सिस्नो पाउडर केवल स्वास्थ्यका लागि मात्र उपयोगी नभई आय आर्जनको दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त उत्पादनको रूपमा अघि बढेको छ। हिमाली तथा पहाडी क्षेत्रमा सजिलै पाइने सिस्नो (नेटल) लाई सुकाएर तयार गरिने यो पाउडर कम लगानीमा उत्पादन गर्न सकिने भएकाले स्थानीय स्तरमै व्यवसाय सुरु गर्ने राम्रो अवसर प्रदान गर्दछ।
बजारमा प्राकृतिक र पोषणयुक्त उत्पादनहरूको माग बढ्दै गएकाले सिस्नो पाउडरले किसान, युवा उद्यमी र स्थानीय समूहहरूका लागि स्थायी आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ। साथै, रगत सफा गर्नेदेखि मधुमेह नियन्त्रणसम्मका गुणले भरिपूर्ण यो हरियो पाउडरलाई अहिले ‘हरियो सुन’ (Green Gold) को संज्ञा दिइन थालिएको छ।

रु. १० को सिस्नोदेखि रु. २,००० को पाउडरसम्म: मूल्य श्रृंखलाले देखाएको सम्भावना
उपलब्ध विवरणले भन्छ कि सिस्नो व्यवसायबाट आर्थिक रूपान्तरण सम्भव छ l प्रारम्भिक चरणमा कच्चा सिस्नो पातको मूल्य निकै कम, रु. १० देखि रु. ८० प्रति केजीसम्म रहे पनि, प्रशोधनपछि यही उत्पादनको मूल्य रु. ५०० देखि रु. २,००० भन्दा माथिसम्म पुग्ने गरेको छ। यो ठूलो अन्तरले ‘मूल्य अभिवृद्धि (Value Addition)’ को शक्ति प्रस्टसँग देखाउँछ।
हामीले कहिल्यै सोचेका थिएनौं कि यो झारको यति ठूलो आर्थिक मूल्य हुन्छ। अझ भनौ, सिस्नो एउटा सम्भावनायुक्त बाली हो।
शान्ता लामा - काभ्रे साभारUNDP 7/10/2020
सन् २०१९ देखि २०२५ सम्मको यात्रामा, सिस्नो केवल घरेलु उपभोग वा जंगली वनस्पति मात्र रहेन - यो व्यवसायिक उत्पादनको रूपमा स्थापित भएको छ। विशेषगरी तेह्रथुम र काभ्रे जस्ता क्षेत्रमा प्रविधि (सोलार ड्रायर, ग्राइन्डर) र तालिमको प्रयोगले उत्पादनलाई उच्च मूल्यको बजारतर्फ लैजान सफल भएको छ।
अर्कोतर्फ, जुम्ला जस्तो सुदूर स्थानमा पनि सानो उद्यमबाटै उल्लेखनीय आम्दानी गर्न सक्ने सम्भावना देखिएको छ। यी उदाहरणहरूले एउटै निष्कर्ष दिन्छन्: सिस्नो व्यवसायको सफलता कच्चा पातमा होइन, प्रशोधन र बजारीकरणमा निर्भर छ।
विवरण | भीमफेदी (२०१९) | काभ्रे (२०२०) | दोलखा (२०२३) | तेह्रथुम (२०२५) | जुम्ला (२०२५) |
|---|---|---|---|---|---|
ताजा पात मूल्य (प्रति केजी) | - | - | रु. १०-१५ | रु ८० | आफै संकलन (नि:शुल्क) |
पाउडर मूल्य (प्रति केजी) | रु ७०० | रु. ५००–१,००० | रु. ५०० | रु. २,०००+ | रु. २५०–४०० |
उत्पादन अनुपात | - | - | ३० केजी → ५ केजी | ९ केजी → १ केजी | - |
उत्पादन क्षमता | - | सानो स्तर | १५–२० केजी/दिन | ५–६ केजी/दिन (हाल), ४०० केजी/दिन (लक्ष्य) | ~३०० केजी/वर्ष |
प्रमुख सहयोग | स्थानीय वडा | UNDP (सोलार ड्रायर) | स्थानीय सरकार | प्रदेश सरकार | कुनै सहयोग छैन |
लक्षित बजार | स्थानीय तथा विदेश निर्यात | स्थानीय डिपार्टमेन्ट स्टोर | काठमाडौँ | होटल, सुपरमार्केट, पर्यटक | सुर्खेत, नेपालगन्ज, काठमाडौं |
Source: enewspolar 13/09/2019; UNDP 7/10/2020; The Kathmandu Post 26/4/2023; The Rising Nepal 22/09/2025; Kantipur 14/08/2025; Kantipur 26/7/2025; Kantipur 27/9/2025
एक चोटी राम्रोसंग बुझ्ने कि ?
