बेलायत नेपालको लागि सबैभन्दा विश्वासिलो र महत्वपूर्ण पर्यटन बजार हो । बेलायती पर्यटकहरु पटक पटक नेपाल आउने गर्दछन् l ट्रेकिङ गर्छन् l यहाँको संस्कृतिलाई सम्मान गर्छन्, र खर्च पनि गर्छन् । यसर्थ, बेलायती पर्यटकहरुको यात्राको अवस्था के छ, उनीहरु कहिले नेपाल आउने गर्छन भन्ने कुरो बुझ्नु अत्यावश्यक छ l अझ पर्यटनसंग सम्बन्धित जो कोहिको लागि यो महत्वपूर्ण विषय हो ।

महिना फेरिए: माघ-बैशाखमा बढ्दो बेलायती पर्यटक सङ्ख्या
पछिल्ला तीन वर्षको सङ्ख्या हेर्दा, बेलायती पर्यटकहरु माघदेखि वैशाखमा अत्यधिक आउने गरेको देखिन्छ l असोज-पौषमा पर्यटक संख्या अलिक कम हुदै गएको हो कि भन्ने आभास हुन थालेको छ l यो आभास सन् २०२४ र २०२५ को सङ्ख्याले देखाएको हो l यो संगै बेलायती पर्यटकहरूले अब नेपाल भ्रमण गर्न माघ-फाल्गुणलाई पो रोज्न थालेका हुन् कि भन्ने आभास दिएको छ ।
वर्ष | माघ-बैशाख | जेठ-भाद्र | असोज-पौष | जम्मा |
| २०२२ | १३,४७५ | ११,२४० | २०,३७९ | ४५,०९४ |
| २०२३ | १९,३४५ | ११,२५९ | २२,२६१ | ५२,८६५ |
| २०२४ | २०,४७९ | ११,३४१ | २५,७३४ | ५७,५५४ |
| २०२५ | २१,३१११ | १२,२५१ | २५,१२२ | ५८,६८४ |
| २०२६* | ३,९७३ |
स्रोत: नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)
चुरो कुरो: भीडभाड हुने कार्तिक–मंसिरमा नै सबै बजेट र शक्ति खर्च नगर्नुहोस् l सन् २०२५ र २०२६ को सङ्ख्यालाई हेर्ने हो भने, बेलायती पर्यटकहरुको आगमन अहिले माघ–वैशाखमा धेरै देखिन थालेको छ l यसर्थ, यता तिर ध्यान दिनुहोस् l विशेष प्याकेज ल्याउनुहोस् । यो समयलाई नेपाल घुम्न आउने उत्कृष्ट समय भनेर प्रचार गर्नुहोस् । कम भीड, राम्रो मौसम, र शान्त अनुभवले पर्यटकहरुलाई खुसी बनाउँछ। यसले व्यवसायलाई पनि शुरुदेखि नै स्थिर रूपमा अघि बढ्न मद्दत गर्दछ ।
माघ-असार पर्यटक विश्लेषण: फाल्गुण देखि बैशाख अति महत्वपुर्ण
बेलायती पर्यटकहरु अंग्रेजी नया बर्ष वा नेपाली माघ महिनामा खासै यहाँ आएको देखिन्न l तर, अर्को महिना याने जेठ देखि भने सङ्ख्या बढ्दै गएको छ l यस्तै, नेपाली नया बर्षको समयमा भने यहाँ धेरै बेलायती पर्यटकहरु आउने गर्छन l सन् २०२५ को बैशाखमा ६७३८ बेलायती पर्यटकहरु यहाँ आएका थिए, जुन सो बर्षको दोस्रो ठुलो संख्या रह्यो l
महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
| माघ | १,८२४ | ३,४५८ | ३,२७६ | ३,५२१ | ३,९७३ |
