Follow us
केराखेतीमा बहु-बाली प्रणाली: नेपालमा फाइदा, चुनौती र अतिरिक्त आम्दानीको सम्भावना
Data Insight

बहु-बाली प्रणाली: अवसर कि लुकेको चुनौती?

केरा खेती नेपाली किसानको लागि आम्दानीको एक बलियो स्रोत बन्दै गएको छ। तर धेरै किसानहरू अझै सोच्छन् — केरा खेती भनेको केराको फल मात्र बेच्नु हो।

वास्तविकता भिन्न छ।

यदि यहाँले केरालाई फल बेच्ने एकमात्र उत्पादनको रूपमा मात्र हेर्नुभयो भने, यहाँले लाखौं रुपैयाँको अवसर गुमाइरहनुभएको छ।

केराबाट फल बाहेक यसरी पनि थप आम्दानी गर्न सकिन्छ:

यी सबै अवधारणाहरू केरा उत्पादनको मूल्य विविधिकरणसँग सम्बन्धित छन् (MDPI, २०२४)।

👉 यी बाहेक केरा खेतीलाई अझ लाभदायक बनाउने अर्को उपाय हो — बहु-बाली प्रणाली।

बहु-बाली प्रणाली भनेको के हो?

बहु-बाली प्रणाली भनेको एउटै खेतमा एउटै समयमा वा एउटै उत्पादन चक्रभित्र दुई वा दुईभन्दा बढी बाली उत्पादन गर्ने प्रणाली हो (FAO, २०२१)।

उदाहरण:

  • केरा + मकै
  • केरा + तोरी
  • केरा + खुर्सानी
  • केरा + भटमास
  • केरा + सिमी
  • केरा + अदुवा
  • केरा + बेसार

👉 नेपालमा कृषि विज्ञहरूले पनि एउटै खेतमा बाली विविधीकरणले उत्पादन र आय दुवै बढाउन सक्ने बताउँछन् (वाग्ले र सुबेदी, २०२१)।  

खाली ठाउँमा थप बाली लगाउँदा उत्पादन बढ्छ, र यदि एउटा बालीमा कीरा वा रोगले क्षति पुर्याए पनि, किसानले अर्को बालीबाट फाइदा लिन सक्छन्।  

डा. विष्णुविलास अधिकारी - सुदुरपस्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय - साभार ०२/११/२०८३

नेपालमा बहुबालीको अवस्था: चितवनको अध्ययनले के देखाउँछ?

सन् २०२१ मा चितवनमा गरिएको एक अध्ययनले केरा बहुबालीको वास्तविक तस्वीर प्रस्तुत गरेको छ:

  • अधिकांश केरा किसान अन्तरबालीको बारेमा अनभिज्ञ छन्।
  • धेरैजसोले एकल बाली प्रणाली अपनाएका छन्।
  • केही किसानहरूले मात्र सहायक बाली प्रयोग गर्छन्।​

👉 यसले देखाउँछ कि बहुबालीको ठूलो सम्भावना भए पनि चितवनमा यो प्रयोग गर्ने दर अझै कम छ (वाग्ले र सुबेदी, २०२१)।

नेपालमा किन बढ्दै छ बहु-बाली अभ्यास?

नेपालका किसानहरूले केराखेतीभित्र मकै, तोरी र खुर्सानी लगाएर अतिरिक्त आम्दानी लिन थालेका छन् (दिनेश खबर ०२/११/२०८३)।

मुख्य कारणहरू:

  • खाली जमिनको उपयोग
  • अतिरिक्त आम्दानी
  • जोखिम व्यवस्थापन
  • बजार मूल्यको उतारचढावबाट सुरक्षा
  • माटो संरक्षण

👉 FAO (२०२१) अनुसार अन्तरबालीले भूमि उपयोग दक्षता र आय स्थिरता दुवै सुधार गर्छ।

बहुबाली केराखेती: कैलालीको उदाहरण

टिकापुर–५ का किसान शेरबहादुर साउदले एक बिघा केराखेतीभित्र मकै र तोरी लगाएर अतिरिक्त आम्दानी गरेका छन् (दिनेश खबर ०२/११/२०८३)।

उनको अनुभव अनुसार:

  • हरियो मकै बिक्रीबाट करिब रु. ४०,०००
  • दुई क्विन्टलभन्दा बढी तोरी उत्पादन
  • करिब ६० केजी दाना मकै

👉 कुल मिलाएर प्रति बिघा करिब रु. ६०,००० वा त्योभन्दा बढी अतिरिक्त आम्दानी गर्न सकिन्छ।

👉 टेकेन्द्र धामीले साढे ६ बिघा जमिनमा केरासँगै मकै लगाएर ठूलो मात्रामा अतिरिक्त उत्पादन लिएका छन्  (दिनेश खबर ०२/११/२०८३) l

यो अतिरिक्त आम्दानी कहाँबाट आउदछ त ?