- मूल्यको फरक नै सबैभन्दा ठूलो पाठ हो। दोलखा र तेह्रथुमको तुलना गर्दा, कच्चा पातको मूल्य रु. १०–१५ बाट रु. ८० सम्म छ तर पाउडरको मूल्य रु. ५०० देखि रु. २,०००+ पुगेको छ।
हामीले ३० केजी हरियो सिस्नोबाट ५ केजी पाउडर बनाउँछौं र ५०० रुपैयाँ प्रति केजीमा बेच्छौं।
- शहर बजार मुख्य आम्दानीको श्रोत होl तेह्रथुममा उच्चतम मूल्य (रु. २,०००+) प्राप्त हुनु बजार पहुँच, प्याकेजिङ्ग र गुणस्तर सुधारसँग प्रत्यक्ष सम्बन्धित छ।
हामीले ९ केजी हरियो पातबाट १ केजी पाउडर बनाउँछौं र यसको मूल्य करिब रु. ३,५०० पर्न जान्छ l
- दुर्गम ठाउँमा पनि यसको बजार छ l कम मूल्य (रु. २५०–४००) मा बिक्री गर्दा पनि एक महिलाले वार्षिक रु. १,२०,००० सम्म आम्दानी गर्दै आउनुभएको छ। यसले सिस्नो व्यवसायको ‘प्रवेशमा कम बाधा (low entry barrier)’ लाई पुष्टि गर्छ।
गाउँमा सिस्नोलाई हेला गरिए पनि म सिस्नोको पाउडर बेचेर राम्रो आम्दानी गरिरहेकी छु। मैले यो वर्ष ३ क्विन्टल सिस्नो पाउडर बाहिर पठाएँ।
अझ महत्वपूर्ण कुरा, सिस्नो खेतीलाई ‘वैकल्पिक बाली’ (alternative crop) को रूपमा प्रयोग गर्न सकिन्छ - विशेषगरी ती क्षेत्रहरूमा जहाँ बाँदर र अन्य वन्यजन्तुले परम्परागत खेती नष्ट गरिरहेका छन्।
सिस्नोमा नाफा ‘प्रशोधन + स्थिति निर्धारण (processing + positioning)’ मा छ।
यदि उत्पादनलाई एकरूप (standardize) गरेर ‘नेपाली अर्ग्यानिक सुपरफूड’ को रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्न सकियो भने, सिस्नो पाउडरले निर्यात बजारमा ठूलो सम्भावना बोकेको छ। तेह्रथुमको चैते सामुदायिक वनले अन्तर्राष्ट्रिय खरिदकर्ताको चासो पाइसकेको छ, यद्यपि निर्यात सुरु भइसकेको छैन।
संसारभरि सिस्नो पाउडर: सूपदेखि श्याम्पू, चियादेखि क्याप्सुलसम्मको यात्रा
यहाँलाई लाग्न सक्छ - सिस्नो पाउडरको विश्वव्यापी प्रयोग कस्तो छ? उत्तर सुन्दा तपाईं छक्क पर्नुहुनेछ। आज विश्वका विभिन्न भागमा मानिसहरूले सिस्नोलाई जसरी प्रयोग गरिरहेका छन्, त्यसले यो एउटा साधारण वनस्पति मात्र नभई ‘बहुउपयोगी हर्बल सुपरफूड’ सावित भएको छ।
- खाना र पेय पदार्थमा: स्क्यान्डिनेभियाका रेस्टुरेन्टहरूमा सिस्नो सूप ‘हिउँदको विशेष परिकार’ हो। आयरल्यान्ड र इरानमा यो परम्परागत भोजनको अभिन्न अंग हो। सिस्नो चिया बेलायत र जर्मनीको हेल्थ स्टोरमा पाइन्छ। सिस्नो स्मूदी अमेरिकाको जुस बारमा लोकप्रिय बन्दै छ। इटालीमा सिस्नो पास्ता पनि पाइन्छ।
