902
नेपाल पर्यटन प्रतिवेदन २०२६: बदलिंदो सिजन र नयाँ अवसरहरू
Data Insight

हरेक वर्ष नेपाल आउने विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दैछ l तर व्यवसायका लागि यी पर्यटकहरु कहाँ जान्छन् त भन्ने थाहा पाउनु उत्तिकै महत्वपूर्ण छ l संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जहरूमा देखिएको पर्यटकहरूको उतारचढाव, साहसिक र धार्मिक पर्यटनमा देखिएको उत्साहजनक वृद्धि, इतिहास बुझ्ने ठाउँहरुमा देखिएको स्थिर सङ्ख्याले व्यवसायीहरुलाई पक्कै मार्गनिर्देश गर्ने छ l यो ब्लगमा पर्यटकहरुको सतही संख्या भन्दा वास्तविकता के हो भन्ने जानकारी सहित नयाँ सम्भावना कहाँ कहाँ छन् त भन्ने कुरोको जानकारी प्रस्तुत गरिएको छ l

नेपालको पर्यटन:  सन् २०२६ को जनवरी महिनाले देखाएको नया उत्साह

सन् २०२२ मा नेपाल आउने पर्यटकहरूको सङ्ख्या ६२४,१०७ थियो। सो संख्या सन् २०२३ मा १० लाखभन्दा माथि पुग्यो l यस्तै सन् २०२४ मा ११ लाख चालिस हजार र सन् २०२५ मा ११ लाख ५० हजार जति पुग्यो l सन् २०२४ र २०२५ को तुलना गर्ने हो भने सन् २०२५ मा नेपाल आउने पर्यटकहरुको सङ्ख्या जम्माजम्मी १% ले बढ्यो l दशैँ ताका नेपालमा पर्यटकहरुको संख्या उल्लेख्य बढ्ने भए तापनि तीन वर्षमा सो महिना वरपर ४२०,०००-४२७,००० मात्र विदेशी पर्यटकहरु नेपाल आएका छन् l तर, सन् २०२६ को जनवरी महिना (माघ) ले उज्यालो शुरुवात देखाएको छ। विगत चार वर्षको जनवरी महिनाको तुलनामा यो महिना सबैभन्दा धेरै ९२,५७३ पर्यटकहरू नेपाल आए l सरसर्ती हेर्दा, नेपालको पर्यटन क्षेत्रले स्थिरता कायम गरेको देखिएता पनि यो वर्षको शुरुवाती महिनाले पर्यटन क्षेत्रमा राम्रो उत्साह थपेको छ। यो उत्साहलाई व्यवसायहरुले सहि रणनीतिका साथ अघि सार्नुपर्छ l

वर्ष
जनवरी-अप्रिल
मे-अगष्ट
सेप्टेम्बर-डिसेम्बर
जम्मा
२०२२१४५,६८५१८८,७८१२८९,६४१६२४,१०७
२०२३३२४,४९१२७५,९४३४१४,४४७१०,१४,८८१
२०२४४१६,०६९३०४,२६५४२७,२३३११,४७,५६७
२०२५४१५,०४८३२१,५१४४२१,८९७११,५८,४५९
२०२६*१९८,०१४


 Source:  Nepal Tourism Board (2022-2026)

मुख्य कुरो: सन् २०२६ को जनवरी (माघ) महिनाले एउटा नया संकेत दिएको छ l त्यो भनेको पर्यटकहरुको यात्रा तालिकामा फेर बदलको कुरो l तीन वर्षसम्म सेप्टेम्बरदेखि डिसेम्बर (असोज-पौष) मा स्थिर रहेको पर्यटक सङ्ख्या सँगै व्यवसायहरूले मार्केटिङका आफ्ना विविध योजनाहरुलाई जनवरीदेखि अप्रिल (माघ-बैशाख) मा पनि अघि सार्नुपर्छ। यस्तै होटेल सञ्चालकहरुले फेब्रुअरी देखि अप्रिल (फाल्गुण-बैशाख) मा आउने पर्यटकहरुलाई विशेष छुटको प्याकेजको पनि व्यवस्था गर्नुपर्छ l टुर अपरेटरहरुले हिमाल हेर्ने र चाडपर्वमा रमाउने कार्यक्रमहरु राखेर प्याकेज बनाउनुपर्छ l पहिलेको जस्तो गरि अक्टोबर-नोभेम्बर (कार्तिक-मंगसिर) को महिना कुर्नु त्यत्ति सान्दर्भिक हुँदैन l 

