896
सागरमाथा राष्ट्रिय निकुञ्ज: तथ्यांक र व्यवसायिक योजना
Data Insight

सगरमाथा राष्ट्रिय निकुञ्ज अब नयाँ युगमा प्रवेश गरेको छ । सबैभन्दा अग्लो हिमाल सगरमाथा रहेको यो क्षेत्रमा पर्यटक संख्या हरेक वर्ष बढ्दो छ l तीन वर्षमै पर्यटक संख्या ११,१११ बाट बढेर ६०,८३१ पुगेको छ । सन् २०२४ को ६ महिनामा यहाँ आउने पर्यटकहरुको सङ्ख्या ६५,९२८ पुगीसकेको छ l यसले नेपाली र विदेशी पर्यटकहरुमाझ सगरमाथाको लोकप्रियता देखाएको छ l 

यहाँका प्रत्येक लज सञ्चालक, गाइड र व्यवसायीका लागि यो केवल अंक होइन । यो त सम्भावना हो l यसले ठूलो अवसर दिएको छ l तर संगसंगै एउटा प्रश्न पनि उठाएको छ, - के यहाँको व्यवसाय पर्यटकको ब्यस्त संख्यालाई सम्हाल्न सक्षम छ ?

शहर केन्द्रित पर्यटनभन्दा सगरमाथा क्षेत्रको पर्यटन अलिक फरक छ l पदयात्रीहरुले हरेक गाउँहरु हिड्नु पर्छ l प्रत्येक ८–१५ किलोमिटरको दूरीमा उनीहरू रोकिएर खान, सुत्न, र mobile हरु चार्ज गर्न रोकिनुपर्छ l यसले गर्दा हरेक ठाउँमा अर्थोबजार स्थापित गरेको छ l चाहे त्यो लुक्ला होस् वा नाम्चे बजार, तेङ्बोचे वा दिङ्बोचे होस् l यहाँको व्यवसायले पर्यटक होइन, उनले गर्ने खर्चमा प्रतिस्पर्धामा गरिरहेको हुन्छ l

कोभिड महामारी देखि हालको वृद्धिसम्म:  सगरमाथाको कथा 

सगरमाथामा देखिएको पर्यटकको वृद्धिको मुख्य कारण विदेशी पर्यटक हुन् । नेपाली र सार्क पर्यटकको संख्या पनि क्रमशः बढिरहेको छ l तर विदेशी पर्यटकको संख्या भने असाधारण रूपमा बढेको छ। सन् २०२१ मा जम्मा पर्यटकको आधा हिस्सा रहेको विदेशी पर्यटकको हिस्सा आज झन्डै ९०% भन्दा बढी पुगेको छ l यी विदेशी पर्यटकहरुको आवस्यकता अरु खाले पर्यटक भन्दा भिन्न छ l सफल व्यवसाय गर्ने जो कोहिले यो बुझ्नु जरुरी छ l

वर्ष
नेपाली 
सार्क
विदेशी
जम्मा
२०२१३,६९५१,८५४५,५६२११,१११
२०२२६,०६०४,७१५३४,५९१४५,३६६
२०२३७,०२३७,०१३४६,७९५६०,८३१
२०२४*४,१३५३,६९१५८,१०२६५,९२८

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81); * - Only 6 months available

मुख्य कुरो: यहाँले आफ्नो व्यवसायको मुख्य पृष्ठमा विदेशी पर्यटकहरुलाई राख्नुपर्छ । उनीहरूलाई चाहिने मुख्य कुरा भनेकै भरपर्दो इन्टरनेट, तातो पानीको सुविधा, आरामदायी सुताई र राम्रो व्यवहार हो। यहाले कायम गरेको भाडादर, खाना–मेनु र अनलाइन उपस्थिति यिनै पर्यटकहरुलाई ध्यानमा राखेर मिलाउनुहोस् । अन्तर्राष्ट्रिय ट्राभल प्लेटफर्म र रिभ्यु साइटमा यहाँको उपस्थिति छैन भने, आजै जोडिनुहोस् l यी खाले पर्यटकहरुले त्यस्ता संजालमार्फत होटेलहरु खोजेका हुन्छन l ​

