नेपालको कृषि क्षेत्रमा पछिल्ला वर्षहरूमा एउटा रोचक परिवर्तन देखिएको छ l त्यो भनेको परम्परागत रूपमा सीमित प्रयोगमा रहेको चुकन्दर जस्तो बालीको व्यावसायिक विस्तार हो। पहिले स्थानीय बजारमा खासै चिनिन नसकेको वा कम माग भएको चुकन्दर अहिले अर्ग्यानिक उत्पादन, स्वास्थ्यप्रतिको बढ्दो सचेतना, र अन्तर्राष्ट्रिय बजारसँगको जोडका कारण उच्च मूल्य दिने नगदे बालीको रूपमा उदाउँदै गएको छ।
चितवनजस्ता क्षेत्रमा किसानहरूले गाजरसँगै चुकन्दर खेतीलाई व्यावसायिक रूप दिँदै निर्यातसम्म पुर्याएका छन्, जसले ग्रामीण आम्दानी, रोजगारी र कृषि विविधीकरणमा नयाँ सम्भावना सिर्जना गरेको छ। विश्वव्यापी रूपमा चुकन्दरलाई पोषणयुक्त ‘सुपरफूड’ का रूपमा लिने प्रवृत्ति, अर्ग्यानिक उत्पादनप्रतिको विश्वास, र स्थानीय स्तरमा कृषि नवप्रवर्तनको प्रयासले गर्दा यो बाली अब केवल तरकारी मात्र नभई आर्थिक र स्वास्थ्य दुबै दृष्टिले महत्त्वपूर्ण विषय बन्न पुगेको छ।

नेपालमा चुकन्दर खेतीको सम्भावना
नेपालको भूगोल र हावापानी चुकन्दर खेतीका लागि उपयुक्त मानिन्छ l सिन्धुलीको भित्री तराई क्षेत्रमा गरिएको एक अध्ययनअनुसार नौ विभिन्न जातका चुकन्दरमध्ये 'एक्सन' जातिले सबैभन्दा बढी आर्थिक उपज दिन्छ—प्रति हेक्टर ३६.७६ टन (Dhital et al., 2025).
यस्तै, खोटाङको पहाडी क्षेत्रमा गरिएको अर्को अनुसन्धानले जैविक मल (कम्पोस्ट मल) प्रयोग गर्दा प्रति हेक्टर १३.९५ टनसम्म उत्पादन लिन सकिने देखाएको छ, जुन जैविक मल (कम्पोस्ट मल) प्रयोग नगर्दाको तुलनामा दोब्बरभन्दा बढी हो (Majhi et al., 2024).
चितवनको रामपुरमा गरिएको अध्ययनले पोल्ट्री मल र युरियाको संयुक्त प्रयोगबाट सबैभन्दा धेरै उत्पादन (प्रति हेक्टर ४९.७८ टन) हासिल गर्न सकिने निष्कर्ष निकालेको छ (Sapkota et al., 2021).
यी तथ्यांकहरूले नेपालको तराई, भित्री तराई र पहाडी क्षेत्रहरूमा पनि उन्नत जात र उचित मल व्यवस्थापनअनुसार चुकन्दरको उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने देखाउँदछन्।
अनुसन्धान स्थल | उत्तम जात / मल व्यवस्थापन | प्राप्त उत्पादन (प्रति हेक्टर) | मुख्य निष्कर्ष |
|---|---|---|---|
सिन्धुली | 'Action' जात | ३६.७६ टन | उत्पादनका लागि Action जात उत्तम, गुणस्तरका लागि Ruby Queen र Ruby Red उत्तम |
खोटाङ | १००% कम्पोस्ट मल | १३.९५ टन | जैविक मल प्रयोगले उत्पादनमा उल्लेखनीय वृद्धि (अरु मल प्रयोग गरेको ठाउँमा भन्दा दोब्बर) |
चितवन | ५०% पोल्ट्री मल + ५०% युरिया (Madhur जात) | ४९.७८ टन | मिश्रित मल प्रयोग र Madhur जात उत्कृष्ट संयोजन |
स्रोत: Dhital et al., 2025; Majhi et al., 2024; Sapkota et al., 2021
