कृष्णसार संरक्षण क्षेत्र नेपालको शान्त र खुला घाँसे मैदानमध्ये एक हो । यो मुख्य रूपमा कृष्णसार हरिणको सुरक्षित बासस्थानका रूपमा चिनिन्छ । सुनौलो घाँसे फाँट र खुला आकाशले भरिएको यो क्षेत्र, नेपालका पहाडी ट्रेकभन्दा एकदमै फरक र शान्त अनुभव दिने खालको छ । यस अलावा, नेपालमा बाँकी रहेका घाँसे मैदानहरुमध्येको एक कृष्णसार संरक्षण क्षेत्रले जैविक विविधता र संरक्षणका दृष्टिले ठूलो महत्व बोकेको छ । यो क्षेत्र भ्रमण गर्नु भनेको दुर्लभ प्रकृतिको संरक्षणमा योगदान दिनु पनि हो l यसका साथै भीडभाडबाट टाढा शान्त प्रकृतिसँग समय बिताउने अवसर पनि हो ।

सम्भावनाले भरिएको कृष्णसार संरक्षण क्षेत्र
सन् २०२१ देखि २०२४ सम्मको पर्यटक सङ्ख्याले कृष्णसार संरक्षण क्षेत्रको पर्यटन लगभग पूर्ण रूपमा नेपाली पर्यटकमै निर्भर रहेको तथ्य देखाएको छ । कुल पर्यटकहरुमध्ये ९७% भन्दा बढी नेपालीहरु नै छन् । महामारीपछि सन् २०२२ मा पर्यटकको राम्रो वृद्धि देखिए पनि त्यसपछि संख्या फेरि घट्दै गएको छ l सन् २०२४ को आधीसम्म यहाँ आएका पर्यटकहरुको सङ्ख्याले उत्साहजनक प्रगति नहुने पो हो कि भन्ने संसय देखाएको छ । यस्तै, विदेशी पर्यटकहरुको संख्या निकै सानो छ, तर बढ्ने क्रम भने छ l सन् २०२१ मा १ जना मात्रै विदेशी पर्यटक थिए भने यो संख्या सन् २०२४ मा ४० पुगीसकेको छ । सार्क देशबाट आउने पर्यटक संख्या पनि सन् २०२३ मा १९ पुगेको छ तर, २०२४ मा भने केवल १ जना मात्र रहेको छ ।
वर्ष | नेपाली | सार्क | विदेशी | जम्मा |
| २०२१ | २,२३४ | ० | १ | २,२३५ |
| २०२२ | ८,७४२ | ४ | २२ | ८,७६८ |
| २०२३ | ४,९३७ | १९ | ४१ | ४,९९७ |
| २०२४* | १,७८३ | १ | ४० | १,८२४ |
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१); * छ महिनाको मात्र उपलब्ध भएको l
मुख्य कुरो:कृष्णसारको नाजुक घाँसे मैदानलाई जोगाउँदै निरन्तर बढ्दै गएको विदेशी पर्यटकहरुलाई ल्याउने योजना गर्नुहोस् । धेरै भिड नगराई, सीमित तर गुणस्तरीय विदेशी पर्यटक ल्याउने रणनीति बनाउनुहोस् । वन्यजन्तु फोटोग्राफर, पंक्षीअवलोकनकर्ता, र प्रकृति–पर्यटकजस्ता विशेष रुचि भएका विदेशीहरु लक्षित गर्नुहोस् l यस अलावा, काठमाडौं र पोखरामा रहेका विशेष टुर अपरेटरमार्फत प्रचारप्रसार गरेर विदेशी पर्यटकहरुलाई आकर्षित गर्नुहोस् । ठूलो संरचना होइन, कम असर पर्ने गतिविधिहरु: जस्तै नियन्त्रित जिप सफारी वा समुदायमा आधारित होमस्टे—मार्फत पर्यटकको खर्च र बसाइँ अवधि दुवै बढाउने उपाय खोज्नुहोस् l यो उपायमार्फत स्थानीयलाई पनि प्रत्यक्ष फाइदा दिनुहोस् ।
कृष्णसारमा पर्यटक आगमनको अवस्थालाई बुझ्दा