यहाँको व्यवसायिक सिजनको दुईटा चक्र छ: एक कमाइ, दुइ तयारी

नेपाली पर्यटकहरुको चहलपहलले मुख्य ट्रेकिङ सिजनमा व्यवसायलाई थप सन्तुलित बनाएको छ l विदेशी पर्यटक नहुँदा यी पर्यटकहरूले व्यापार व्यवसायलाई आम्दानी गर्ने बाटो सिर्जना गरिदिएको छ l नेपाली पर्यटकहरु चैत्र-बैशाख र असोज-कार्तिकको महिना पारेर यो ठाउमा आउने गर्दछन् l
 
नेपाली पर्यटकहरुको संख्या विदेशी पर्यटकहरुको जस्तो नभए पनि हरेक महिना केहि न केहि नेपालीहरु यहाँ आएका नै हुन्छन l यसले देखाउँछ कि नेपालीहरु पनि घुम्न मन पराउदछन् l यसर्थ, यिनले लजहरुलाई नियमित खोलि राख्ने बाटो बनाईदिएका छन् l

मासिक नेपाली पर्यटक संख्या, २०२३

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

याद राख्नुपर्ने:  नेपाली पर्यटकलाई आधार बनाएर आफ्नो आम्दानीलाई स्थिर बनाई राख्नुहोस्। पौष-माघ, असार-श्रावण जस्ता महिनामा नेपाली पर्यटकहरुका लागि सस्तो र सजिलो प्याकेज बनाउनुहोस् । यस्तो प्याकेजले यहाँको व्यवसाय हरेक महिना खुली राख्ने सम्भावना बढी हुन्छ l यो हुनु भनेको यहाँको कर्मचारीलाई बाह्र महिना नै टिकाई राख्नु पनि हो l सकिन्छ भने, यहाँले दिनु भएको प्याकेजहरुलाई फेसबुक र ट्राभल पेजहरुमार्फत प्रचारप्रसार गर्नुहोस् l

विदेशी पर्यटक:  ६ महिने बजार 

विदेशी पर्यटकको संख्याले एउटा निश्चित ढांचा दिएको छ l आउने कुल पर्यटकहरुमद्धे ८५% पर्यटकहरु चैत्र-बैशाख, र असोज-कार्तिकमा बढी आउने गर्दछन् l अर्थात्, विदेशी पर्यटकको घुइचो लाग्ने भनेको वर्षको छ महिना जति हो l

सन् २०२३ को मार्च र अप्रिल महिना, जुन नेपाली क्यालेन्डरअनुसार चैत्र वैशाख पर्छ, यी महिनामा १७,००० भन्दा बढी पर्यटकहरू यो निकुञ्जमा आएका थिए। सोही वर्षको ज्यानवरी र जुलाई (माघ, श्रावण) मा केही सय पर्यटकहरु मात्रै यहाँ आएका थिए। यसरी हेर्दा, धेरै र थोरै आउने महिनामा पर्यटकहरुको अनुपात २१:१ छ l

मासिक विदेशी पर्यटक संख्या, २०२३


Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

गाठी कुरो:  यहाँले दुई फरक तरिकाको व्यवसायिक योजना बनाउनुपर्छ l यहाँको व्यवसाय छ महिनासम्म पूर्ण क्षमतामा चल्छ । यो समयमा विदेशी पर्यटकको भीड हुन्छ, त्यसैले राम्रो सेवा र बढी मूल्य दिने ग्राहकमा यहाले विशेष ध्यान दिनुपर्छ । बाँकी छ महिनाको लागि यहाँले बेग्लै योजना बनाउनुपर्छ l पर्यटक संख्या घट्ने हुनाले सोहि अनुसार कर्मचारीको आकार सानो बनाउने, लजका केही सेवाहरु बन्द गर्ने, मर्मतसम्भार गर्ने तिर लाग्नुपर्छ l यो बेला सानो तर स्थिर नेपाली तथा सार्क बजारलाई लक्षित गरेर यहाले योजना बनाउनु पर्छ l अझ भन्नुपर्दा, वर्षभरि नै ब्यस्त महिना जस्तै गरि खर्चिलो व्यवसाय चलाउने सोचबाट टाढा रहनुपर्छ l