माघ-बैशाखमा थपिदै गएको विदेशी पर्यटकहरुको सङ्ख्या

सन् २०२६ को जनवरी (माघ) महिनामा ९२,५७३ विदेशी पर्यटकहरू नेपाल आए l यो भनेको अघिल्लो चार वर्षको जनवरी महिनामा भएको सबैभन्दा धेरै वृद्धि हो। सन् २०२२ पछि फेब्रुअरी र मार्च (फाल्गुण-चैत्र) महिनामा पनि स्थिर वृद्धि देखिएको छ। सन् २०२४ को मार्च महिनामा १२८,००० भन्दा बढी विदेशी पर्यटकहरु नेपाल आए, तर यो सङ्ख्या सन् २०२५ मा केहि हदसम्म घटेको छ l मे र जुन (जेठ-असार) महिनामा पर्यटक सङ्ख्या घट्छ र ७६,००० देखि ९०,००० को बीचमा रहन्छ l यी सब सङ्ख्याहरूले भन्छ कि पर्यटकहरूले खुला आकाश र न्यानो मौसमलाई प्राथमिकता दिइराखेका छन्।

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जनवरी१७,५४४५५,२७४७९,१००७९,९९१९२,५७३
फेब्रुअरी२१,५५८७२,३२२९७,४२६९६,८८०१०५,४४१
मार्च४३,५०१९८,८४६१२८,१६७१२१,६८७
अप्रिल६३,०८२९८,०४९१११,३७६११६,४९०
मे५४,९६०७७,६०५९०,२११८६,२१६
जुन४७,५६७७२,४०९७६,७३६७६,४२५

Source:  Nepal Tourism Board (2022-2026)

चुरो कुरो: हरेक वर्ष जनवरीदेखि अप्रिल महिना (माघ-बैशाख) मा देखिएको पर्यटक वृद्धिसँगै व्यवसायहरूले क्षमता वृद्धिका कार्यहरू गर्नुपर्ने देखिन्छ l कुनै बेला अफ सिजनको रुपमा ब्याख्या गरिएको महिनाहरुमा पर्यटक सङ्ख्या देखिन थालेकोले व्यवसायहरूले कर्मचारी, खाद्य सामग्री र अन्य व्यवस्थापनका पाटोहरुलाई आफ्नो क्षमताअनुकुल वृद्धि गर्दै लैजानु भनेको हो l हरेक महिना गाइडहरू उपलब्ध भइराख्नु, होटेललाई हरेक महिना चुस्तदुरुस्त रुपमा संचालन गरि राख्नु अबको आवस्यकता हो l कुनै बेला अफ सिजनमा यी आवस्यकताहरु कम पर्दथे l 

श्रावण-भाद्रमा देखिएको पर्यटक चहलपहल​

कुनै समयमा सेप्टेम्बर (असोज) लाई पिक सिजनको रुपमा मान्ने गरिन्थ्यो। तर सन् २०२४ मा यो महिनामा ९६,३०५ पर्यटकहरु नेपाल आए l त्यसको एक वर्षपछि सन् २०२५ मा यो सङ्ख्या घटेर ७८,७११ पुग्यो l यस्तै अक्टोबर र नोभेम्बर महिना (कार्तिक-मंगसिर) मा पर्यटकहरुको बलियो उपस्थिति भएपनि बिस्तारै यी महिनाहरु पनि स्थिर हुँदै छ l जुलाई र अगस्ट (श्रवण-भाद्र) महिनाले फरक कथा भन्दै छ l सन् २०२५ को अगष्ट (भाद्र) महिनामा ८८,६८० पर्यटकहरु नेपाल आए, जुन २०२२ को तुलनामा दोब्बर बृद्दी हो l कुनै बेला मनसुनको समयमा पर्यटकहरू कम आउँछन् भन्ने भाष्य तयार गरेका थियौ, अब भने त्यो बिस्तारै परिवर्तन हुँदैछ। पर्यटकहरुले भिडभाड कम र थोरै खर्च लाग्ने मनसुनको समयहरूलाई विदेशी पर्यटकहरुले प्राथमिकतामा राख्न थालेका छन्। यो कुरो व्यवसायहरुले बुझ्नु पर्छ l