- पूरक आहार: संयुक्त राज्य अमेरिकामा मात्रै, सन् २०२३ मा सिस्नो युक्त पूरक (capsules, tablets) को बिक्री २८% ले बढ्यो। किन? किनभने अनुसन्धानले देखाएको छ - सिस्नोले जोर्नी दुखाइ (joint pain), मधुमेह (diabetes), र प्रोस्टेट स्वास्थ्य (prostate health) मा सहयोग गर्छ। धेरै खेलाडीले मांसपेशी दुखाइ कम गर्न सिस्नो पाउडर लिन थालेका छन्।
- कपाल र छाला हेरचाह: युरोप र जापानमा सिस्नो श्याम्पू र सिस्नो कन्डिसनर लोकप्रिय छ - यसले कपाल झर्ने समस्या कम गर्छ। सिस्नो क्रीम एक्जिमा (eczema) र छालाको सूजन कम गर्न प्रयोग गरिन्छ। फ्रान्सेली सौन्दर्य ब्रान्डहरूले आफ्नो ‘नेचुरल लाइन’ मा सिस्नो निकासी प्रयोग गर्छन्।
- कपडा र कागज उद्योग: सिस्नोको बोक्राबाट धागो बनाइन्छ। नेपालको ‘allo’ (जस्तै Himalayan Nettle) बाट हातले बुनेको कपडा अन्तर्राष्ट्रिय बजारमा ‘हिमाली जुट’ को रूपमा बिक्छ। जर्मनीमा सिस्नोको फाइबरबाट पर्यावरणमैत्री कपडा पनि बनाइन्छ।
बुझी राखौ: नेपालका लागि यो सुनौलो अवसर हो। हामीसँग विश्वकै उत्कृष्ट गुणस्तरको जैविक हिमाली सिस्नो छ। हामीले प्रशोधन प्रविधिमा सुधार गर्ने, अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्ने, र ‘नेपाली अर्ग्यानिक सिस्नो’ ब्रान्ड बनाउन सके भने — यो सानो उद्योगले हाम्रो पहाडी अर्थतन्त्रलाई नै रूपान्तरण गर्न सक्छ।
सिस्नो पाउडर व्यवसाय: कम लगानीमा उच्च आम्दानीको वास्तविक सम्भावना
सिस्नोको वास्तविक मूल्य यसको कच्चा अवस्थामा होइन, प्रशोधनपछि देखिन्छ। कच्चा सिस्नो पातको मूल्य सामान्यतया रु. १०–८० प्रति केजी भए पनि, यही सिस्नोलाई सुकाएर पाउडर बनाउँदा यसको मूल्य रु. ५०० देखि रु. २,००० भन्दा माथिसम्म पुग्छ। यसले स्पष्ट रूपमा “value addition” को महत्व देखाउँछ।
- जुम्लाकी कर्मकली रावलले एक्लै वर्षभरि ३०० केजी (३ क्विन्टल) सिस्नो पाउडर बेचेर रु. १,२०,००० आम्दानी गरिन् (Kantipur 14/08/2025).
- दोलखाको बोलबोरी सिस्नो फार्मले १५–२० केजी/दिन पाउडर उत्पादन गरेर वार्षिक लाखौंको कारोबार गरिरहेको छ (The Kathmandu Post 26/4/2023)l
- तेह्रथुमको चैते सामुदायिक वनले ५–६ केजी/दिन पाउडर उत्पादन गरी रु. २,००० प्रति केजीमा बिक्री गर्दै छ (Kantipur 27/9/2025).