| फाल्गुण | २,२१८ | ४,३४५ | ४,५७१ | ५,०५७ | |
| चैत्र | ४,०३३ | ६,१३३ | ७,२४१ | ५,९९५ | |
| बैशाख | ५,४०० | ५,४०९ | ५,३९१ | ६,७३८ | |
| जेठ | २,४६१ | २,९२७ | २,८०२ | ३,४७३ | |
| असार | २,००० | १,९९१ | १,९६९ | २,२८४ |
यी तीन कार्यहरु मार्फत आफ्नो रणनीति अघि सार्नुहोस्:
फाल्गुण र बैशाखलाई मुख्य सिजन बनाउनुहोस् । यी दुई महिनालाई अब नयाँ, व्यस्त सिजन मानेर विशेष प्याकेज तयार गर्नुहोस् ।
चैत्र महिनाका लागि “रिकभरी अफर” ल्याउनुहोस् । पर्यटक घटेको यो महिनामा सांस्कृतिक कार्यक्रम, गाउँ भ्रमण, वा थप अनुभव जस्ता कुरा जोडेर आकर्षक प्याकेज बनाउनुहोस् र प्रचार गर्नुहोस् ।
जेठका लागि “लेट स्प्रिङ ट्रेक” परीक्षण गर्नुहोस् । यहाँ वास्तविक वृद्धि देखिएको छ । यो वास्तविक वृद्धिलाई अस्थायी होइन, स्थायी ट्रेन्ड बनाउन विविध परीक्षण गर्नुहोस् ।
श्रावण-पौष पर्यटक विश्लेषण: असोज-कार्तिक मुख्य महिना
श्रावण देखि पौष सम्मको पर्यटक विश्लेषणले एक स्पष्ट संकेत दिएको छ । असोज–कार्तिक नै यहाँहरुको लागि भरपर्दो आधार हो । यस अवधिमा बेलायतीहरु अत्यधिक नेपाल आउने गर्दछन् l यसको विपरित श्रावण-भाद्रमा भने बेलायतीहरुको सङ्ख्या कम हुन्छ l यस्तै अवस्था पौष महिनामा पनि छ l सन् २०२४ को तुलनामा सन् २०२५ मा करिब ३६% बेलायतीहरु पौष महिनामा कम आएका थिए । यसैले यहाँहरुले असोज–कार्तिकलाई मुख्य महिना मानेर, अरु महिनामा बेलायतीहरुलाई नेपाल ल्याउने र सोहि अनुसार व्यापार व्यवसाय बढाउने सोच राख्नुपर्छ ।
| महिना | २०२२ | २०२३ | २०२४ | २०२५ | २०२६* |
| श्रावण | ३,९५३ | ३,६३० | ३,८०६ | ३,५४७ | |
| भाद्र | २,८२६ | २,७११ | २,७६४ | २,९४७ | |
| असोज | ३,९२७ | ३,६४० | ४,४९३ | ४,९८१ | |
| कार्तिक | ७,४१७ | ८,२१८ | ८,०१९ | ८,७१८ | |
| मंगसिर | ५,१६५ | ६,१३६ | ६,६११ | ७,१८९ | |
| पौष | ३,८७० | ४,२६७ | ६,६११ | ४,२३४ |
स्रोत: नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)
व्यवहारिक सुझाब: भै राखेको कुरो चल्न दिनुहोस्, जे चल्दैन त्यसमा नअल्झिनुहोस् l
असोज–कार्तिक-मंगसिरमा पूरा ध्यान दिनुहोस् । यही तपाईंको मुख्य कमाइ हुने सिजन हो। सबै तयारी, प्रचार र सेवा यही समयमा केन्द्रित गर्नुहोस् ।
पौष महिनामा धेरै भर नपर्नुहोस् । यसको सट्टा माघ–वैशाखमा प्रचारप्रसार गर्न, लगानी गर्न अत्ति उपयोगी हुन्छ ।