सन् २०२३ को सङ्ख्यालाई हेर्दा, नेपाली पर्यटकहरुको आगमन स्पष्ट रूपमा मौसमी छ l याने, कुनै महिना धेरै आउने, कुनै महिना एकदम कम आउने l माघदेखि वैशाखसम्म चहलपहल बढी हुन्छ । मनसुन सुरु भएपछि (असार–भदौ) पर्यटक संख्या धेरै घट्छ । त्यसपछि असोजतिर फेरि केही बढ्छ र वर्षको अन्त्यतिर फेरि सुस्त हुन्छ । यसले के देखाउँछ भने, कृष्णसार क्षेत्रमा घुमघामको रुचि मुख्यतया मौसमअनुसार चल्छ ।
मासिक नेपाली पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
मुख्य कुरा: धेरैजसो पर्यटकहरु फाल्गुण-चैत्र महिनामा आउने भएकाले व्यवसायको मुख्य ध्यान यही समयमा राख्नुहोस् । असोजदेखि चैतसम्म प्रचार, कार्यक्रम र कर्मचारी व्यवस्थापन बलियो बनाउनुहोस् । वर्षाको शान्त समयमा आम्दानी घट्ने भएकाले फरक प्याकेज सोच्नुहोस् । यस्ता प्याकेजमा चराचुरुङ्गी हेर्ने वा फोटो खिच्न चाहनेका लागि छुटसहितका विशेष अफर दिनुहोस् । यसले वर्षभरि केही न केही आम्दानी गर्न मद्दत पुर्याउदछ ।
कृष्णसारमा विदेशी पर्यटकको बढ्दो चासो
कृष्णसारमा सार्क देशबाट आउने पर्यटकहरु नगण्य छन् । तर अन्य विदेशी पर्यटकहरुको संख्या भने थोरै भए पनि बढ्दै गएको देखिन्छ । सन् २०२२ र २०२३ मा विदेशी पर्यटकहरू मुख्यतया फागुन–बैशाख र असोज–कार्तिकमा आएका थिए । सन् २०२४ को माघदेखि बैशाखसम्मको तथ्याङ्कले झन् ठूलो वृद्धि देखाएको छ । यी महिनामा पहिलेभन्दा धेरै विदेशी आएका छन् । यसले के देखाउँछ भने, राम्रो मौसम हुने समयमा यो आरक्षले विदेशी पर्यटकहरु विस्तारै तान्न थालेको छ ।
मासिक विदेशी पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
बजार विविधिकरण: विदेशी पर्यटकहरु यो ठाउँको लागि नयाँ र राम्रो सम्भावना बोकेको बजार हो l त्यसैले विदेशी पर्यटकहरुलाई लक्षित गरेर विशेष प्याकेजहरु ल्याउनुहोस् l वेबसाइट र सामाजिक सञ्जालमा जानकारीहरु राख्नुहोस्, सकेसम्म अंग्रेजीमा पनि राख्नुहोस् l अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीसँग साझेदारी गर्नुहोस्, र विदेशी पर्यटकहरुका लागि छुट्टै टुर प्याकेज बनाउनु होस् l सही महिनामा सही बजार समातेमा धेरै भीड नबढाईकन नै राम्रो आम्दानी लिन सकिन्छ ।
कृष्णसारको पर्यटक ढाँचा: दुईखाले सिजन
सन् २०२२ र २०२३ को सङ्ख्या हेर्दा कृष्णसारमा पर्यटक आउने दुई मुख्य समयहरु छन् । सबैभन्दा धेरै भीड हुने समय असोजदेखि पुससम्म हो । त्यसपछि माघदेखि वैशाख हो l असारदेखि असोजसम्म भने यहाँ धेरै शान्त हुन्छ । सन् २०२४ को माघदेखि असारसम्मको तथ्याङ्कले पनि यही ढाँचा दोहोर्याएको छ ।
मासिक कुल पर्यटक संख्या, २०२३
स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७७/७८-२०८०/८१)