यी उदाहरणहरूले देखाउँछन् - सही प्रशोधन र बजार पहुँच भएमा सिस्नो पाउडर व्यवसाय न्यून लगानीमा उच्च आम्दानी दिने उद्यम हो।
परिदृश्य | मासिक उत्पादन | बिक्री मूल्य (प्रति केजी) | मासिक नाफा | वार्षिक नाफा | लगानी उठ्ने समय |
|---|---|---|---|---|---|
सानो (गाउँ स्तर) | २० केजी | रु ४०० | ~रु ५,६०० | ~रु ६७,२०० | ८-१० महिना |
मध्यम (स्थानीय बजार) | ४० केजी | रु ८०० | ~रु २७,२०० | ~रु ३२६,४०० | ३-४ महिना |
उच्च (शहरी/होटल बजार) | ५० केजी | रु २,००० | ~रु ९४,००० | ~रु ११,२८,००० | १.५-२ महिना |
नोट: उत्पादन लागत रु. १२० प्रति केजी मानिएको छ (तल गणना विधि हेर्नुहोस्)।
नाफा गणनाको उदाहरण (मध्यम परिदृश्य)
प्रति केजी नाफा = बिक्री मूल्य – उत्पादन लागत
प्रति केजी नाफा = ८०० – १२० = रु. ६८०; मासिक कुल नाफा = ४० × ६८० = रु. २७,२००
वार्षिक कुल नाफा = २७,२०० × १२ = रु. ३,२६,४००
निष्कर्ष: सामान्य स्तरको उत्पादन र बिक्रीबाट पनि महिनामा करिब रु. २५,०००–३०,००० र वार्षिक रु. ३ लाखभन्दा बढी आम्दानी सम्भव छ।
उत्पादन लागत रु. १२० प्रति केजीको गणना विधि
लागत शीर्षक | परिमाण | रकम | स्रोत/आधार |
|---|---|---|---|
ताजा सिस्नो पात | ९ केजी (१ केजी पाउडरको लागि) | रु ९० | दोलखा: रु. १०–१५ प्रति केजी |
सुकाउने खर्च | ९ केजी सुकाउँदा | रु. १० | घाममा सुकाउँदा नि:शुल्क; मेसिनमा थोरै |
पिस्ने खर्च | १ केजी पाउडर | रु. १० | स्थानीय मिलमा पिसाइ खर्च |
प्याकेजिङ्ग | १ केजी पाउडर | रु. १० | प्लास्टिक प्याकेट वा एयरटाइट जार |
कुल उत्पादन लागत | १ केजी पाउडर | रु. १२० |
महत्वपूर्ण नोट: यो रु. १२० प्रति केजी न्यूनतम उत्पादन लागत (minimum production cost) हो, जो दोलखाको रु. १०–१५ प्रति केजी ताजा पातको मूल्यमा आधारित छ। यदि तपाईंले रु. ८० प्रति केजीमा पात किन्नुभयो भने लागत बढी हुन्छ। तर धेरैजसो सफल उद्यमीहरूले आफै पात टिप्छन् (जस्तै जुम्लाकी कर्मकली) वा स्थानीय महिलाबाट सस्तोमा संकलन गर्छन्, जसले गर्दा रु. १२० यथार्थपरक न्यून लागत हो।
ध्यानमा राखौ: सिस्नो पाउडरको आम्दानी प्रशोधनको स्तर र बजार पहुँचको दूरीमा निर्भर गर्दछ। जति टाढाको बजार, त्यति धेरै आम्दानी।
कच्चा पात नबेच्नुहोस्, पाउडर बेच्नुहोस् l
गाउँमा नबेची शहर पुर्याउनुहोस्l
प्याकेजिङ्ग र ब्रान्डिङ्ग गर्नुहोस्l
सिस्नो पाउडर व्यवसाय: जोखिम र न्यूनीकरण उपायहरु
