नेपाल जस्तो विविध भौगोलिक र जलवायु भएको देशमा कृषि व्यवसायले नयाँ सम्भावनाहरू खोल्दै आएको छ। कोरोना महामारीको चुनौतीपूर्ण समयमा धेरै किसानहरूले परम्परागत तरिकाभन्दा बाहिर सोच्न थाले — त्यसै क्रममा एप्पल बेर (जुजुबे / Indian Jujube) खेतीले आकर्षक अवसर प्रस्तुत गरेको छ।
यो फल सजिलै उब्जिने, कम लगानीमा दीर्घकालीन आम्दानी दिने, र स्थानीय तथा शहरको बजारमा माग बढ्दो भएको विशेषताले कृषि उद्यमीहरूका लागि लाभदायी विकल्प बनेको छ। उचित व्यवस्थापन र समयमै फल टिप्ने अभ्यासले कृषकलाई वार्षिक नियमित आम्दानी मात्र नभई व्यवसाय विस्तारको अवसर पनि दिन्छl

जुजुबेको बजार मूल्य र उपभोक्ता चासो
जुजुबे, जसलाई नेपालीमा एप्पल बेर / Indian Jujube (Ziziphus mauritiana) भनिन्छ, अहिले परम्परागत मौसमी फलभन्दा आर्थिक अवसर दिने कृषि व्यवसायको रूपमा परिचित हुँदै आएको छ। यसको मिठो स्वाद, कुरकुरा बनावट, र लामो समयसम्म राख्न मिल्ने क्षमताले शहरी र उपशहरी उपभोक्ताबीच लोकप्रियता बढाएको छ। स्वास्थ्य–सचेत उपभोक्ताको बढ्दो माग र फल–आधारित उत्पादनहरूको रुचिले घरेलु बजारमा मात्र नभई छिमेकी देशहरूमा पनि यसको माग बढाइरहेको छ।
काठमाडौं, भरतपुर र बुटवलजस्ता बजारहरूमा जुजुबेको मूल्य प्रति किलो ८०–१५० रुपैयाँ सम्म पुग्छ, जसमा जात, पक्वता र प्याकेजिङ्ग अनुसार फरक पर्छ। ब्रान्डेड र प्याकेज गरिएको जुजुबे सुपरमार्केट, फलफूल पसल र अनलाइन प्लेटफर्ममा उपलब्ध हुँदै गएको छ, त्यस्तै खेतदेखि बजारसम्मको सिधा बिक्री पनि बढ्दै गएको छ।
नोट: बजार मूल्य मौसम, क्षेत्र र जात अनुसार फरक पर्न सक्छ। यहाँ प्रस्तुत जानकारी विभिन्न स्रोतबाट संकलन गरिएको हो र सम्भावित उद्यमीलाई मार्गदर्शन दिन प्रयोग गर्न सकिन्छ। व्यक्तिगत लगानी निर्णय गर्दा स्थानीय अवस्था र बजार अनुसन्धान विचार गर्नु आवश्यक छ।
बजार/शहर | मूल्य सीमा (रुपैया/किलो) | विविधि |
|---|---|---|
काठमाडौँ | १००– १५० | उच्च गुणस्तरका जात (Bharat Sundari, Kashmiri Apple) सुपरमार्केटमा बिक्री |
भरतपुर | ८०– १२० | स्थानीय बजार र खेतदेखि बिक्री |
बुटवल | ९०– १३० | प्याकेज गरिएको उत्पादनमा बढ्दो माग |
भिटामिन सी (१०० ग्राममा) | २००–८०० मिलीग्राम | प्राकृतिक भिटामिन सी गोली (स्वास्थ्य लाभ) |
वैदेशिक व्यापार (२०२५) | भारत → नेपाल निर्यात अभिलेख | नेपाली बजारमा बलियो मागको संकेत |
Source: The Kathmandu Post 6/4/2025; Croplibrary 7/8/2025; Tridge
मुख्य संदेशहरु:
स्वास्थ्य र पोषण: जुजुबे भिटामिन C, एन्टिअक्सिडेन्ट र खनिजले धनी भएकोले स्वास्थ्य–सचेत उपभोक्ताबीच लोकप्रिय हुँदै गएको छ।
-
सिधा बिक्री र निर्यात अवसर: किसानहरूले सिधै शहरी बजारमा बिक्री गर्न सक्नेछन्, जसले मध्यस्थकर्तालाई कम गर्छ। छिमेकी देशबाट माग बढ्दै गएकोले निर्यातका अवसरहरू पनि छन्।
-
दीर्घकालीन लाभदायी: सही व्यवस्थापनमा, जुजुबेका रुखहरूले ३–४ वर्षमै फल दिन थाल्छन् र दशकौंदेखि वार्षिक नियमित आम्दानी दिन सक्छन्, जसले साना र मध्यम किसानका लागि रणनीतिक विकल्प बनाउँछ।