यहाँको व्यवसायको लागि मुख्य निष्कर्ष: वर्षभरि आम्दानी हुने अवस्था बनाउन “मनसुन म्याजिक” जस्ता विशेष प्याकेज तयार गर्नुहोस् । वर्षाको समयमा फरक अनुभव दिने क्रियाकलापहरु सो प्याकेजमा राख्नुहोस् l यसमा हरियालीले दृश्यावलोकन, नदी–घाँसे मैदानको सौन्दर्य अवलोकन, भ्यागुता र किराफट्याङ्ग्राहरु हेर्न मिल्ने अवस्था, वा फोटोग्राफी टुरलाई समावेश गर्नुहोस् । यस्ता प्याकेजहरुलाई केही छुटसहित दिँदा कम पर्यटक आउने समयमा पनि पर्यटक ल्याउन सकिन्छ । यसो हुने हो भने, आम्दानी वर्षभरि फैलिन्छ र मुख्य सिजनमा पर्ने भीडको दबाब पनि घट्छ ।
कृष्णसारका लागि दिगो भविष्य निर्माण: तथ्याङ्कमा आधारित रणनीति
कृष्णसार संरक्षण क्षेत्रको पर्यटक सङ्ख्याले केहि स्पस्ट बाटाहरु देखाएका छन् l यहाँ नियमित आउने पर्यटकहरु अधिकांश नेपालीहरु हुन् l तर विदेशी पर्यटकहरुको चासो पनि बिस्तारै बढ्दै छ । तल प्रस्तुत रणनीतिहरुले यो क्षेत्रमा अबको दिनमा के गर्दा हुन्छ, के गर्दा सोच्नु पर्छ भन्ने जानकारी प्रस्तुत गर्दछ ।
घाँसे मैदान विशेष अनुभवसहितको "मनसुन मिस्ट्री": यो प्याकेजमार्फत असार–भदौको शान्त समयमा पर्यटक ल्याउने उपाय सोच्नुहोस् । हरियालीले ढाकिएको घाँसे मैदान, दुर्लभ जंगली फूल, बादलले ढाकिएका दृश्य, अनौठा किराफट्याङ्ग्रा, र कुहिरोमा गरिने विशेष फोटोग्राफीलाई पनि यो प्याकेजमा जोड्नुहोस् । यसले नेपाली पर्यटकहरुबाट वर्षभरि आम्दानी ल्याउन मद्दत गर्छ ।
"कृष्णसार र घाँसे मैदान" विशेष सफारी प्याकेज: यो क्षेत्रको पहिचानलाई अझ बलियो बनाउनुहोस् । वर्षभरि कृष्णसार देख्न सकिने पाटो खोल्नुहोस् l अनुभवी गाइडसहित यो दुर्लभ घाँसे मैदानको महत्व बुझाउनुहोस् । यसले नेपाली र विदेशी दुवै खाले पर्यटकहरुलाई आकर्षित गर्छ ।
"फोटोग्राफी सप्ताह": चैत्रको अन्त्य–बैशाखको सुरुवात तथा कार्तिक–मंसिरमा वन्यजन्तु फोटोग्राफरलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्नुहोस्। यस अवधिमा खुला मैदानमा पर्ने सुनौलो घाम, अग्लो घाँस नहुँदा वन्यजन्तु बथान सहजै देखिने अनुकूल अवस्था, र सुरक्षित तथा रणनीतिक स्थानमा निर्माण गरिएका फोटोग्राफी हाइड वा गाइडेड वाकिङ टुरलाई मुख्य आकर्षणका रूपमा प्रचार गर्नुहोस्।
भरपर्दो पहुँच र बन्डल साझेदारी: पहुँचको समस्या समाधान गर्नुहोस् । नेपालगञ्ज वा कोहलपुरजस्ता नजिकका सहरबाट सजिलै बुक गर्न मिल्ने “कृष्णसार डे–ट्रिप” बन्डल बनाउनुहोस् l यसमा यातायात, प्रवेश शुल्क, गाइड, र खानाको व्यवस्था पनि जोड्नुहोस् । नेपाली पर्यटकहरुका लागि यो प्याकेज एकदम सहज हुन्छ l