महिना
२०२२
२०२३
२०२४
२०२५
२०२६*
जुलाई४४,७२२५८,२३५६४,५९९७०,१९३
अगष्ट४१,५३२६७,६९४७२,७१९८८,६८०
सेप्टेम्बर५८,८४५९१,२५०९६,३०५७८,७११
अक्टोबर८९,०११११७,६४७१२४,३९३१२८,४४३
नोभेम्बर७३,४४८१०८,६१२११४,५०१११६,५५३
डिसेम्बर६८,३३७९६,९३८९२,०३४९८,१९०

Source:  Nepal Tourism Board (2022-2026)

गाठी कुरो: सन् २०२२ पछि वास्तविक पर्यटक सङ्ख्याको वृद्धि जुलाई र अगस्ट महिना (श्रावण-भाद्र) मा देखिएको छ। यी महिनाहरूमा सन् २०२२ को तुलनामा पर्यटक संख्या दोब्बरले वृद्धि भएको छ। व्यवसायहरूले यी संख्यालाई हेर्दै विविध रणनीतिहरु अपनाउनुपर्छ l माथिल्लो मुस्ताङमा रेन स्याडो ट्रेकको अवधारणा ल्याउनुहोस्। काठमाडौँ उपत्यकामा सांस्कृतिक यात्रा गराउनुहोस्। स्थानीय परिकार पकाउने कक्षाहरूमा लानुहोस्। मेडिटेसनमा जोड गर्नुहोस्। यस्ता क्रियाकलापहरु विदेशी पर्यटकहरूका लागि रोमान्चक हुन्छन् l यो संगसंगै मनसुनको समयमा पर्यटक घट्ने हुँदा छुटको अवधारणा ल्याउनुहोस्।

किन ७०% विदेशी पर्यटकहरुले हाम्रा संरक्षण क्षेत्रहरु भ्रमण गर्दैनन् ?

नेपाल आउने विदेशी पर्यटकहरूमध्ये सन् २०२२ मा ३३.४७% ले मात्र विभिन्न संरक्षण क्षेत्र र निकुञ्जहरूको भ्रमण गरे। सन् २०२३ मा सो सङ्ख्या ३०.६४% मा झर्यो। चितवनमा अलिकति वृद्धि देखिएता पनि अन्नपूर्ण र सगरमाथामा भने पर्यटक संख्या घटेको छ l यस्तै शे-फोक्सुण्डो, खप्तड र कोशी टप्पुमा पर्यटक सङ्ख्या १% भन्दा कम छ। यसले हाम्रा संरक्षण क्षेत्र र निकुञ्जहरू कति हदसम्म पर्यटकीय गन्तव्य बनेको छ प्रष्ट पार्दछ।

पर्यटकहरुको सङ्ख्या, प्रतिशतमा (सन् २०२३)

Source:  Nepal Tourism Board (2022-2026)Department of National Parks and Wildlife Conservation (2077/78-2080/81); नोट: पर्यटकहरुले नेपाल भ्रमणमा १ भन्दा धेरै ठाउँ पनि जान सक्ने भएकोले यसमा सङ्ख्या दोहोरिएको पनि हुन सक्छ l 

व्यवहारिक बुझाई: पर्यटनसँग सम्बन्धित व्यापारी र स्थानीय सरकारहरूका लागि यो सङ्ख्याले असफलताको कथा होइन कि बरु पर्यटनमा विविध उपायहरु लगाउनुपर्छ भन्ने कुरोको जानकारी हो l

ट्रेकिंग एजेन्सी र गाइडहरुका लागि: अन्नपूर्णको भिडमा होइन बरु अपि नम्पा र मकालु बरुण जस्ता ठाउँमा ट्रेकहरु लाने उपाय खोज्नुहोस् । पर्यटकहरुलाई यी ठाउँमा पाइने प्राकृतिक सामिप्यता को जानकारी दिनुहोस्।