वार्षिक पर्यटकलाई चार भागमा बुझ्नुहोस्

यो क्षेत्रमा आउने वार्षिक पर्यटकलाई चार भागमा बुझ्ने कोशिश गरौ l चैत्र-बैशाख र असोज-कार्तिक भनेको मुख्य र ब्यस्त हुने समय हो l यो महिनामा यहाँले वास्तविक नाफा कमाउने हो l वर्षभरि आउने करिब ७०% पर्यटक यही समयमा आउँछन् । यसपछि ब्यस्त हुने समय भनेको जेठ र मंगसिर हो l यी दुइ महिनामा करिब १३% पर्यटकहरु आउछन् l यस्तै, असार-भाद्रमा करिब ११% जति आउदछन् भने जाडोको पौष-फाल्गुणमा बाकी ३% पर्यटकहरु यहाँ आउदछन् l

मासिक कुल पर्यटक संख्या, २०२३

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

बुझ्नु पर्ने:  वर्ष भरि एकै रणनीति बनाएर काम नगर्नुहोस् l हरेक सिजनका लागि फरक–फरक गरी कम्तीमा चारवटा योजना बनाउनुहोस् l असोज महिनाको योजनालाई जाडो महिना भन्दा फरक रुपमा लानुहोस् l यस्तै, बैशाखको योजनालाई भाद्र भन्दा फरक बनाउनुहोस् l ब्यस्त महिनामा हुने आम्दानीले बर्ष भरि चल्न सक्ने बाटो खोज्नुहोस् l कम पर्यटक भएको समयमा आफ्नो व्यवसायको मर्मतसम्भार लगायत जे जति पर्यटक त्यहाँ आउदछन्, तिनलाई सेवा दिनुहोस् l

सगरमाथा आरोहण:  स्थिर हुदै गएको बजार 

कोभिड महामारीपछि एकाएक बढेको सगरमाथा आरोहणको लहर स्थिर बन्दै गएको छ। सन् २०२२ देखि २०२३ सम्म सगरमाथा आरोहण गर्ने संख्या बढे पनि सन् २०२४ मा यो संख्या ४२२ मा झरेको छ । सन् २०२३ मा यो संख्या ४७८ थियो l यसबाट पहिले जस्तो एक्कासी आरोही बढ्ने सम्भावना कम हुदै गएको हो कि भन्ने संदेश दिएको छ l

सगरमाथा आरोहण गर्ने पर्यटक संख्या

Source:  Department of National Parks and Wildlife Conservation (2077/78-2080/81)

यसरी पो सोच्ने कि: सगरमाथा आरोहणमा संख्या होइन गुणस्तर खोज्ने बेला भएको छ l यसो भनिरहदा र आरोहण गर्ने पर्यटक संख्या स्थिर हुदा, यी पर्यटकलाई सेवा दिन बसेका व्यवसायीहरु बीच अब तिब्र प्रतिस्पर्धा निश्चित छ l यसकारण, यहाँको सफलता कति पर्यटकले आरोहणको परमिट लिए भन्नेमा होइन, यहाँले कतिलाई गुणस्तरीय सेवा दिनु भयो भन्ने कुरोमा भर पर्छ l यसैले धेरै हिमाल आरोहण गर्न खोज्ने पर्यटक तान्ने भन्दा पनि, उच्च मूल्य तिर्न तयार हुने पर्यटकहरुलाई आकर्षित गर्ने योजना यहाँले बनाउनुपर्छ l

सगरमाथाको अर्थतन्त्र:  लगानीका लागि मार्गदर्शन

तथ्यांकले स्पष्ट देखाउँछ - सगरमाथामा पर्यटकको संख्या निरन्तर बढी रहेको छ l तर यो वृद्धिसंगै यहाँले सही निर्णय लिनुपर्ने बेला आएको छ। केवल लज वा एजेन्सी खोल्नु मात्र अब पर्याप्त छैन । वास्तविक अवसर लिन र लामो समयसम्म आफ्नो व्यवसायलाई टिकाई राख्ने हो भने यहाँले सोचेर, सहि ठाउमा लगानी गर्न सक्नुपर्छ l 