सिस्नो पाउडर व्यवसायमा उच्च आम्दानीको सम्भावना भए पनि, कुनै पनि व्यवसायमा जोखिम हुन्छ। यी जोखिमहरूलाई समयमै चिनेर सही उपाय अपनाउन सकियो भने, नोक्सानीबाट बच्न सकिन्छ र व्यवसायलाई दिगो बनाउन सकिन्छ।
कच्चा सिस्नो पातको नियमित आपूर्ति नहुने जोखिम: सिस्नो मौसमी वनस्पति हो - हिउँदमा कम हुन्छ l जंगलमा सिस्नो संकलन गर्ने व्यक्तिहरूको संख्या अनिश्चित छ l प्राकृतिक प्रकोप (पहिरो, अतिवृष्टि, खडेरी) ले सिस्नो उत्पादन घटाउन सक्छl
- आफै खेती गर्नुस l
- बहु-स्रोत आपूर्ति श्रृंखला बनाउनुस l
- मौसमी भण्डारण व्यवस्था मिलाउनुस l
प्रशोधनको क्रममा गुणस्तरमा कमी आउने जोखिम: सिस्नो राम्रोसँग नसुकेमा (नमी बाँकी रह्यो भने) पाउडरमा ढुसी लाग्छ l धुलो-मैलो मिसिएमा पाउडरको गुणस्तर खस्किन्छ l अत्यधिक तापमानमा सुकाउँदा पोषण तत्व नष्ट हुन्छ l
- राम्रो सुकाउने प्रविधि अपनाउनुस l
- गुणस्तर जाँच गर्नुस l
- तालिम लिनुहोस् l
बिक्रीको बाटो (बजार) नभएको जोखिम: उत्पादन गरेको पाउडर बिक्दैन भने व्यवसाय नै धराशायी हुन्छ। धेरैजसो साना उद्यमीहरूले उत्पादन गरेपछि मात्र बजार खोज्छन् l मध्यस्थ व्यापारीले सस्तो मूल्यमा किनेर ठगी गर्छन् l सहरको बजारमा पुर्याउन ढुवानीको समस्या l
- उत्पादन गर्नुभन्दा पहिले बिक्रीको ग्यारेन्टी लिनुस l
- अनलाइन बिक्रीको बाटो अपनाउनुस l
- सहकारी वा समूह बनाएर बिक्री गर्नुस l
मूल्यमा अस्थिरता र बिचौलियाको बिगबिगी: बजारमा सिस्नो पाउडरको मूल्य एकै ठाउँमा स्थिर छैन। मध्यस्थ व्यापारीले गाउँमा सस्तोमा किनेर सहरमा महँगोमा बेच्छन् l उद्यमीहरूलाई वास्तविक बजार मूल्य थाहा हुँदैन l धेरै बिक्रेता भएपछि प्रतिस्पर्धाले मूल्य घट्न सक्छ l
- बजार मूल्यको जानकारी राख्नुस l
- बिचौलियालाई हटाएर प्रत्यक्ष बिक्री गर्नुस l
- मूल्य तोकेर बिक्री गर्नुस l
प्रशोधन मेसिनको अभाव र मर्मत समस्या: राम्रो गुणस्तरको पाउडर बनाउन मेसिन आवश्यक छ। ग्राइन्डर, ड्रायर, सिलिङ्ग मेसिन महँगो छन् (रु. १० लाखसम्म) l गाउँमा बिजुलीको समस्या, मेसिन बिग्रिए मर्मतको उचित व्यवस्था छैन l सानो उद्यमीले महँगो मेसिन किन्न सक्दैन l
- स्थानीय सरकार र संघसंस्थाको सहयोग लिनुस l
- सानो स्तरबाट सुरु गर्नुस l
- कमन सर्भिस सेन्टर प्रयोग गर्नुस l
तिनवटा गाठी बुझाईहरु:
प्राकृतिक उत्पादनको माग कहिल्यै घट्दैन l
दिगो खेतीको महत्व दिनप्रतिदिन बढ्दै छ l
नयाँ बजार (सौन्दर्य, पूरक, चिया) निरन्तर खुल्दै छन् l
अन्तिम निष्कर्ष: के यो व्यवसायमा भविष्य छ?