होटेल व्यवसाय र होमस्टेहरुका लागि: हरेक कुरामा चितवनले ध्यान ओगटेको छ। तर बर्दिया र कोशीटप्पु जस्ता ठाउँहरूले शान्त सफारीको अनुभव दिन्छ। यसैले चितवनसँग यस्ता ठाउँहरूलाई जोडेर आफ्ना रणनीतिहरु बनाउनुहोस्। भिडबाट टाढा बस्न चाहने फोटोग्राफर र इको पर्यटकहरुलाई “वाइल्डलाइफ सर्किट“ प्याकेजहरू दिनुहोस्।

बजार प्रवर्द्धकहरुका लागि: काठमाडौँबाट नजिक रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा देखिएको विदेशी पर्यटक संख्याले हाम्रो असफलतालाई केही हदसम्म देखाएको छ। व्यवसायले विदेशी पर्यटकहरुलाई यहाँ ल्याउने उपायबारे सोच्नु पर्छ l

साहसिक पर्यटन: वृद्धिको सम्भावना बोकेको क्षेत्र

पोखरामा सञ्चालन भएको प्याराग्लाइडिङले नेपालमा साहसिक पर्यटनको सम्भावना छ भन्ने संदेश दिएको छ। हेरौ, प्याराग्लाइडिङका लागि आउने विदेशी पर्यटकहरूको सङ्ख्या सन् २०२२ मा ५,६६३ थियो । यो संख्या २०२३ मा ६,९९३ पुग्यो। सन् २०२४ मा आइपुग्दा दोब्बर वृद्धि सहित विदेशी पर्यटकको सङ्ख्या ११,२८३ पुग्यो l दुई वर्षको अन्तरालमा भएको ९९.२% वृद्धिदरले विदेशी पर्यटकहरूका लागि साहसिक पर्यटन अब एउटा प्रमुख आकर्षणको बिन्दु बनेको छ। कतिपय ठाउँमा ट्रेकिङ जाने विदेशी पर्यटकहरूको संख्या घटे तापनि, पोखराको आकाशमा भने भिड बढेको छ l यसले पर्यटकहरू ट्रेक सँगसँगै साहसिक पर्यटनमा पनि इच्छुक छन् भन्ने जानकारी दिएको छ।

पोखरामा साहसिक पर्यटनका लागि आउने विदेशी पर्यटकहरुको संख्या

Source:  Nepal Tourism Board (2022-2026)

​अपरेटरका लागि: उडान मात्र होइन पुरापुर अनुभवलाई आम्दानीसँग जोड्ने उपाय खोज्नुहोस्। प्याराग्लाइडिङसँगै योग रिट्रिट वा साइकिल यात्रा वा अल्ट्रा लाइट फ्लाइटको बारेमा सोच्नुहोस्। यसो गर्दा एक घण्टाको क्रियाकलापलाई केही दिनको बसाइमा परिवर्तन गर्न सकिन्छ l​

होटेलहरुका लागि:
प्याराग्लाइडिङका लागि आउने पर्यटकहरू मूलतः २० देखि ५० वर्षका हुने हुन् l यी समूहले साहसिक र विविध अनुभवका लागि खर्च पनि गर्छन्। यसर्थ फ्लाई एन्ड स्टे प्याकेज मार्फत बिहानको ब्रेकफास्ट (नेपाली परिकार) र पर्यटकहरुले गरेका आफ्नो साहसिक क्रियाकलापहरुलाई आदानप्रदान गर्न सक्ने माध्यम खोज्नुहोस्। 

बजार खोज्नेहरुका लागि:
यहाँहरूको ग्राहकलाई नै बजार प्रवर्धकको रूपमा अघि सार्नुहोस्। हरेक वर्ष आएका ११ हजार भन्दा बढी पर्यटकहरूले खिच्ने भिडियोहरुलाई एउटा क्याम्पेन मार्फत सामाजिक सञ्जालमा राख्ने व्यवस्था मिलाउनुहोस्। एउटा ह्यासट्याग सिर्जना गरेर सोहि अनुसार सामाजिक संजालमा हाल्नुहोस् । ग्राहकको अनुभवलाई नै प्रयोग गरेर आफ्नो बजारीकरण गर्नुहोस् ।

भक्तपुरको पर्यटन:  स्थिरता कि ओरालो तिर?

