदय भएको राम्रा फोटाहरू, भिक्षुहरुले ओम माने पेमे भनिराखेको एउटा सानो भिडियो, वा कुनै पर्यटक जसले म यहाँ आएर शान्ति पाए भनेर भनेको एउटा सानो क्लिप राखेर प्रचारप्रसार गर्नुहोस् l यिनीहरु मार्केटिंगका उत्तम उपाय हुन् l लुम्बिनीमा पर्यटकहरूको चासो त छँदैछ, मार्केटिंगका यी उपायहरुले लुम्बिनी त जानु नै पर्छ है भन्ने संदेश दिन्छ ।

पर्वतारोहणमा अमेरिकी महिला पर्यटकहरुको सक्रिय र सफल आरोहण 

पर्वतारोहणका लागि आउने अमेरिकी पर्यटकहरूको सङ्ख्या सन् २०२४ मा केही घटे पनि उनीहरुको सफलताको कथा उल्लेख्य छ । पुरुषहरूको सङ्ख्या २६३ बाट २०१२ मा झरेको छ l महिलाहरूको संख्या हरेक वर्ष ५८ वा सोभन्दा धेरै छ। अझ राम्रो कुरो त महिलाहरूको सफलता दर ४८% वा त्यो भन्दा बेसी छ। यो भनेको हिमाल आरोहण गर्ने आधि जसो महिलाहरु सफल हुने गरेका छन् l पुरुषहरूको सफलता दर पनि ४५% बाट ५८% पुगेको छ । यी सबै सङ्ख्याहरूले भन्छ कि थोरै मात्र अमेरिकी पर्यटकहरू हिमाल आरोहणमा जाने गरेका छन् l तर जति जान्छन्, तयारीका साथ जान्छन् र शिखरमा पुग्छन् l

पर्वतारोहणमा अमेरिकी पर्यटकहरु

स्रोत:  Nepal Tourism Board (2022-2026)

साचो कुरो:  अमेरिकी महिला आरोहीहरु सहभागी हुने मात्र होइनन्, बरु सफल भएर देखाउदै छन् l यसर्थ, उनीहरुका सफल कथाहरूलाई मार्केटिङ गर्नुहोस्। महिला नै महिला भएको आरोहण टोली बनाउनुहोस्। वा आरोहण टोलीमा महिलाले नेतृत्व गर्ने अवस्था सिर्जना गर्नुहोस्। किनभने, हिमाल आरोहण अब पुरुषले मात्र गर्ने हो भन्ने भाष्य कम हुदै गएको छ l महिलाहरुले पनि आफ्ना कथाहरु कोर्दै आएका छन् ।

सन् २०२६ को लागि आउन सक्ने अमेरिकी पर्यटकहरुको सम्भावित संख्या 

सन् २०२६ को सुरुवाती महिनामा देखिएको चार प्रतिशत वृद्धिले थप ऊर्जा प्रदान गरेको छ। वर्षभरि अमेरिकी पर्यटकहरुको अवस्था के हुन्छ भन्ने जानकारी तल प्रस्तुत गरिएको छ l

अवस्था
प्रक्षेपित पर्यटकहरु
अहिलेको अवस्थामा
~118,000 ११५,२००
बढी आए भने
~125,000 १२१,९००
कम आए भने
~110,000 १०७,५००
नोट:  ८०% बिश्वास अन्तराल

नेपालको पर्यटन: सिक्नुपर्ने तिन विश्वव्यापी पाठहरु

अमेरिकी पर्यटकहरूको यात्रा तालिका बिस्तारै परिवर्तन हुँदैछ। कुनै बेला असोज महिनामा धेरै आउने अमेरिकी पर्यटकहरु अब बिस्तारै अन्य महिनाहरूमा आउन थालेका छन्। भक्तपुरमा पुग्ने अमेरिकी पर्यटकहरूको सङ्ख्या १६००० भन्दा बढी नाघेको छ। यो तथ्यले अमेरिकी पर्यटकहरू पौराणिक महत्व भएका ठाउँमा घुम्न मन पराउँछन् भन्ने सन्देश दिएको छ। सन् २०२४ मा पहिलेको वर्षको तुलनामा थोरै महिलाहरूले हिमाल आरोहण गरे l जतिले गरे तीमध्ये धेरैले सफलता पाए l यस मानेमा, नेपालमा अमेरिकी पर्यटकहरूको चासो निरन्तर बढीरहेको छ। सही रणनीति बनाउने हो भने यसले अर्को फड्को मार्छ l