जुजुबे खेतीको आर्थिक विश्लेषण, ROI र व्यवसायिक सम्भावना
जुजुबे दीर्घकालीन फलफूल बाली भएकाले सानो जमिन भएका किसानका लागि पनि उपयुक्त विकल्प हो। १ रोपनी क्षेत्रफलमा पनि उचित व्यवस्थापन गरेमा चौथो वर्षदेखि आकर्षक नाफा लिन सकिन्छ। पाँचौं वर्षसम्म लगानी फिर्ता हुने सम्भावना रहन्छ।
यो खेतीको लागि पहिलो वर्ष अनुमानित लगानी रु. ८,७०० आवश्यक पर्छ भने दोस्रो वर्षको लागि मर्मत खर्च रु. ४,७०० लाग्नेछ। यी दुवै वर्षमा उत्पादन र आम्दानी हुदैन। तेस्रो वर्षदेखि यो लगानी आम्दानीमा परिणत हुन थाल्छ (तर अझै नाफा हुँदैन)।
यदि जुजुबेको बेच्ने मूल्य १०० रुपैया प्रति केजी राख्ने हो भने, निम्नानुसार नाफा गर्न सकिन्छl
वर्ष | उत्पादन (केजीमा) | अनुमानित आम्दानी | खुद नाफा |
|---|---|---|---|
१ | ० | ० | -८,७०० |
२ | ० | ० | -४,७०० |
३ | ३५ | ३,५०० | -१,२०० |
४ | ३५० | ३५,००० | ३०,३०० |
५ | ४९० | ४९,००० | ४४,३०० |
६ | ५९५ | ५९,५०० | ५४,८०० |
७ | ६३० | ६३,००० | ५८,३०० |
८–१५ | ७०० | ७०,००० | ६५,३००(प्रति वर्ष) |
Source: Croplibrary 7/8/2025
लगानीको प्रतिफल निकालेको तरिका
यो तालिका अनुसार १ रोपनीमा जुजुबे खेती गर्दा, १५ वर्षमा एउटा कृषकले रु ७७०,००० जति आम्दानी गर्न सक्छ l कुल खर्च रु ७४,००० जति हुन जान्छ l आम्दानीमा खर्च घटाउने हो भने खुद नाफा रु ६९६,००० जति हुन आउदछ l
लागतको प्रतिफल (ROI %) =
६९६,०००/७४,००० * १००%
≈ ९४०%
यो भनेको हरेक १ रुपैया लगानी गर्दा, यहाँले १५ वर्षमा रु ९.४० बराबरको नाफा गर्न सक्नुहुन्छl
व्यवसायिक दृष्टिकोण:
साना किसानका लागि कम लगानी, उच्च प्रतिफल दिने खेती होl
४–५ वर्षमै लगानी फिर्ता हुने सम्भावनाl
-
आठ वर्षपछि स्थिररुपमा वार्षिक ६०–६५ हजार खुद नाफा हुने सम्भावनाl
मूल्य रु १२० प्रति केजी पुगेमा नाफा अझै २० देखि २५% ले बढ्न सक्ने अवस्थाl
जुजुबे खेती र बजार अवसर
नेपालमा जुजुबे (एप्पल बेर) खेती हाल तेजीका साथ फैलिँदैछ। पछिल्ला वर्षहरूमा स्थानीय उत्पादनको माग बढ्दै गएपछि किसानहरूले शहरी बजार र साना निर्यात अवसरमा प्रत्यक्ष पहुँच पाएका छन्। तथ्याङ्कले देखाउँछ कि नेपालले फल र जुस सम्बन्धी HS कोड 8109090 अन्तर्गत आयात र निर्यात दुवै गर्दै आएको छ। यद्यपि यो कोडमा जुझुबे बाहेक अन्य जुस वा फल उत्पादन पनि समावेश हुन सक्छ, यसले फल–जन्य बजारको आकार र मूल्य प्रवृत्तिलाई बुझ्न मद्दत गर्छ।
स्थानीय उदाहरणले बजार सम्भावना पुष्टि गर्दछ। चितवनका एक वृद्ध किसानले कोरोना–१९ को समयमा जुझुबे खेती सुरु गरे, र अहिले उनका फलहरू काठमाडौं र बुटवलमा सिधै बिक्री हुँदै आएका छन्। १०–१२ कामदारको सहयोगमा उनले दुई बिगाह जमिनमा दैनिक २० क्विन्टल जुझुबे आपूर्ति गर्दै आएका छन्। यसले स्पष्ट पार्छ कि नेपालमा साना किसानले पनि जुझुबे खेतीबाट निर्यात र शहर बजारमा पहुँच बनाएर स्थिर आम्दानी सिर्जना गर्न सक्छन्।