सन् २०२१/२२ मा भक्तपुरको दरबार स्क्वायर र यस वरपरका स्थलहरू घुम्न आउने विदेशी पर्यटकहरूको सङ्ख्या २४५,५९३ थियो। सन् २०२४/२५ मा यो सङ्ख्या घटेर २४४,८६८ पुग्यो। भक्तपुरले कोभिडपश्चात राम्रो गति लिए पनि उछालको रुपमा भने नगएको संकेत यी दुई सङ्ख्याले दिएको छ l भक्तपुर एउटा जिता जागता म्युजियम पनि भएको, काठमाडौँबाट नजिक पनि रहेको हुँदा यो सङ्ख्या स्वाभाविक पनि हो l तर, उल्लेख्य वृद्धि नहुनु भनेको अहिलेको मार्केटिङका उपायहरु र पूर्वाधारहरूले काम नगरेको संकेत गर्दछ l

भक्तपुर आउने विदेशी पर्यटकहरुको सङ्ख्या

Source:  Nepal Tourism Board (2022-2026)

साचो कुरो: धेरै पर्यटकहरू ल्याउनेभन्दा पनि होटल व्यवसायी, पसल सञ्चालक, र रेस्टुरेन्ट म्यानेजरहरूले आएका पर्यटकहरूको बसाइ र खर्च गराइ कसरी लम्ब्याउने भन्ने कुरो सोच्नुपर्छ l उदाहरणको लागि, उनीहरुले विदेशी पर्यटकहरुलाई स्थानीय होटेलमा बस्न प्रेरित गर्ने, माटोको भाडो बनाउने वर्कसपहरुमा सहभागी हुन लगाउने, वा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन लगाउने गर्नुपर्छ l पर्यटकहरुलाई यहाँ किन बस्ने त भन्ने प्रस्नको उत्तर दिन सकेमा मात्र व्यवसायहरुले आफ्नो आम्दानी बढाउन सक्छन l 

लुम्बिनीमा विदेशी पर्यटकहरुको बढ्दो आगमन

लुम्बिनीमा आउने विदेशी पर्यटकहरूको सङ्ख्या सन् २०२३ मा ४५,२९८ थियो। यो संख्या सन् २०२४ मा २२०,५८२ पुग्यो। यो भनेको ३८७%ले वृद्धि हो। यसले लुम्बिनी अब अध्यात्म र तिर्थ यात्राको लागि विश्व गन्तव्य बन्दैछ भन्ने जानकारी दिएको छ।

लुम्बिनी आउने विदेशी पर्यटकहरुको सङ्ख्या

जान्नुपर्ने कुरो:  होटेल र रेस्टुरेन्ट सञ्चालकहरूले यी पर्यटकहरुलाई ल्याउन फरक रणनीतिहरू तयार गर्नुहोस्। भारतीय तिर्थयात्रीहरुलाई काठमाडौँबाट भारत आउन जान सहज हुने प्याकेज ल्याउनुहोस् l विविध भाषाहरू बोल्न सक्ने गाइडको व्यवस्था गर्नुहोस्। गुम्बामा साँझपख पदयात्रा गर्ने बारे सोच्नुहोस् l बुद्धिस्ट कला र संस्कृति देखाउने बारे सोच्नुहोस् l यी र यस्ता साना कार्यहरुले पनि विदेशी पर्यटकहरूका लागि सुखद अनुभव प्रदान गर्न सक्छ l

नेपालमा सन् २०२६ मा आउने पर्यटक सङ्ख्या : सम्भावित तिन परिदृश्यहरु

प्रक्षेपण अनुसार नेपालले सन् २०२६ मा १२ लाख जति पर्यटकहरू भित्र्याउन सक्छ। यो संख्याको तल माथि भने १० लाख ८० हजार र १३ लाख २० हजार रहनेछ। अहिलेकै अवस्था रह्यो भने पनि यो संख्याले नेपालमा पर्यटन क्षेत्रमा वृद्धिको सम्भावना देखिन्छ l तर फेरी, विश्व परिवेश र नेपालले विदेशीहरु ल्याउन गर्ने विविध रणनीतिहरू माझ यो प्रक्षेपण भर पर्छ l