असार–श्रावण-भाद्रको शान्त समय सदुपयोग गर्नुहोस् । यो समय व्यवसायको मर्मत, कर्मचारी तालिम, र आउँदो व्यस्त सिजनका लागि नयाँ प्याकेज तयार गर्न प्रयोग गर्नुहोस्।
उही भक्तपुरे भीड: नेपालले गुमाउदै गएको अवसर
पछिल्ला तीन वर्षमा (२०२१/२२ देखि २०२४/२५ सम्म) भक्तपुर आउने बेलायती पर्यटकहरुको संख्या जम्मा ७% मात्र बढेको छ l सङ्ख्यामा भन्नु पर्दा सन् २०२१/२२ मा भक्तपुर आउने बेलायतीहरुको सङ्ख्या ६,०६६ थियो, जुन २०२४/२५ मा ६,५०२ पुगेको छ । यो भनेको खासै वृद्धि भएको चाही होइन ।
यो सङ्ख्याले भन्छ कि भक्तपुर अहिले अड्किएको छ। धेरै पर्यटकहरू बिहान आएर, फोटो खिचेर, साँझ फर्किन्छन् । उनीहरू रात बस्दैनन्, स्थानीय पसलमा धेरै खर्च गर्दैनन्, र भक्तपुरको गहिरो संस्कृति, खाना र जीवनशैली अनुभव नै गर्दैनन् । जब कि नेपालका अन्य गन्तव्यहरू विस्तारै अगाडि बढ्दै गर्दा, भक्तपुर भने “छिटो हेरेर जाने ठाउँ” मै सीमित भइरहेको छ l यो भनेको भक्तपुर पूर्ण गन्तव्यको रुपमा अझै विकसित भएको छैन ।
भक्तपुर दरबार घुम्न आउने बेलायती पर्यटक सङ्ख्या
स्रोत: नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)
साँचो कुरो: भक्तपुर डे–ट्रिपर कुर्दै बस्ने हो भने अघि बढ्न सक्दैन । भक्तपुर तब अघि बढ्छ, जब पर्यटकहरु यहाँ घुम्न, केही दिन बस्न र बढी खर्च गर्न लालायित हुन्छन l यसर्थ, यहाँको अवसर भनेको, यहाँ आउने पर्यटक सङ्ख्या बढोस् भन्नु भन्दा पनि आएका मान्छेलाई छिट्टै फर्किन नदिने वातावरण बनाउनेमा हो ।
धेरै आरोही, तर सफल हुनेको सङ्ख्या कम
सन् २०२४ को पर्वतारोहण तथ्याङ्कले चिन्ताजनक अवस्था देखाएको छ । कुल अनुमति लिनेको संख्या १७५ पुगेको छ, तर समग्र सफलता दर घटेको छ। सङ्ख्यामा भन्नु पर्दा, सन् २०२३ मा १२६ पुरुष आरोहीमध्ये ४७ जना र सन् २०२४ मा १४९ मध्ये ५३ जना मात्र चुचुरो पुगेका थिए l यो भनेको करिब ३२-४०% सफलता दर हो । तर महिला आरोहीको अवस्था पुरुष भन्दा कमजोर छ । सन् २०२३ मा २९ मध्ये १२ जना (४१%) र सन् २०२४ मा २६ मध्ये केवल ६ जना (२३%) मात्र चुचुरो पुग्न सकेका थिए । यसले देखाउँछ कि आरोहण गर्ने बेलायती पर्यटक संख्या बढे पनि, महिलाहरुको सफलता दर घटेको छ।
पर्वतारोहणका लागि आएका बेलायती पर्यटकहरुको सङ्ख्या
स्रोत: नेपाल पर्यटन बोर्ड (२०२२-२०२६)