सिस्नो पाउडर व्यवसाय नेपालको लागि अत्यन्त सम्भावनायुक्त हरित उद्यम हो। कम लागतमा सुरु गर्न सकिने, उच्च मूल्य अभिवृद्धि, विश्वव्यापी बजारमा बढ्दो माग, र नेपालको भौगोलिक तथा जैविक फाइदाका कारण यो दीर्घकालीन रूपमा निकै नाफायुक्त देखिन्छ।
- यदि यहाँहरु किसान हुनुहुन्छ भने: १–२ रोपनी जग्गामा परीक्षण खेती सुरु गर्नुहोस् l स्थानीय जैविक समूह वा सहकारीमा आबद्ध भई जैविक प्रमाणीकरण (organic certification) को प्रक्रिया थाल्नुहोस् l नजिकको कृषि ज्ञान केन्द्र (Agriculture Knowledge Center) बाट स्थानीय अनुकूल सिस्नोको बीउ वा बिरुवा व्यवस्थापनको जानकारी लिनुहोस् l कुल उत्पादनको १००% ताजै नबेची, २०–३०% मात्र पाउडर बनाउनुहोस् - यसले मूल्य अभिवृद्धि गरी आम्दानी बढाउँछ l समूह (किसान समूह/सहकारी) मा मिलेर साझा सोलार ड्रायर खरिद गर्नुहोस् - यसले लागत कम हुन्छ र गुणस्तर राम्रो हुन्छ l
- यदि यहाँहरु व्यवसायी हुनुहुन्छ भने: सानो स्तरको प्रशोधन इकाई (सोलार ड्रायर, ग्राइन्डर, प्याकेजिङ्ग मेसिन) सञ्चालनको सम्भावना अन्वेषण गर्नुहोस् l सिस्नो पाउडर, सिस्नो चिया, सिस्नो क्याप्सुल, वा प्राकृतिक रङको रूपमा उत्पादन गर्नुहोस् l “नेपाली अर्ग्यानिक सिस्नो पाउडर – हिमाली हर्बल सुपरफूड” ब्रान्ड निर्माण गर्नुहोस् l बिक्रीका लागि Daraz, Facebook, Instagram, Amazon वा प्रत्यक्ष निर्यात च्यानल प्रयोग गर्नुहोस् l किसान समूहसँग दीर्घकालीन खरिद सम्झौता (long-term purchase agreement) गर्नुहोस् - यसले कच्चा पातको नियमित आपूर्ति सुनिश्चित हुन्छ l
- यदि यहाँहरु लगानीकर्ता हुनुहुन्छ भने: प्रशोधन उपकरण (सोलार ड्रायर, ग्राइन्डर, प्याकेजिङ्ग मेसिन) मा लगानीको अवसर हेर्नुहोस् l भण्डारण गोदाम (cold storage / dry storage) मा लगानी गर्नुहोस् - सुकेको सिस्नो पात लामो समय राख्न सकिन्छ l निर्यात पूर्वाधार (प्रमाणीकरण, ल्याब परीक्षण, ढुवानी व्यवस्थापन) मा लगानी गर्नुहोस् l साना किसान समूहलाई सोलार ड्रायर सहयोग गर्नुहोस् - यो दीर्घकालीन लगानीको उत्तम विकल्प हो l
सिस्नो पाउडरको भविष्य उज्ज्वल छ - तर यो भविष्य आफैं आउँदैन। यसलाई हामीले आफैं बनाउनुपर्छ। नेपालले अहिले नै गुणस्तर प्रमाणीकरण, आधुनिक प्रशोधन प्रविधि, र अन्तर्राष्ट्रिय बजार जडानमा लगानी गर्न सकेको खण्डमा - अर्को दशकमा सिस्नो पाउडर नेपालको प्रमुख हर्बल निर्यातको सूचीमा पर्ने नै छ।