  • मुख्य स्थानमा राम्रो सुविधा: टेङ्बोचे, डिङ्बोचे, लोबुचे जस्ता भीड हुने ठाउँमा कोठा भित्रै बाथरूम र भरपर्दो तातो पानी राख्नु नै सबैभन्दा राम्रो लगानी हो ।
  • तातो कोठा र विजुली अनिवार्य: तातो पानी, हिटिङ प्रणाली, र बिजुली अब विलासिता होइन, आवस्यकता हो l न्यानो डाइनिङ हल र मोबाइल चार्ज गर्न मिल्ने सुविधा दिने तिर लाग्नुस् l यस्ता कार्यले राम्रो रिभ्यु दिन्छ र थप पर्यटक आकर्षित हुन्छ l
  • भरपर्दो इन्टरनेट: बलियो स्याटेलाइट र वाईफाईमा लगानी गर्नु भनेको प्रत्यक्ष रूपमा मार्केटिङ गर्नु हो l
  • अनलाइन बुकिङ प्रणाली: आफ्नै वेबसाइट वा सामाजिक सञ्जालमार्फत सजिलो संग अनलाइन बुकिङ गर्ने बाटो खोज्नुस l यसो भएमा, पर्यटकहरुले महिनौँ अघि यात्राको योजना बनाउन सक्छन l
  • भान्साघर र मेनुमा सुधार: गुणस्तरीय भान्साघरमार्फत सफा, छरितो र विविध नेपाली र विदेशी परिकारले विदेशी पर्यटकहरुको सन्तुष्टि बढाउँदछ l यसो हुँदा, खानाबाट हुने नाफा पनि बढ्न जान्छ l
  • पोर्टरका लागि छुट्टै व्यवस्था: पोर्टरका लागि छुट्टै तर सफा, न्यानो र सुरक्षित आवास बनाउनुस l यसो गर्दा, उल्लेख्य बजार समाउने सम्भावना पनि हुन्छ l
  • स्थिर बजारमा नया निर्माण: नाम्चे जस्तो पर्यटकले भरिभराउ हुने ठाउँमा नया निर्माण गर्नु जोखिम हुन सक्छ। प्रतिस्पर्धा कडा छ, जमिन महँगो पर्छ, र छुट्टै देखिन विशेष रणनीति ल्याउनुपर्छ l यसो गर्न सकिएन भने फसिने डर हुन्छ l
  • बजारले तिर्न नसक्ने विलासितामा लगानी: आफूलाई नै महँगो बनाएर बजारबाट बाहिर नठेल्नुहोस् l सुविधामा सुधार गर्दा फाइदा नै हुन्छ, तर ट्रेकरको बजेटसँग नमिल्ने जस्तै: एसीमा लगानी गर्दा राम्रो प्रतिफल नआउन सक्छ ।  
  • एउटै देशका ग्राहकमा भर पर्नु: एकै देशलाई मात्र लक्षित गरेर मार्केटिङ नगर्नुस l यदि यहाँका ८०% ग्राहक एक–दुई देशबाट मात्रै आउदछन् भने ती देशसंग सम्बन्धित यात्रा वा आर्थिक पाटोमा केहि परिवर्तन हुदाँ यहाँको व्यवसायमा असर पार्दछ l  
  • वातावरणीय पक्षको बेवास्ता गर्नु:  वातावरणमैत्री अभ्यास अब खर्च होइन, बलियो बिक्री बिन्दु बानी सकेको छ l आजका पर्यटकहरुले यो पाटोलाई खोज्न थालीसकेका छन् l
  • कर्मचारीको क्षमता अभिवृद्धिमा ध्यान नदिनु:  यहाँका कर्मचारी नै यहाँको पहिलो चिनारी हुन् । यसर्थ, तालिममार्फत पर्यटकसंगको सहकार्यलाई राम्रो बनाउनुहोस् l यसो भएमा, पर्यटकहरुले राम्रो रिभ्यु दिनेछन् र व्यवसायमा सहज हुनेछ l 
  • रणनीतिक फाइदा नभएको टाढाको ठाउँमा नया निर्माण:  व्यवसाय निर्माणमा ठाउँको ठुलो भूमिका हुन्छ l यसर्थ, मुख्य ट्रेकिङ रुट भन्दा बाहिर वा गाउँ वस्ती नभएको ठाउँमा नया व्यवसाय निर्माण गर्दा पटक पटक सोच्नु पर्छ l
  • सस्तो मूल्य दिएर प्रतिस्पर्धा गर्न खोज्नु:  सस्तो मूल्यले धेरै बजेट–केन्द्रित पर्यटक तान्छ, जसले अतिरिक्त सेवा खासै लिँदैनन् । यसले नाफा घटाउँछ, पुनःलगानी गर्ने सम्भावना कम गराउदछ l
  • अनलाइन रिभ्युलाई बेवास्ता गर्नु:  आजको समयमा यहाँको छवि अनलाइन रिभ्युमा जोडिएको छ l ९०% भन्दा बढी विदेशी पर्यटकहरु बुकिङ गर्नु अघि अनलाइनमा रिभ्यु हेर्छन l राम्रो वा नराम्रो दुवै रिभ्युलाई प्रतिक्रिया नदिनु, वा अनलाइन उपस्थिति नै नहुनु भनेको खराब सेवा र अविश्वसनीयता देखाउनु हो ।
  • स्पष्ट बजार नभएका, ट्रेकिङसँग असम्बन्धित व्यवसाय: यहाँको अर्थतन्त्र ट्रेकिङ र पर्वतारोहणमै आधारित छ । ट्रेकर, पोर्टर वा गाइडको आवश्यकता नसमेटिने व्यवसाय गर्दा २/४ पटक सोच्नुपर्छ l 