साँचो कुरो: सुरक्षामा ध्यान दिनुहोस्, विशेष र आवस्यक सहयोग गर्नुहोस् l प्रमाणित नतिजाका आधारमा थप लगानी गर्नुहोस् l महिला सफल हुनु भनेको ग्राहक सन्तुस्ट हुनु मात्र होइन l यो त जीवनभरका लागि हामीहरुले दुत पाउनु सरह हो ।
सन् २०२६ का लागि प्रक्षेपित बेलायती पर्यटक सङ्ख्या
सन् २०२६ को January (माघ) महिनामा बेलायतबाट आएका पर्यटक संख्या १२.८% ले बढ्नु भनेको उनीहरुको यात्रा तालिका परिवर्तन हुदै गएको शंकेत दिएको छ l अहिले सम्मको संख्या हेर्दा, सन् २०२६ मा बेलायती पर्यटकहरुको सङ्ख्या निम्नानुसार हुन् सक्ने प्रक्षेपण छ ।
अवस्था | प्रक्षेपित पर्यटक |
| अहिलेकै अवस्था भयो भने, | ~ ७३,५०० |
| बढी आए भने, | ~ ७८,५०० |
| कम आए भने, | ~ ६०,००० |
नोट: ८०% बिश्वास अन्तरालमा l
नेपाली पर्यटनमा सुधार: सिक्नु पर्ने केहि पाठहरु
बेलायतका पर्यटकहरुको यात्रा तालिका विस्तारै फेरिदै छ l भक्तपुरमा खासै उल्लेख्य वृद्धि भएको छैन l पर्वतारोहणमा महिलाको सफलता दर घट्दै गएको छ । यी समस्या मात्र होइनन् । यी त नेपालले आफ्नो पर्यटन प्रणाली अझै २० वर्षअघिको पुरानै ढर्रामा अघि बढाईरहेको छ यसर्थ, नेपालले रणनीति बदल्नुपर्छ l तल केहि सम्भावित रणनीतिहरु राखिएको छ ।
जापानबाट सिकाइ: पर्यटक बढी आउने समयलाई "प्रिमियम" बनाउने कला
जापानमा सुस्त सिजन भन्ने नै हुँदैन। त्यहाँ त फरक–फरक प्रिमियम सिजन हुन्छन्। Japan National Tourism Organization (JNTO) ले हरेक प्राकृतिक घटनाक्रमलाई विश्वव्यापी आकर्षण बनाउँछ । नेपालले पनि यही सोच अपनाउन सक्छ ।
जाडो मौसम लाई “प्राइम हिमालय भिस्टा सिजन” भनेर ब्रान्ड गर्नुहोस् l माघ-चैत्रको महिनालाई दोस्रो विकल्प होइन, बरु नेपाल घुम्न आउने सबैभन्दा राम्रो समय भनेर प्रचार गर्नुहोस्। यो बेला आकाश सफा हुन्छ, हिमाल राम्रो देखिन्छ, र पदयात्रा लगायत अन्य पर्यटकीय कार्यमा भीड पनि कम हुन्छ ।
चैत्र–वैशाखका लागि "लालिगुराँस र चाडपर्व ट्रेल" तयार गर्नुहोस् l चैत्र–वैशाखमा फुल्ने लालिगुराँसका मुख्य ठाउँ र स्थानीय चाडपर्वलाई नक्सामा देखाउनुहोस् । जापानको सकुरा (चेरी ब्लोसम) म्यापजस्तै गरि सजिलो र आकर्षक म्याप बनाउनुहोस् ।
"शोल्डर सिजन प्रिमियम ग्यारेन्टी" सुरु गर्नुहोस् l फागुन–चैत्र जस्तो कम पर्यटक आउने समयमा निःशुल्क सांस्कृतिक कार्यशाला गर्नुहोस् l यो समयमा उडानबाट हिमाल प्रस्ट देखिन्छ भनेर प्रचारप्रसार गर्नुहोस् ।