अवस्थाहरु
प्रक्षेपित पर्यटकहरु
अहिलेको अवस्थामा, ~ १२,००,०००
बढी आए भने,~ १३,२०,०००
कम आए भने,~ १०,८०,०००

नोट:  ८०% बिश्वास अन्तराल

नेपालको पर्यटन: सिक्नुपर्ने तिन विश्वव्यापी पाठहरु

सन् २०२६ मा नेपाल आउने विदेशी पर्यटकहरूको सङ्ख्या १२ लाख पुग्ने प्रक्षेपण छ l यो प्रक्षेपणसँगै जनवरी महिनामा देखिएको उल्लेख्य पर्यटक वृद्धिले नेपालको पर्यटन क्षेत्र एक तह फड्को मार्न तयार छ भन्ने सन्देश दिएको छ। अबको प्रश्न धेरै देशबाट विदेशीहरु ल्याउने भन्दा पनि आएका विदेशीहरुलाई लामो समय नेपाल राख्ने, विभिन्न ठाउँमा जाने उपाय खोज्ने, र स्थानीय समुदायहरूसँग उनीहरुलाई जोडी राख्ने उपाय खोज्ने हो l यसर्थ, नेपालले अन्य देशहरुबाट सिक्नु पर्ने केहि उदाहरणहरु:​