उपयुक्त जात र मल व्यवस्थापन गर्न सकेमा नेपालको भौगोलिक क्षेत्रमा चुकन्दरको उत्पादकत्व प्रतिहेक्टर ५० टनसम्म पुर्याउन सकिन्छ। तर, अध्ययनमा प्राप्त यो उपजलाई व्यावसायिक खेत (उदाहरणका लागि, १ बिघा वा ५ बिघा) मा विस्तार गर्दा माटोको विविधता, सिँचाइको पहुँच र व्यवस्थापन दक्षताजस्ता कारकले भिन्नता ल्याउन सक्छन्।
तर पनि यी तथ्यांकहरूले नेपाली किसानलाई आत्मनिर्भर र निर्यातमुखी चुकन्दर उत्पादनका लागि बलियो वैज्ञानिक आधार प्रदान गर्दछन्।
जानी राखौ: चुकन्दरको व्यावसायिक सम्भावना केवल ताजा तरकारी बिक्रीमा मात्र सीमित छैन। बरु, यसलाई प्रशोधन गरी विभिन्न उच्च मूल्यका उत्पादनहरूमा रूपान्तरण गर्न सकिने ठूलो अवसर रहेको छ। यता तिर सोचौ:
चुकन्दर पाउडर: लामो समय टिक्ने, ढुवानी सहज र निर्यातका लागि उपयुक्त। यसलाई स्मूदी, बेकरी उत्पादन, र प्राकृतिक रंगको रूपमा प्रयोग गर्न सकिन्छ।
चुकन्दर जुस: शहरी क्षेत्रका स्वास्थ्य सचेत उपभोक्तालाई लक्षित। ताजा वा प्याकेजिङ गरी सुपरमार्केट, जुस पसल र होटलहरूमा आपूर्ति गर्न सकिन्छ।
चुकन्दर पेस्ट/अचार: लामो समय टिकाउन सकिने, सजिलो प्रयोग र घरायसी बजारका लागि उपयुक्त। रेस्टुरेन्ट र खुद्रा बिक्रेताहरूमा माग बढ्दो छ।
प्राकृतिक रंग (बिटालेन): कृत्रिम रंगको विकल्पको रूपमा खाद्य उद्योग, कस्मेटिक्स र पेय पदार्थ कम्पनीहरूमा बढ्दो माग छ। यसले उच्च मूल्यमा निर्यातको समेत सम्भावना बोकेको छ।
चुकन्दरको बजार परिदृश्यः आयात–निर्यात तथ्यांकले देखाएको सम्भावना
नेपालमा चुकन्दरको बजार हाल आयातमुखी रहे पनि निर्यातमा देखिएको उल्लेखनीय वृद्धिले यस क्षेत्रको ठूलो सम्भावना उजागर गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपालले २९६.८५ टन चुकन्दर (र समूहका तरकारीहरू) आयात गरेको थियो । सोही अवधिमा नेपालबाट १५६.६५ टन निर्यात भएको छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जम्मा २.०४ टन मात्र निर्यात भएको तुलनामा २०८०/८१ मा १५६.६५ टन निर्यात हुनुले ७७ गुणाको असाधारण वृद्धि देखाउँदछ। निर्यात हुने चुकन्दरको औसत मूल्य प्रतिकिलो रु. ४३.१ रहेको छ भने आयात हुनेको औसत मूल्य प्रतिकिलो रु. ३५.२ रहेको छ। निर्यात मूल्य आयात मूल्यभन्दा उच्च हुनुले नेपालबाट निर्यात हुने चुकन्दरको गुणस्तर (जैविक) उच्च रहेको संकेत गर्दछ।
यी तथ्यांकहरूले नेपालमा चुकन्दर उत्पादन र निर्यातको विशाल सम्भावना रहेको स्पष्ट देखाउँदछन्।
आर्थिक वर्ष | विवरण | परिमाण (टन) | प्रतिकिलो औसत मूल्य (रु.) |
|---|---|---|---|
२०७९/८० | आयात | २५०.६० | २६.३ |
२०७९/८० | निर्यात | २.०४ | ४६.१ |
२०८०/८१ | आयात | २९६.८५ | ३५.२ |