दक्षिण कोरियाले आफ्ना पर्यटकहरूलाई फुल कहिले फुल्छ भनेर मात्र भन्दैन l बरु उसले त यो अवसरलाई देशव्यापी घटनामा परिणत गर्छ। पर्यटकहरू यति र उति आए भनेर देखाउँछ। राम्रा राम्रा फोटोहरु सेयर गर्छ। सामाजिक सञ्जाललाई प्रयोग गरेर यो ठाउँ त जानुपर्ने पो रहेछ भन्ने अनुभूति दिलाउँछ l (https://english.visitkorea.or.kr/svc/main/index.do)
  • नेपालले पनि जनवरीदेखि अप्रिलसम्म यस्तै कार्यहरू गर्न सक्छ। कम पर्यटक आउने समयलाई अफ सिजन नभनेर प्राइम हिमालय सिजन भन्नुस । यसमा खुला आकाश, पर्यटक हिँड्ने ट्रेलहरु र खुला हिमालका फोटाहरु राख्नुस l
  • राम्रा कुराहरु देखिने अवस्था सिर्जना गर्नुहोस् l एउटा वेबसाइट जसमा प्रष्टसँग देखिएको हिमालको फोटो, लालीगुराँस फुलेका फोटाहरू वा चाडपर्वसँग सम्बन्धित अङ्कहरू राख्नुहोस् l अमेरिकी पर्यटकहरूले यस्ता कुराहरू मन पराउँछन्। हरेक दिन नेपाल किन जानुपर्दो रहेछ भनेर हेर्ने र खोज्ने बाटो बनाउनुहोस् ।
  • सामाजिक सञ्जालमा पुस माघको महिनामा किन नेपाल आउने त भनेर प्रचारप्रसार गर्नुहोस्। एउटा ह्यासट्याग # नेपालक्लियरस्काईज्यानवरी बनाउनुहोस् । फोटो पत्रकारहरुसँग सहकार्य गर्नुहोस् l बादल बिनाको हिमालयको फोटोहरू देखाउनुहोस्। नेपाल त जाडो महिनामा पो जानुपर्ने रहेछ भन्ने जानकारी दिनुहोस् ।
  • नेपाली चाडपर्वहरुमा अमेरिकी पर्यटकहरुको यात्रालाई जोड्नुहोस् l दशैं बाहेक अन्य चाडपर्वमा पनि पर्यटकलाई जोड्नुहोस्। खेती गरिरहेका किसानहरूलाई अमेरिकी पर्यटकहरुको यात्रा जोड्नुहोस्। स्थानीय मन्दिरमा भएको घटनालाई जोड्नुहोस्। किनभने, पर्यटकहरुले रमाइलो कथाहरु खोज्ने गर्छन l यहाँ पाइने कथाहरु कुनै पनि गाइड बुकले दिन सक्दैनन् l
भियतनामको होइ आन मा पर्यटकहरू जाने, फोटो खिच्ने, र त्यहाँबाट भियतनामको राजधानी फर्कने गर्दैनन् l त्यहाँ पुग्ने पर्यटकहरुलाई त्यहाँका स्थानीयहरुले डाडु पन्यौ, पेन्टब्रस र अन्य सामग्रीहरु दिन्छन l यो भनेको ति पर्यटकहरुलाई स्थानीयहरूसँग घुलमेल गराएको हो l यसले गर्दा भियतनाम जाने पर्यटकहरु होइ आनमा मात्रै २ देखि ३ दिन बिताउने गर्छन l 
(https://www.hoianworldheritage.org.vn/).  
भक्तपुर र लुम्बिनीले पनि यो तरिका जान्नु पर्छ l अहिले, अमेरिकी पर्यटकहरु भक्तपुर पुग्छन, फोटो खिच्छन र फर्कन्छन l हामी सबैको लक्ष्य अमेरिकी पर्यटकहरु त्यहाँ केहि दिन नै बसुन भन्ने हो l
  • सकिन्छ भने एउटा सानो बुक्लेट बनाउनुहोस्। माटोको भाँडो बनाउने ठाउँमा गएर अनुभव साट्ने व्यवस्था गर्नुहोस् । पेन्ट गरेको ठाउँमा पनि त्यसै गर्नुहोस् । धागो उनी राखेको ठाउँमा पनि त्यस्तै गर्नुहोस् । एउटा स्थानीयको भान्छा घरमा नेपालीले कसरी खानेकुरो पकाऊदछन्, त्यो देखाउनुहोस् । यस्ता अनुभवहरु पर्यटकहरुलाई अत्ति नै मन पर्छ l यसरी, भक्तपुरलाई एउटा गेम चेन्जरको रुपमा अघि सार्नुहोस् l