शनिवार र चाडपर्वलक्षित प्याकेज: नेपाली पर्यटकहरु अक्सर दशैं, तिहारजस्ता चाडपर्वको बेलामा यो क्षेत्र आउने गर्छन l यसर्थ, तिनलाई लक्षित गरेर विशेष प्याकेज ल्याउनुहोस् l परिवार र समूहलाई लक्षित गर्दै कृष्णसार सफारी, थारु संस्कृति, र गाउँ होमस्टे अनुभव जोड्नुहोस् ।
ठूलो नयाँ रिसोर्ट: कृष्णसारको मुख्य आकर्षण भनेकै खुला, शान्त घाँसे मैदान हो । ठूलो र साधारण रिसोर्ट आर्थिक रूपमा जोखिमपूर्ण हुन्छ र प्राकृतिक शान्त वातावरणसँग मेल पनि खाँदैन । लामो मनसुन सिजनमा पर्यटक कम आउदा खर्च धान्न गाह्रो पनि हुन सक्छ । यसै पनि, यहाँ आउने अधिकांश पर्यटकहरु लक्जरी बसाइभन्दा खुला प्रकृतिसँग जोडिन चाहन्छन् ।
ग्ल्याम्पिङ मात्रमा आधारित लक्जरी क्याम्प: सानो र वातावरणमैत्री क्याम्पले विशेष फोटोग्राफरलाई सेवा दिन सक्छ । तर ठूलो वा अत्यन्तै विशेष ग्ल्याम्पिङ क्याम्पले निकै सानो र अनियमित विदेशी बजार मात्र लक्षित गर्छ । यसर्थ, यति सानो र मौसमी बजारमा यो कार्य जोखिमपूर्ण हुन्छ ।
अलगै महँगो रेस्टुरेन्ट: निश्चित अवधिमा मात्र आउने पर्यटकहरुलाई लक्षित गरेर अलग्गै महँगो रेस्टुरेन्ट खोल्नुअघि सोच्नु पर्छ l अफ–सिजनमा धेरै समय ग्राहक नआउँदा नाफा कमाउन मुस्किल पर्छ ।
ठूलो फेन्सी उपहार पसल: यहाँ आउने पर्यटकहरु कृष्णसार र घाँसे मैदानको अनुभवका लागि आउने हुन् l यसर्थ, ठुला ठुला सामानहरुको सट्टा उनीहरुलाई काम लाग्ने वस्तुहरु – जस्तै, गुणस्तरीय कृष्णसार फोटो, स्थानीय हस्तकला, वा बर्डिङ गाइडजस्ता सामग्रीहरुमा सम्भावना खोज्नुहोस् ।
नेपाली पर्यटकहरुलाई बेवास्ता गर्ने व्यवसाय: यो सबैभन्दा ठूलो गल्ती हो । यहाँ आउने लगभग सबै पर्यटकहरु नेपाली नै हुन् । सस्तो, सजिलो र सांस्कृतिक सम्बन्धलाई ध्यान नदिने व्यवसायहरु दीर्घकालीन रूपमा टिक्न सक्दैनन् ।
मुख्य घाँसे मैदानमा पूर्वाधार निर्माण: घाँसे मैदान क्षेत्रमा स्थायी भवन, सडक, वा चौडा बाटो बनाउनुअघि पटक पटक सोच्नु पर्छ । यसले संकटापन्न कृष्णसार र अन्य स्थानीय प्रजातिलाई सिधै असर पार्दछ ।
अनियमित विदेशी पर्यटकहरुमा मात्र भर पर्नु: महँगो र व्यापक अन्तर्राष्ट्रिय प्रचारलाई मुख्य रणनीति नबनाउनुहोस् । विदेशी चासो बढ्दै गएको भए पनि संख्या अझै कम र मौसमी छ । यहाँ ठूलो बजेट खर्च गर्दा प्रतिफल कम हुन सक्छ । यसर्थ, मुख्य ध्यान सधैं भरपर्दो घरेलु बजारमै दिनुपर्छ ।
जटिल र आयातित वस्तुमा भर पर्ने व्यवसाय: बाहिरबाट सामान मगाउने, बाहिरी व्यवस्थापक ल्याउने, वा जटिल आपूर्ति प्रणालीमा आधारित योजना नबनाउनुहोस् । यसले खर्च बढाउँछ र सञ्चालनलाई पनि झन्झटिलो बनाउँछ । साँचो दीगो विकास भनेको नजिकका थारू र स्थानीय समुदायलाई नै समेटेर, उनीहरूको ज्ञान र क्षमतामा लगानी गर्नु हो ।