२०८०/८१ | निर्यात | १५६.६५ | ४३.१ |
स्रोत: Ministry of Agriculture and Livestock Development (2025, 2024)
नोट: चुकन्दर, गाजर, मुला र अन्य वस्तुहरुलाई एकै कोड (HS ०७०६९०००) राखेर आयात/निर्यात गरिने हुँदा, चुकन्दरको मूल्य मुला वा गाजर भन्दा बढी हुनसक्छ l
गाठी कुरो: यी तथ्यांकहरूले स्पष्ट पार्दछन् कि नेपालमा चुकन्दरको व्यवसाय गर्न चाहनेहरूका लागि दुई ठूला बजार उपलब्ध छन्
एकातर्फ, वार्षिक करिब ३०० टनको आयातले देखाएको बलियो आन्तरिक बजार
अर्कातर्फ, ७७ गुणाले बढेको निर्यातले देखाएको विस्तारशील अन्तर्राष्ट्रिय बजार।
चितवनको श्रीपुर गाउँ: चुकन्दर खेतीले बदलेको किसानको जीवनी
नेपालमा चुकन्दर खेतीको सम्भावना बुझ्न चितवनको श्रीपुर गाउँको एउटा उदाहरण हेरौ। यहाँका एक किसानले तीन वर्षअघि मात्रै व्यावसायिक रूपमा चुकन्दर खेती सुरु गरे। आज उनी र उनको समूहले जर्मनीमा चुकन्दर निर्यात गरिरहेका छन्। उनले साढे २ बिघामा चुकन्दर खेती गर्दै आएका छन् l वार्षिक उत्पादन ३० टन छ l प्रति बिघा अनुमानित उत्पादन करिब १२० क्विन्टल छ l
विवरण | रकम (ने रु मा) |
|---|---|
कुल वार्षिक आम्दानी | २० लाख |
खुद वार्षिक नाफा | ५ देखि ७ लाख |
स्रोत: Setopati 30/3/2025
चुकन्दरबाट २० लाख रुपैयाँ आम्दानी हुँदा ५–७ लाख रुपैयाँ नाफा हुन्छ। लगानी अनुसार धेरै फाइदा त होइन तर मेरा लागि यति नाफा ठूलो कुरा हो।
यो जानकारी अनुसार चन्द्र प्रसाद अधिकारीले जर्मनीमा रु ५० प्रति केजी (२०२५ को मूल्य) मा चुकन्दर विक्री गरेका छन् l रमाइलो कुरो त, नेपालमा पनि सोहि मूल्य छ l
वजार | मूल्य (प्रति किलो) | वार्षिक निर्यात मात्रा |
|---|---|---|
जर्मनी | रु ५० | ६०० क्विन्टल (६० टन) तयारी |
स्थानीय बजार | रु ५० (स्थिर) | - |
नोट: चुकन्दरको मूल्य पोहोर र यस वर्ष पनि प्रतिकिलो रु. ५० मा स्थिर रहेको छ। यसको विपरीत, गाजरको मूल्य रु. २० बाट घटेर रु. १५ मा झरेको छ। यसले देखाऊदछ कि चुकन्दरको मूल्य खासै घट्दैन l
श्रीपुर, चितवनको अनुभव अनुसार, चुकन्दर खेतीमा लागेको खर्च र अन्य जानकारी यसअनुसार छ l
लागत शीर्षक | विवरण |
|---|---|
बीउ लागत | रु. २,२०० प्रतिकिलो (भारतबाट आयात) |
श्रम लागत (गोड्न मात्र) | १,१०० जना खेताला (एक पटकमा) |
जैविक मल | गोबर, गड्यौंला मल, अर्गानिक मल |
बाली चक्र | धान (वर्खा) → चुकन्दर (हिउँद) → तिल (चैत) |
चुकन्दर तीन पटक गोड्नुपर्छ। मैले यसपालि गोड्न मात्रै ११ सय जना खेताला लगाएँ।
गाठी कुरो:
जैविक खेती अपनाउने: रासायनिक मल तथा विषादी प्रयोग नगर्दा पनि उत्पादन राम्रो हुन्छ। जैविक खेतीले अन्तर्राष्ट्रिय बजारमा पहुँच सहज बनाउँदछ।