वर्ष | अवस्था | मात्रा (केजी) | मूल्य (रु. मा) | प्रति केजी मूल्य |
|---|---|---|---|---|
२०७९/८० | निर्यात | २,००० | ३०,००० | १५.०० |
२०७९/८० | आयात | ४,००९,२६९ | २३१,९३८,००० | ५७.८५ |
२०८०/८१ | निर्यात | २,६५४ | १२७,००० | ४७.८५ |
२०८०/८१ | आयात | २,९१६,२८६ | २४४,७१६,००० | ८३.९१ |
Source: Ministry of Agriculture and Livestock Development 2024 & 2025; Tridge
व्यवसायिक संकेत:
स्थानीय बजार: काठमाडौं र बुटवलमा प्रत्यक्ष बिक्री गर्न सक्दा किसानलाई बढी मूल्य र नियमित ग्राहक उपलब्ध हुन्छ।
अन्तर्राष्ट्रिय बजार: भारतले निर्यात गर्दा तिरेको मूल्यबाट नेपालमा पनि जुजुबेको निर्यात सम्भावना पक्कै छl
शुरुवाती लगानी कम: थोरै जमिनमा पनि यसको खेती सुरु गर्न सकिन्छ र ४–५ वर्षमा लगानी फिर्ता।हुने सम्भावना हुन्छl
नियमित माग: स्वास्थ्य–सचेत उपभोक्ताबीच क्रिस्प, मिठो र लामो समयसम्म स्टोर गर्न मिल्ने जुजुबेको माग बढ्दो छ।
जुजुबे खेती: जोखिम र न्यूनीकरण उपायहरू
जुजुबे खेती उच्च प्रतिफल दिने लगानी भए पनि यस व्यवसायसँग विभिन्न जोखिमहरू जोडिएका छन्l सफलताका लागि किसानले उत्पादन, गुणस्तर, र बजार व्यवस्थापनमा सन्तुलन कायम गर्नु पर्छ।
मौसम र जलवायु जोखिम: जुजुबे गर्मी र सूर्यको प्रकाश हुने ठाउँमा बढि उत्पादन हुन्छ l अत्यधिक वर्षा वा तुषारोले यसको फुल र फलमा क्षति पुर्याउदछl यसैले, कि त अग्लो ठाउँमा वा भिरालो ठाउँमा यो खेती गर्नुपर्छl सुक्खा महिनामा सिचाईको बारेमा सजग हुनुपर्छl
कच्चा पदार्थ र बिरुवा उपलब्धतामा कठिनाई: यो खेतीका लागि स्वस्थकर बिउ र बिरुवा चाहिन्छ l समयमा बिरुवा उपलब्ध नहुने हो भने समस्या हुन्छl यसैले, गुणस्तरीय बिरुवा पाउने ठाउँबाट मात्र किन्ने गर्नुपर्छl रोपाइँ अघि १-२ महिना पिट तयार पारेर माटो र मल मिश्रण गरेर राख्नुपर्छl
माटो र सिँचाइसंग सम्बन्धित जोखिम: सुक्खा माटो, पानी जम्ने जस्ता ठाउँमा त्यति राम्रो खेती हुदैन l पर्याप्त सिचाई भएन भने अन्न राम्रो हुदैन l यसर्थ, मलिलो माटो, घाम आउने र पानी नजम्ने ठाउँ खोज्नुपर्छ l शुरुको समयमा, फल र फुल लाग्ने समयमा सिचाईको राम्रो व्यवस्था गर्नुपर्छ l
कीरा र रोगसंग सम्बन्धित जोखिम: विभिन्न खाले किरा र रोगहरुले यसलाई समस्या पार्न सक्छ l यसैले, बोट बिरुवाको उचित स्याहारसुसार आवस्यक हुन्छ l जैविक नियन्त्रण (जस्तै लेडीबर्ड) र प्रमाणित कीटनाशक प्रयोग गर्नुपर्छ l रोग सुरु हुने चरणमा प्रि-हर्वेस्ट वा समयमै फङ्गिसाइड प्रयोग गर्नुपर्छ l
बजार र मूल्य जोखिम: सस्तो वा विदेशी प्रतिस्पर्धीको कारण बजार मूल्य घट्न सक्छ। यसर्थ, फलको गुणस्तर, प्याकेजिङ, र निरन्तर ब्राण्डिङमा लगानी गर्नुहोस्। उत्पादनको थोरै हिस्सा स्थानीय बजार र थोक बजारमा बेचेर जोखिम कम गर्नुहोस्l
उत्पादन र घाटाको अवस्था: शुरुको वर्षमा कम उत्पादन, फल झर्ने समस्या, वा मौसमीय प्रभावले घाटा हुन सक्छ l यसैले, शुरुको एक देखि ४ वर्षसम्म जुजूबे संगै तरकारी र अन्य बालीहरु पनि लगाउनुहोस्l
के यो व्यवसायमा अवसर छ?