सन् २०२६ को लागि प्रक्षेपित पर्यटक संख्या
विगत ४ वर्षको पर्यटक वृद्धिदर र मौसमी तालिकालाई आधार मानेर हेर्दा, सन् २०२६ मा निम्नानुसार पर्यटक सङ्ख्याको आकलन गर्न सकिन्छ l
अवस्था | प्रक्षेपित पर्यटक |
| अहिलेको अवस्थामा | ~ १०,२०० |
| धेरै आए भने | ~ १२,००० |
| कम आए भने |
~ ८,२०० |
नोट: ८०% को बिश्वास अन्तराल
महत्वपूर्ण जानकारी: यी संख्यालाई आफ्नो योजना बनाउने आधारको रुपमा प्रयोग गर्नुहोस्, तर यो संख्यामा पूर्ण रुपमा भर नपर्नुहोस l विविधि अर्थ-, भूगोल- नीति र स्थानीय घटनाक्रमले यो संख्या तलमाथि पर्न सक्छ l
कृष्णसारमा सफलताको सूत्र
घाँसे मैदानलाई पहिलो प्राथमिकता दिनुहोस्: कृष्णसार र यसको घाँसे मैदान जोगाउनु नै सबैभन्दा ठूलो कुरा हो । पर्यटकलाई सीमित र व्यवस्थित रूपमा घुमाउनुहोस् । प्रकृतिलाई असर नपर्ने गरी अवलोकन गर्ने बानी सिकाउनुहोस् ।
दुई मुख्य सिजनलाई आधार मानेर योजना बनाउनुहोस्: यहाँ दुईवटा मुख्य समय छन्—असोज–पुस मुख्य सिजन हो, माघ–वैशाख दोस्रो सिजन । यी समयमा कृष्णसार हेर्ने र यहाँ आएर फोटो खिच्नेहरुका लागि यादगार अनुभव दिन सक्ने बाटो खोज्नुहोस् । पर्यटक कम हुने समयमा मर्मत, गाइड तालिम, र हरियालीले बदलिएको घाँसे मैदान देखाउन “ग्रीन सिजन” अनुभवको विकास गर्नुहोस् ।
रिसोर्ट होइन, कृष्णसारकै विज्ञ बन्नुहोस्: कृष्णसार क्षेत्रको मूल पहिचान लक्जरी पूर्वाधार होइन, यहाँको विशिष्ट हरिण (कृष्णसार) हो। त्यसैले गाइडहरूलाई रिसोर्ट–केन्द्रित सेवाभन्दा घाँसे मैदानको पारिस्थितिकी, कृष्णसारको बानी–व्यवहार, संरक्षण महत्त्व र चरन प्रणालीसम्बन्धी विषयमा विशेषज्ञका रूपमा विकास गर्नुहोस्। यहाँ आउने पर्यटकलाई साधारण बसाइभन्दा फरक, प्रकृति–केन्द्रित हिँडाइ, घाँसे मैदानका चराको अवलोकन टुर, र कृष्णसार–केन्द्रित व्याख्यात्मक अनुभव प्रदान गर्नुहोस्।
समुदायसँग मिलेर अघि बढ्नुहोस्: पर्यटनको फाइदा स्थानीय थारु र आदिवासी समुदायसम्म पुग्नुपर्छ । यसैले, होटेल भन्दा होमस्टेलाई प्रवर्द्धन गर्नुहोस् । खाना र सेवा स्थानीयबाटै लिनुहोस् । सामुदायिक पूर्वाधारमा सहयोग गर्नुहोस् ।
यात्रा सजिलो बनाउनुहोस्: धेरैजसो पर्यटक नजिकका सहरबाट आउँछन् । नेपालगञ्ज वा कोहलपुरबाट यातायात, पार्क प्रवेश, तालिमप्राप्त गाइड र स्थानीय खाना समेटिएको सजिलो प्याकेज तयार गर्नुहोस् । झन्झट घटाउँदा अनुभव राम्रो हुन्छ ।
नेपाली पर्यटकलाई महत्व दिनुहोस्: यहाँ आउने ९७% भन्दा बढी पर्यटकहरु नेपाली नै हुन् । दशैं–तिहारजस्ता चाडपर्व र शनिवारका लागि परिवार र समूह लक्षित प्याकेज बनाउनुहोस् ।