  • रात्रीको समयमा के गर्ने भन्ने कुरोको रणनीति बनाउनुहोस् l पाँच बजेपछि ट्राफिक कम हुन्छ। दरबार स्क्वारमा मान्छेको हुल पनि थोरै हुन्छ। यस्तो अवस्थामा त्यहाँको कुनै मन्दिरमा बत्ती बाल्ने कार्यक्रम राख्नुहोस् l साझमा पदयात्रा राख्नुहोस् l कुनै अग्रज व्यक्तिहरूसँग बसेर भक्तपुरको पुराना कहानीहरु सुन्ने सुनाउने वातावरण सिर्जना गर्नुहोस्। यस्तो अनुभवलाई पर्यटकहरुले पैसा तिर्न हिच्किचाउँदैनन् l
  • लुम्बिनीलाई एउटा जोर्नलको रुपमा अघि सार्नुहोस्। खाली टिकट लिएर हेर्ने अवस्थाबाट अघि बढ्नुहोस्। मन्दिरमा गएर खाना खाने व्यवस्था मिलाउनुहोस्। शान्त अवस्थामा बस्ने बाटो सिर्जना गर्नुहोस् l यी र यस्ता कार्यहरुले एक दिनको यात्रालाई थप बसाईमा परिणत गर्न मद्धत गर्दछ l
थाईल्याण्डले जाडो महिनामा यो देशमा आउनुस् भनेर भन्दैन। उसले त च्याङमाईमा फूलहरू फुलिराखेको छ भनेर जानकारी दिन्छ। फूलहरू देखाउँछ। चाडपर्वहरु देखाउँछ। र भन्छ यो ठाउँ जानुस्। (https://www.tatnews.org).  
थाईल्याण्डले आफ्नो हरेक ठाउँको पहिचान बनाएको छ l नेपालले पनि त्यसै गर्न सक्छ l
  • हरेक सिजनको जानकारीहरूलाई एक ठाउँमा राख्नुहोस्। “भिजिट नेपाल” जस्तो स्लोगनबाट ठाउँ बिशेष स्लोगन तिर जानुहोस् l “जाडो महिनामा मुस्ताङ” भनेर राख्नुहोस्। “घोरेपानीमा फुलेका फूलहरू” भनेर राख्नुहोस्। यस्ता जानकारीहरु संगै फोटाहरु राख्नुहोस्। म्यापहरु राख्नु होस् l स्थानीय चाडपर्वहरु कहिले पर्छन् त्यो राख्नुहोस् l फूलहरू कहिले फुल्छन् त्यो पनि भन्नुहोस् l याद राखौ, पर्यटकहरुले देशविदेश खोज्ने होइनन् l उनीहरुले त अनुभवहरु खोज्ने हुन् l 
  • केही हुने बित्तिकै तुरुन्तै काम थाल्नुहोस्। लालीगुराँस फुल्न थाल्यो सामाजिक सञ्जालमा पोस्ट गर्नुहोस्। लाङटाङमा हिउँ पर्न थाल्यो त्यो पनि पोस्ट गरिहाल्नुहोस्। थाइल्याण्डको समाचारहरूले यस्ता अपडेटहरु तुरुन्तै दिन्छ । नेपालले पनि त्यो सिक्नुपर्छ l जब प्रकृतिले हामीलाई केही दिन्छ, हामीले त्यसलाई तुरुन्त प्रयोग गर्ने बाटो खोल्नुपर्छ l
  • स्थानीयलाई हरेक कुरोमा अगाडि सार्नुहोस् l स्थानीयको सट्टा काठमाडौँका महंगा नायकहरुलाई प्रचारमा कम ल्याउनुहोस् l बरु, मुस्ताङमा चिया पसल गरेको व्यक्तिलाई अगाडि सार्नुहोस् l घोरेपानीको गाइडलाई अगाडि सार्नुहोस् l उनीहरुलाई फोन दिएर फोटो वा भिडियो खिच्न लगाउनुहोस् l सामाजिक सञ्जालमा पोस्ट गर्न लगाउनुहोस् l उनीहरुका फोटाहरु वास्ताविक हुन्छन् l पर्यटकहरुले यहि वास्तविकता खोज्ने हुन् l 

यो पनि हेर्नुहोस्:  अमेरिकी पर्यटकहरुलाई गौरीशंकर संरक्षण क्षेत्र लाने बारे पनि सोच्ने कि
Click Here

DHN Admin 1 अप्रिल, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
माथिल्लो मुस्ताङ: $५०० अघि र पछिको पर्यटक सङ्ख्या र सम्भावित व्यवसायको अवस्था
Data Insight