यो आम्दानी:

  • केराको फलबाट होइन
  • केराको पातबाट होइन
  • केराको फाइबरबाट होइन
  • वा कुनै केराको मूल्य-अभिवृद्धिबाट होइन

👉 यो केवल केराको बीचको खाली स्थानमा लगाइएका सहायक बालीबाट आउने हो।

बंगलादेशको अनुभव: अन्तर्राष्ट्रिय सिकाई

नेपालमा मात्र होइन, छिमेकी मुलुक बंगलादेशमा पनि यो अभ्यास सफल भएको छ। दुई स्वतन्त्र अध्ययनले बहुबालीको प्रभावकारिता प्रमाणित गरेका छन्:

अध्ययन १: सम्म मैदानी क्षेत्र

विवरण
एकल केरा
केरा+काउली+आलु
परिवर्तन
उत्पादन (टन/हेक्टर)
६०.४९
१०१.८९
+६८.४%
BCR (लाभ-लागत अनुपात)
३.५९
३.७९
+५.६%
जमिन उपयोग सूचकांक
१०८%
१४०%
+३२%
उत्पादन दक्षता (kg/ha/day)
१५४
२००
+३०%

सोर्स: (खान र अन्य, २०२४)

अध्ययन २: पहाडी क्षेत्र

केरा र अर्को फल
BCR (लाभ-लागत अनुपात)
केरा+तिते करेला​
३.२२
केरा+रातो साग
२.७७
केरा+स्क्वास
२.६९
केरा+मुला
२.६६
एकल केरा
२.३५

स्रोत: (आलम र अन्य, २०२४)

👉 यी दुई अध्ययनले एउटै निष्कर्ष दिन्छन्: बहुबाली गर्दा एकल केराभन्दा बढी आर्थिक प्रतिफल प्राप्त हुन्छ।

विश्वव्यापी परिप्रेक्ष्य: CGIAR ProPAS

विश्वको सबैभन्दा ठूलो वैश्विक कृषि नवप्रवर्तन सञ्जाल CGIAR ले केरा अन्तरबालीका मुख्य फाइदाहरू यसरी व्याख्या गरेको छ:

  • झार नियन्त्रण सुधार
  • माटो कटान कम
  • जैविक मल उत्पादन
  • नाइट्रोजन सुधार (दलहन बालीबाट)
  • कीरा र रोगको जोखिम घटाउने

स्रोत: ProPAS (CGIAR)

ठूलो क्षेत्रमा विस्तार गर्दा सम्भावित अतिरिक्त आम्दानी

यदि यही अभ्यास ठूलो क्षेत्रफलमा विस्तार गर्ने हो भने सम्भावित अतिरिक्त आम्दानी यस प्रकार देखिन्छ:

केरा खेती
अनुमानित अतिरिक्त आम्दानी
१ बिघा
~ रु. ६०,०००
५ बिघा
~ रु. ३ लाख
१० बिघा
~ रु. ६ लाख
२० बिघा ​
~ रु. १२ लाख

⚠️ नोट: यो अनुमान हो। वास्तविक आम्दानी माटो, मौसम र व्यवस्थापनमा निर्भर हुन्छ।

बहुबालीका चुनौतीहरू

CGIAR ProPAS का अनुसार बहुबालीका निम्नलिखित चुनौतीहरु छन्:

  • पानी, घाम र पोषणको प्रतिस्पर्धा
  • जरा क्षति हुने जोखिम
  • रोग र कीरा फैलिन सक्ने सम्भावना
  • व्यवस्थापन जटिलता
  • मकै जस्ता बालीले प्रतिस्पर्धा बढाउने

👉  बंगलादेशको अध्ययनले देखाएको छ कि उत्पादन २०% सम्म घट्न सक्छ, तर कुल आम्दानी बढ्न सक्छ (आलम र अन्य, २०२४)

यी चुनौतीहरूलाई कसरी पार गर्ने?

सही रणनीति अपनाइयो भने, यी चुनौतीहरू आफैँ नयाँ व्यावसायिक अवसरहरू बन्न सक्छन्:

  • दलहन र छोटो अवधिका बाली छनोट गर्ने
  • ३–४ महिनापछि मात्र अन्तरबाली लगाउने
  • पर्याप्त दूरी (कम्तीमा ३ मिटर) राख्ने
  • मल्चिङ र ड्रिप सिँचाइ प्रयोग गर्ने
  • कीरा व्यवस्थापनमा जैविक विधि अपनाउने

अन्तिम निष्कर्ष

नेपाल, बंगलादेश र अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाउँछन् कि:

  • बहु-बालीले उत्पादन दक्षता बढाउँछ
  • जोखिम घटाउँछ
  • र अतिरिक्त आम्दानी सिर्जना गर्छ

नेपालमा किसानहरूले प्रति बिघा करिब रु. ६०,००० सम्म अतिरिक्त आम्दानी गर्न सक्ने उदाहरण देखिएको छ।

👉 तर यो प्रणाली सफल हुन ज्ञान, योजना र सही व्यवस्थापन अनिवार्य हुन्छ।

👉 अन्तमा, बहु-बाली कुनै जादू होइन — यो प्रमाण-आधारित कृषि रणनीति हो।

DHN Admin 31 मे, 2026
सेयर गर्नुहोस् 
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
केराबाट अर्थतन्त्रसम्म: केराको मूल्य शृंखलाले ताजा फलभन्दा बाहिर नेपालमा कसरी आम्दानी सिर्जना गर्छ
Data Insight