इटालीबाट सिक्नुहोस्:  स्थानीय वस्तुहरुलाई अनुभवमा परिणत गर्ने बारे सोच्नुहोस् l
इटालीको फ्लोरेन्स शहरले एउटा परियोजना सञ्चालन गरेको थियो। सो परियोजना “Discover the Florentine Workshops” मा पर्यटकहरूलाई फ्लोरेन्स शहरको स्थानीय संस्कृति र सभ्यता झल्कने जानकारीहरू प्रदान गरिएको थियो। पुराना कला तथा संस्कृतिहरूको बारेमा जानकारी प्रदान गरिएको थियो l परिवारहरुले संचालन गरेका व्यवसायहरुको बारेमा भनिएको थियो l पर्यटकहरूलाई त्यहाँका मानिसहरूले कसरी काम गर्छन् भनेर हेर्ने सक्ने वातावरण बनाइएको थियो l पर्यटकहरुलाई चाहिने अत्यावश्यक वस्तुहरु सोझै कृषक वा अन्य स्थानीय व्यापारीसँग किन्न सक्ने बाटो बनाइएको थियो l यस परियोजनामा व्यापार व्यवसायीहरु, पसल सञ्चालकहरु र स्थानीय संस्थाहरु आबद्ध थिए ।(https://fondazione.destinationflorence.it/en/dante-alighieri-guides-to-the-discovery-of-florentine-excellence-the-project-discover-the-florentine-workshops-kicks-off-get-to-know-the-real-florence/ 
  • भक्तपुर, पाटन र थिमी जस्तो ठाउँमा माटोको भाडा बनाउने, काठमा बुट्टा भर्ने, थाङ्का बुन्ने वा अन्य यस्तै खाले काम गर्ने व्यक्तिहरुलाई अघि सारेर सिप सिकाउने कार्यशालाहरुको योजना बनाउनुहोस् l यो कार्यशालामा पर्यटकहरुलाई यी कार्यहरु सिकाउनुहोस् l यसले उनीहरुलाई ज्वलन्त अनुभव प्रदान गर्छ l 
  • पर्यटकहरूलाई नै माटोबाट भाडा बनाउने तरिका सिकाउनुहोस् । उनले आफैले बनाएको माटोको भाडोलाई सहि आकार दिएर सोभिनारका रूपमा उसैलाई बेच्ने बारे सोच्नुहोस्। 
  • रेस्टुरेन्ट सञ्चालकहरूले पर्यटकहरूलाई स्थानीय नेवारी वा थकाली खानेकुराहरु पकाउने तरिकाको जानकारी दिन कक्षा नै सञ्चालन गर्नुहोस् । यस्ता कक्षाहरुले एकछिनको भ्रमणलाई आधी दिनमा परिणत गर्छ। यसो गर्दा नेपाली संस्कृति पनि जीवन्त रहिरहन्छ र साना व्यवसायीहरुले आम्दानी गर्न सक्छन l
कोस्टारिकामा समुदायमा आधारित पर्यटनले पर्यटकहरूको आम्दानीलाई स्थानीय परिवारहरुको प्रमुख आर्थिक स्रोत बनाएको छ । यसको ज्वलन्त उदाहरण बियोले भन्ने ग्रामीण समुदायमा महिलाले नेतृत्व गरेको ASOMOBI भन्ने कार्यक्रम हो l सो समूहले इको पर्यटनको अवधारणासँगै ला अमिस्ताद राष्ट्रिय निकुञ्ज वरपर कफी उत्पादन र पदयात्रालाई व्यवस्थापन गरेको छ। पर्यटकले खर्च गर्ने जे जति हुन्छ स्थानीय समुदायमा पुग्ने गर्छ l पर्यटन व्यवसायहरुलाई चाहिने हरेक खाले वस्तुहरू तिनै स्थानीय समुदायले दिने गर्छन् l यसो गर्दा यस कार्यक्रममा जोडिएका जो कोहीले फाइदा पाएका छन् l 
(https://amigosinternational.org/field_notes/bridgeyear-costa-rica-community-centered-change/) 
  • नेपालको सन्दर्भमा, यस्तो रणनीतिले बर्दिया, चितवन र अन्य सांस्कृतिक ठाउँहरु नजिक रहेका गाउँहरूले प्रत्यक्ष फाइदा लिन सक्छ। 
  • स्थानीय कृषकहरुले होटेलमा आफ्ना तरकारीहरु बेच्न सक्नेछन् l महिला समूहहरुले पकाउने कक्षा दिन सक्नेछन् l सामुदायिक सहकारीहरुले होमस्टेको व्यवस्थापन गर्न सक्नेछन् l
  • यो हुनु भनेको, पर्यटकहरु समुदायसंग नजिक भएर बस्नु हो l यसले, ठुला ठुला होटेलमा पर्यटकहरु जाने सम्भावनालाई कम गर्छ l
कुनै समयमा स्पेन घुम्न आउने विदेशी पर्यटकहरू केवल बार्सिलोना र मेड्रिड जाने गर्थे l यसले गर्दा अन्य ठाउँहरुले स्थान नै पाएनन् l यसलाई समाधान गर्न स्पेनले “हामी त यति मात्र होइन है” भन्ने कार्यक्रम सुरु गर्यो l सो कार्यक्रममा विदेशी पत्रकार र कलाकारहरुलाई ल्याएर स्पेनका साना गाउँहरूको बारेमा जानकारी प्रदान गरियो l त्यहाँका कृषकहरुले कसरी काम गर्छन् भन्ने कुरो देखाइयो l विभिन्न परिकारहरुको बारेमा जानकारी दिइयो र प्रकृतिसँग नजिक रहेर पदयात्रा गर्ने स्थानहरुको बारेमा देखाईयो l यी सब कार्यहरुपश्चात विदेशी पर्यटकहरु अहिले ती गाउँहरु पुग्ने गरेका छन् l
(https://www.tourspain.es/en/b2b/letter-general-manager-turespana-june/) 
  • नेपालमा पनि तानसेन, बन्दीपुर र खोप्रा जस्ता ठाउँमा भएका होमस्टे संचालक, चिया पसले र साना रेस्टुरेन्टवालाहरुले ट्राभल एजेन्सीहरुसंग सहकार्य गरेर यस्तै खाले रणनीतिहरु बनाउन कोशिश गर्नुहोस् l  
  • स्थानीय संस्कृति - चाहे त्यो भाडा बनाउने होस्, वा परिकार होस्, वा गाउँघरमा भ्रमण गर्ने होस् - यस्ता रणनीतिहरुले "वास्तविक नेपाल" हेर्न चाहने पर्यटकहरुलाई सजिलै आकर्षित गर्ने हुँदा यता तिर ध्यान दिनुहोस् l

DHN Admin 18 फेब्रुअरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
सीमापारको यात्रा: भारतीय पर्यटकहरुको नेपाल यात्रा l डाटामा आधारित विश्लेषण
Data Insight