समूहगत खेती जरुरी: एक्लै भन्दा समूह (सहकारी वा किसान संघ) मा आबद्ध भएर खेती गर्दा जैविक प्रमाणीकरण र निर्यात सम्झौता गर्न सजिलो हुन्छ। चितवनमा ३५ किसानको जिल्ला जैविक संघ सक्रिय छ।
बाली चक्र अपनाउने: धानपछि चुकन्दर र त्यसपछि तिल लगाउने बाली चक्रले जमिनको उर्वराशक्ति कायम राख्छ र वर्षभरि नै आम्दानीको स्रोत सिर्जना गर्दछ।
बजार सुनिश्चितता नै आधार: निर्यात सम्झौता र बजारको सुनिश्चितता भएपछि मात्र ठूलो लगानी (एकै पटक ११०० खेताला राख्ने) गर्न सकिन्छ। पूर्वनिर्धारित मूल्यले उत्पादनलाई सुरक्षित बनाउँदछ।
सरकारी सहयोग उपलब्ध: हाल सरकारले जैविक प्रमाणीकरणका लागि मापदण्ड बनाइसकेको छ। जैविक मिसन कार्यक्रम सञ्चालन भइरहेको छ। यसले किसानलाई प्रमाणीकरणमा सहजता प्रदान गर्दछ।
चुकन्दर व्यवसाय: जोखिम र न्यूनीकरण उपायहरु
चुकन्दर खेतीमा अन्य कृषि व्यवसायजस्तै विभिन्न जोखिमहरू रहेका छन्। तर, उचित योजना र व्यवस्थापन गर्न सके यी जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।
जलवायु र सिँचाइको जोखिम: हिउँदे वर्षा नहुँदा चुकन्दरको उत्पादनमा ठूलो असर पर्दछ।
- कुवा, ट्युबवेल वा पोखरी निर्माण गरी पानीको व्यवस्था गर्ने।
- धान कटानपछि हिउँदको सुरुमै रोपाइ गर्ने र समयमै सिँचाइको प्रबन्ध गर्ने।
- मल्चिङ (पराल वा प्लाष्टिकले माटो ढाक्ने) गरी माटोको नमी संरक्षण गर्ने।
श्रमिक अभावको जोखिम: चुकन्दर खेतीमा श्रमिकको उच्च माग हुन्छ। युवाहरू विदेश पलायन हुँदै गएपछि खेतमा काम गर्ने मानिस पाउन कठिन हुँदै गएको छ।
- गोड्ने, फसल काट्ने र प्रशोधनमा साना यन्त्रहरू (उदाहरण: पावर टिलर, हाते गोड्ने यन्त्र) को प्रयोग गर्ने।
- स्थानीय स्तरमा श्रमिक बैंक वा सहकारी गठन गरी आवश्यकताअनुसार श्रमिक परिचालन गर्ने।
- एक्लैभन्दा समूहमा आबद्ध भई काम साझा गर्दा श्रमिकको संख्या कम हुने र कार्यक्षमता बढ्ने।
बजार र मूल्य अस्थिरताको जोखिम: गाजरको उदाहरणले देखाउँदछ कि मूल्यमा अचानक गिरावट आउँदा किसान मारमा पर्छन्। गाजरको मूल्य रु. २० बाट घटेर रु. १५ पुग्दा किसानलाई घाटा व्यहोर्नुपरेको छ। यद्यपि, चुकन्दरको मूल्य हालसम्म स्थिर (रु. ५०) रहेको छ, तर भविष्यमा अन्तर्राष्ट्रिय बजारको मूल्यमा उतारचढाव आउन सक्छ।
- निर्यातकर्ता कम्पनीसँग पूर्वनिर्धारित मूल्यमा दीर्घकालीन खरिद सम्झौता गर्ने।
- एउटै बजारमा भर नपर्ने। स्थानीय बजार, होटल, रेस्टुरेन्ट र प्रशोधन उद्योगलाई समेत आपूर्ति गर्ने।
- ताजा तरकारी बेच्नुको साटो चुकन्दर पाउडर, प्युरी, वा अचार बनाई बिक्री गर्दा मूल्य अस्थिरताको जोखिम कम हुन्छ र उत्पादन लामो समय टिक्छ।
