1533
अण्डाको बोक्रा नफाल्नुहोस् ! यसरी बनाउन सकिन्छ मल र लाखौंको व्यवसाय
Data Insight

अण्डा खाएपछि हामी प्रायः बोक्रालाई फोहोरमा फालिदिन्छौं। तर यो सामान्य फोहोरलाई राम्रोसँग सुकाएर, पिसेर पाउडर बनाइदिएपछि यो प्राकृतिक क्याल्सियमको उत्कृष्ट स्रोत बन्न सक्छ। अण्डाको पाउडरबाट के के हुन्छ, एकचोटी हेरौ l

बगैंचाको लागि हुने मल: अण्डाको बोक्रा पाउडरमा ९५ प्रतिशत क्याल्सियम कार्बोनेट हुन्छ। यो तत्व बिरुवाको जरा, डाँठ, र पातलाई बलियो बनाउन अत्यावश्यक हुन्छ। विशेषगरी गोलभेडा/टमाटर, खुर्सानी, भन्टा/बैंगनमा लाग्ने फूलको टुप्पो सड्ने रोग (Blossom End Rot) रोक्न यसले प्रभावकारी भूमिका खेल्छ।

घरेलु प्रयोग: यो पाउडरले भाँडाकुँडा सफा गर्ने प्राकृतिक स्क्रबरको रूपमा पनि काम गर्छ। यसलाई कुकुर, चरा, कुखुरा जस्ता घरपालुवा जनावरको खानामा मिसाइदिएपछि यसले हड्डी बलियो बनाउन मद्दत पुर्याउँछ। केही मानिसहरूले यसलाई कफी वा खानामा मिसाएर प्राकृतिक क्याल्सियम सप्लिमेन्टको रूपमा पनि प्रयोग गर्छन्।

अर्थात्, हामीले फाल्ने बोक्रा नै सही प्रक्रिया अपनायौं भने मल, घरेलु सामग्री, र पशुपालनका लागि उपयोगी उत्पादन बन्न सक्छ। यही कुरालाई व्यवसायको रूपमा पनि विकास गर्न सकिन्छ।

अण्डाको बोक्रा पाउडर: विश्वव्यापी रूपमा फैलिँदै गरेको व्यवसाय

अण्डाको बोक्रा पाउडर अब केवल घरेलु बगैंचाको मल वा सानो घरेलु उद्यमको विषय मात्र रहेन । विश्वभर यो एउटा बहु-उद्योग को रूपमा विकसित हुँदै गइरहेको छ। जैविक खेतीको बढ्दो प्रचलन, रासायनिक मलको विकल्प खोज्ने किसानहरूको संख्या, र फोहोर व्यवस्थापनको चुनौतीलाई स्रोतमा रूपान्तरण गर्ने विश्वव्यापी सोचले यस उद्योगलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ।

युरोप, उत्तर अमेरिका, र एसियाका विकसित मुलुकहरूमा अण्डाको बोक्रा पाउडरको माग दोब्बर गतिमा बढिरहेको छ। युरोपेली बजारमा मात्र यसको मूल्य प्रति किलोग्राम ५ देखि १५ युरो सम्म पुगिसकेको छ। यो एउटा साधारण फोहोरले विश्व बजारमा कसरी उच्च मूल्य प्राप्त गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो। नेपाल जस्तो मुलुकमा यो कच्चा पदार्थ सजिलै उपलब्ध र श्रम लागत कम भएकोले, यो व्यवसाय नेपाली उद्यमीहरूका लागि निर्यातको ठूलो अवसर बन्न सक्छ।