जुजुबे (एप्पल बेर) खेतीले नेपालमा आकर्षक व्यापारिक सम्भावना देखाएको छ। केवल स्थानीय बजारमा मात्र नभई, विश्वभरका निर्यात बजार र प्रशोधन सम्भावनाहरूले यसलाई दीर्घकालीन लाभदायी कृषि व्यवसाय बनाएको छ। अन्तर्राष्ट्रिय अनुभवले देखाउँछ कि सफल जुजुबे व्यवसाय केवल फल खेतीमा सीमित नराखी मूल्य–संवर्धन (value addition), गुणस्तर व्यवस्थापन, र निर्यात बजारको रणनीतिमा केन्द्रित हुनुपर्छ। नेपालका किसान र उद्यमीहरूले यी पाठहरूबाट आफ्नो उत्पादन र बजार पहुँचलाई सुधार गर्न सक्दछन्।
बिश्वो व्यवसायबाट पाठ सिक्नुहोस्: जुजुबेको विविधिकरणमा ध्यान दिनुहोस्l
एशिया–प्यासिफिकमा जुजुबे केवल ताजा फलमा सीमित छैन। सुक्खा जुजुबे, जुस, पाउडर, स्नेयक, सिरप, र अन्य प्रशोधित उत्पादनहरूले बजार हिस्सेदारी बढाएका छन्l
Source: https://www.verifiedmarketreports.com/product/jujube-market/
सुक्खा जुजुबे, जुस, र स्वास्थ्य–खाद्य उत्पादनहरू विकास गर्नुहोस्l
यसको पौष्टिकताबारे जानकारी दिदै प्रिमियम मूल्य कायम गर्ने तिर सोच्नुहोस्l
पैकेजिङ र उत्पादन फरक पारेर शहरी र निर्यात बजारमा प्रवेश बढाउनुहोस्l
चीनबाट सिक्नुहोस्: गुणस्तर प्रणाली मजबुत बनाउनुहोस्l
चीनको उद्योगले ग्रेडिङ, सुक्खा प्रविधि, र प्याकेजिङमा लगानी गरेर उत्पादको शेल्फ–लाइफ बढाएको छ, नोक्सान घटाएको छ, र वितरण क्षमता सुधार गरेको छl
Source: https://www.intelmarketresearch.com/dried-jujubes-market-4707
ड्रायर, सॉर्टिङ उपकरण, र गुणस्तर नियन्त्रण प्रणालीमा लगानी गर्ने बारे सोच्नुहोस्l
प्रशोधित र राम्रो प्याकेजिङ भएका उत्पादनहरूले बजारमा मूल्य बढाउने गर्छन, यता तिर ध्यान दिनुहोस्l
गुणस्तरले सुपरमार्केट र निर्यात बजारमा पहुंचलाई सहज बनाउने गर्छl
व्यापार अंक बुझ्नुहोस्: बिश्वोबजारमा हुने अंकलाई ख्याल गरेर निर्यात बजारमा जोडिनुहोस्l
भारत, चीन, कोरिया जस्ता मुलुकहरूले विश्वव्यापी बजारमा निर्यात बढाइरहेका छन्। युरोप, अमेरिका, र सिंगापुरका बजार प्रमुख आयातकर्ता हुन्l
Source: https://www.volza.com/p/fresh-jujube/export/
निर्यात बजार जस्तै यूके, सिंगापुर, अमेरिका लक्षित गर्नुहोस् l
प्रमाणपत्र, ट्रेसबिलिटी, र गुणस्तर मापदण्ड पूरा गरेर प्रतिस्पर्धा सक्षम बनाउनुहोस्l
बजार डाटा अनुसार उत्पादन र विविधीकरण रणनीति अपनाउनुहोस्l