जैविक प्रमाणीकरण र गुणस्तरको जोखिम: अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि जैविक प्रमाणीकरण अनिवार्य छ। प्रमाणीकरणको प्रक्रिया लामो, खर्चिलो र जटिल छ।
- एक्लैभन्दा समूहमा प्रमाणीकरण गर्दा लागत कम र प्रक्रिया सहज हुन्छ।
- सरकारले हालै जैविक प्रमाणीकरणको मापदण्ड बनाइसकेको छ। किसानले यसको सदुपयोग गरी औपचारिक प्रमाणीकरण गर्न सक्छन्।
- उत्पादनको सुरुदेखि अन्त्यसम्मको विवरण (बीउ, मल, पानी, फसल) राख्ने प्रणाली अपनाउने। यसले निर्यातकर्ताको विश्वास जित्न मद्दत गर्दछ।
बीउको गुणस्तर र उपलब्धताको जोखिम: गुणस्तरीय बीउ नपाइँदा उत्पादन र गुणस्तर प्रभावित हुन सक्छ।
- सिन्धुलीको अध्ययनले 'Action' जात उत्पादनका लागि र 'Ruby Queen' गुणस्तरका लागि उत्तम देखाएको छ। यी जातको प्रमाणित बीउ मात्र प्रयोग गर्ने।
- किसान समूहले सँगै मिलेर बीउ भण्डारण केन्द्र (बीउ बैंक) स्थापना गर्ने। यसले समयमै बीउ उपलब्धता सुनिश्चित गर्दछ।
- लामो समयका लागि नेपालमै बीउ उत्पादन गर्ने प्रविधिमा लगानी गर्ने।
ढुवानी र पूर्वाधारको जोखिम:
ताजा चुकन्दर लामो दूरीसम्म ढुवानी गर्दा कुहिने, चिल्लिने वा गुणस्तर घट्ने जोखिम हुन्छ। चिस्यान केन्द्र (Cold Storage) को अभाव नेपालको मुख्य समस्या हो।
- किसान समूह वा सहकारीले सामूहिक लगानीमा साना चिस्यान केन्द्र स्थापना गर्ने।
- ताजा चुकन्दर पठाउनुको सट्टा पाउडर वा प्युरी बनाई पठाउँदा ढुवानी सजिलो र टिकाउ हुन्छ।
- सुरुवाती चरणमा लामो दूरीको निर्यातभन्दा नजिकका सहर (जस्तै: काठमाडौं, पोखरा) को बजारमा आपूर्ति गर्ने।
अन्तिम निष्कर्ष: के यो व्यवसायमा भविष्य छ?
चुकन्दर खेती नेपालमा व्यवसायिक रूपमा अत्यन्तै सम्भावना भएको क्षेत्र हो।
- यदि तपाईं किसान हुनुहुन्छ भने: सुरुमा १-२ रोपनी जमिनमा प्रयोगात्मक रूपमा चुकन्दर खेती गर्नुहोस्। जैविक प्रमाणीकरणका लागि स्थानीय जैविक संघमा आबद्ध हुनुहोस्। नजिकैको कृषि ज्ञान केन्द्रबाट Action वा Madhur जातको बीउ प्राप्त गर्नुहोस्।
- यदि तपाईं उद्यमी हुनुहुन्छ भने: चुकन्दर पाउडर, जुस, वा प्राकृतिक रंगको सानो प्रशोधन उद्योग स्थापनाको सम्भावना अध्ययन गर्नुहोस्। किसान समूहसँग दीर्घकालीन खरिद सम्झौताको मोडल अपनाउनुहोस्।
- यदि तपाईं लगानीकर्ता हुनुहुन्छ भने: चिस्यान केन्द्र (Cold Storage), प्रशोधन उपकरण, वा निर्यात पूर्वाधारमा लगानीको अवसर हेर्नुहोस्।
अन्तमा, यो व्यवसाय सफल बनाउन जैविक खेती, समूहगत संस्थागत संरचना (सहकारी/किसान समूह), अन्तर्राष्ट्रिय स्तरको जैविक प्रमाणीकरण, र बजार सुनिश्चितता जस्ता सर्तहरू पूरा गर्नुपर्छ। यी सबै कुरा मिलाउन सके चुकन्दर खेती नेपाली किसानका लागि निकै नाफामूलक व्यवसाय साबित हुन सक्छ।