भोलिको योजना:  तथ्यांक हेरेर निर्णय गर्नुहोस्

हाल देखिएको वृद्धि उत्साहजनक भए पनि, यसले भविष्यको ग्यारेन्टी भने गर्दैन। तथ्यांकले बलियो गति देखाउँछ, तर योजना भने जहिले पनि अगाडीको अवस्था हेरेर बनाउनुपर्छ, पछाडि हेरेर होइन ।

अवस्था
प्रक्षेपित पर्यटक
अहिलेको अवस्थामा~१३२,०००
बढी आए भने~१४८,०००
कम आए भने~११८,०००

Note:  80% Confidence Interval

महत्वपूर्ण जानकारी: यी संख्यालाई योजना बनाउने आधारका रूपमा लिनुहोस् l भू-नीति, विश्व अर्थतन्त्र वा स्थानीय घटनाक्रमका कारण पर्यटनको अवस्था फेरिन सक्छ।

सगरमाथामा सफलताको शूत्र

  • प्रिमियम विदेशी पर्यटकहरुलाई तान्नुहोस्: यिनीहरु यहाँका मुख्य आम्दानीका स्रोत हुन् l यसर्थ, तातो पानी, भरपर्दो वाईफाई, आरामदायी कोठामार्फत यी पर्यटकहरुलाई आकर्षित गर्नुस l 
  • छ महिनाको समयलाई योजनाबद्ध रुपमा उपयोग गर्नुहोस्: यहाँको व्यवसाय दुई मुख्य सिजनमा भर पर्दछ l यी महिनामा फरक फरक मुल्य निर्धारण गर्नुहोस् l चुस्त दुरुस्त सेवा दिनुहोस् l अफ–सिजनमा खर्च कटौती गर्नुहोस् l यस्तो खाले योजनालाई यहाँको व्यवसायिक पात्रो बनाउनुहोस् l 
  • नयाँ भवनभन्दा सुविधा विस्तारमा लगानी गर्नुहोस्: विदेशी पर्यटकहरुका लागि पुरानै सेवा सुधार गर्दा बढी फाइदाजनक हुन्छ। हिटिङ, तातो पानी र इन्टरनेट जस्ता सुविधाले पर्यटकको अनुभवमा सुधार ल्याऊदछ l यो सुधार महँगो निर्माणभन्दा बहुमुल्य हुन्छ l 
  • वर्षभरि टिक्ने मोडेल बनाउनुहोस्: नेपाली र सार्क पर्यटकहरुको सेवामार्फत वर्षभरि पर्यटक आइराख्ने वातावरण बनाउनुहोस् l यी समूहका लागि सस्तो र सरल अफर ल्याउनुहोस् l अफ–सिजनमा मर्मतसम्भार र नया रणनीति निर्माणमा लगाउनुहोस् l 
  • आफ्नो नाम–प्रतिष्ठालाई जोगाई राख्नुहोस्: डिजिटल युगमा अनलाइन रिभ्यु नै यहाँको सबैभन्दा ठूलो प्रचार सामग्री हो। यसैले, सक्रिय रूपमा आफ्नो उपस्थिति देखाउनुहोस् l हरेक पर्यटकसंग प्रतिक्रिया लिनुहोस् l उत्कृष्ट सेवामार्फत सबैभन्दा राम्रो मार्केटिङ गर्नुहोस् ।

DHN Admin 22 जनवरी, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
हाम्रा ब्लगहरु
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
मनास्लु ट्रेकिंगको व्यवसाय: यात्रु र सञ्चालकहरूको लागि डाटा मार्गदर्शन
Data Insight