क्रोएसियाबाट सिकाइ: ऐतिहासिक स्थललाई ‘स्टप’ होइन, ‘गन्तव्य’ बनाउने कला
अत्यधिक भीड व्यवस्थापन र पर्यटकबाट हुने आम्दानी बढाउन डुब्रोभनिकले "Dubrovnik Card" शुरु गर्यो। यसको उद्देश्य भीड नियन्त्रण मात्र होइन, पर्यटकलाई धेरै घुम्न, लामो बस्न, र प्रतिदिन बढी खर्च गर्न प्रेरित गर्नु हो। यही सोच भक्तपुरमा पनि लागू गर्न सकिन्छ ।
"भक्तपुर इमर्शन पास" सुरु गर्नुहोस् l यो पास ४८ घण्टाको होस् l यसमा प्रवेश शुल्क, गाइडसहितको हेरिटेज वाक, माटोका भाँडा वा बुनाइ कार्यशालामा बस्ने व्यवस्था, र स्थानीय रेस्टुरेन्ट तथा परिवारद्वारा सञ्चालित गेस्टहाउसमा छुटको व्यवस्था गर्ने तिर सोच बनाउनुहोस् l
"बिहान-बेलुकाको लागि बिशेष प्याकेज" बनाउनुहोस् l न्यातपोलो मन्दिरबाट सूर्यास्त अवलोकन गर्ने व्यवस्था, स्थानीय कथावाचकसँग बिहानको समयमा पदयात्रा, परम्परागत नेवारी खानेकुरोको अनुभव जस्ता कार्यहरुलाई यो प्याकेजमा राख्ने बारे सोच्नुहोस् ।
थिमेटिक ट्रेलहरू तयार गर्नुहोस् l "लिभिङ आर्टिजन ट्रेल", "नेवारी खानाको ट्रेल" जस्ता अवधारणा विकास गरेर भक्तपुरलाई एउटा स्मारक होइन, अनुभवहरु साटासाट गर्न मिल्ने गन्तब्य बनाउने तिर सोच्नुहोस् ।
न्युजिल्यान्डबाट सिकाइ: साहसिक पर्यटनमा सुरक्षा र सफलतालाई ब्रान्डको हिस्सा बनाउने
न्युजिल्यान्डमा साहसिक पर्यटन मुख्य ब्रान्ड हो। साहसिक पर्यटनमा त्यहाँ कडा सुरक्षा र मापदण्डहरु राखिएका छन् l साहसिक कार्य गराउने जो कोहिको पनि नियमित अडिट हुन्छ l यसले गर्दा, Tourism New Zealand ले सुरक्षित, व्यवस्थित, र सबैका लागि पहुँचयोग्य साहसिक गन्तव्यका रूपमा नाम कमाएको छ l
"Nepal Safe & Successful Summit" प्रमाणिकरण प्रणाली सुरु गर्नुहोस् l पर्वतारोहण कम्पनीका लागि स्वेच्छिक मापदण्ड बनाउनुहोस् । गाइड–ग्राहक अनुपात तय गर्नुहोस् l लेक वा उचाई लाग्ने समस्या छ कि छैन जाँच गरेर मात्र हिमाल आरोहण गर्ने व्यवस्था मिलाउनुहोस् l प्रमाणित सुरक्षा प्रोटोकल लागु गर्नुहोस् । यस्तो प्रमाणित कम्पनीलाई बेलायतमा विशेष प्रचार गर्नुहोस् ।
"महिला हाई–अल्टिच्युड रेडी" कार्यक्रम विकास गर्नुहोस् l अन्तर्राष्ट्रिय फिटनेस विशेषज्ञसँग सहकार्य गरेर, महिला आरोहीका लागि विशेष भर्चुअल तालिम कार्यक्रम तयार गर्नुहोस् । यसमा उच्च उचाइमा शरीरको अनुकूलन (acclimatization) सम्बन्धी शारीरिक पक्षलाई छलफलमा ल्याउनुहोस् ।