विवरण
तथ्यांक/अवस्था
विश्व बजार आकार (२०२४)
~ USD ६४.३२ अर्ब
प्रक्षेपित वृद्धि दर (CAGR)
९.९१% (२०२५–२०३५)
प्रमुख उपयोग क्षेत्र
न्युट्रास्युटिकल्स, कस्मेटिक्स
प्रमुख बजार क्षेत्र
उत्तर अमेरिका, एसिया-प्रशान्त
स्रोत:  Market Research Future; Reports and Markets
बुझ्नु पर्ने कुरो: अण्डाको बोक्रा पाउडरको विश्वव्यापी बजार द्रुत गतिमा विस्तार भइरहेको छ। यसको मुख्य कारणहरू हुन्:​
  • जैविक खेतीको विस्तार:  रासायनिक मलको विकल्प खोज्ने किसानहरूका लागि अण्डाको बोक्रा पाउडर प्राकृतिक र प्रभावकारी विकल्प बन्दै गइरहेको छ।
  • सर्कुलर इकोनोमी (फोहोरबाट सम्पत्ति): अण्डाको बोक्रालाई मूल्यवान् उत्पादनमा रूपान्तरण गर्ने यो मोडेललाई युरोपेली संघ (EU) लगायतका निकायहरूले अनुदान र प्रोत्साहनमार्फत सहयोग गरिरहेका छन्।
  • उच्च मूल्यको न्युट्रास्युटिकल्स बजार: अण्डाको बोक्राबाट निकालिने क्याल्सियम र कोलेजन (झिल्ली) को माग पूरक आहार (supplements) र कस्मेटिक्स उद्योगमा तीव्र रूपमा बढिरहेको छ।

अण्डाको बोक्रा पाउडर: कसरी बनाउने?

अण्डाको बोक्रा पाउडर बनाउने प्रक्रिया सरल, कम लागतको, र घरमै सुरु गर्न सकिने खालको छ। तर, गुणस्तरीय पाउडर बनाउनको लागि सरसफाइ, सुकाउने तरिका, र पिसाइको सही प्रक्रिया अपनाउनु अत्यावश्यक हुन्छ। तलको तालिकामा पाँचवटा मुख्य चरणहरू प्रस्तुत गरिएको छ, जसलाई सानो स्तरदेखि व्यावसायिक स्तरसम्म लागू गर्न सकिन्छ।

संकलन: अण्डाको बोक्रा तुरुन्तै धोएर राख्नुपर्छ। लामो समयसम्म फोहोरमा राखियो भने दुर्गन्ध आउन थाल्छ र ब्याक्टेरिया बढ्न सक्छ। होटल, बेकरी, चिया पसलहरूमा दैनिक ठूलो मात्रामा बोक्रा उपलब्ध हुन्छ। उनीहरूसँग सहकार्य गरी नियमित संकलनको व्यवस्था मिलाउन सकिन्छ।

सरसफाइ र स्टेरिलाइजेसन: अण्डाको बोक्रामा Salmonella वा अन्य हानिकारक ब्याक्टेरिया हुन सक्छ। उमाल्ने पानीले यी ब्याक्टेरिया नष्ट गर्छ र उत्पादन सुरक्षित बनाउँछ।

  • घरेलु विधि: बोक्रालाई भाँडामा हालेर उमाल्नुहोस्, ५–१० मिनेट राख्नुहोस्, अनि पानी फाली सुकाउनुहोस्।
  • व्यावसायिक विधि: औद्योगिक स्टेरिलाइजरमा १२१°C मा १५–२० मिनेट।

सुकाउने: बोक्रामा नमी भयो भने पाउडर बनाउँदा ढुशी लाग्न सक्छ र लामो समय टिक्दैन।

  • घरेलु विधि: घाममा २–३ दिन। वर्षायाममा ओभनमा ९०–१००°C मा ३०–४५ मिनेट सुकाउन सकिन्छ।
  • व्यावसायिक विधि: ट्रे ड्रायर वा रोटरी ड्रायरमा ८०–१००°C मा २–४ घण्टा।

पिसाइ: मसिनो पाउडर बिरुवाको माटोमा मिसिँदा चाँडो घुल्ने र जराले सजिलै शोषण गर्छ। ठूला टुक्रा वर्षौंसम्म नघुलीकन रहन सक्छन्।

  • घरेलु विधि: मिक्सर वा कफी ग्राइन्डरले १–२ मिनेट पिस्नुहोस्। चल्नीले छानेर ठूला टुक्रा फेरि पिस्नुहोस्।
  • व्यावसायिक विधि: ह्यामर मिल वा बल मिलले एकैपटक ठूलो मात्रा मसिनो पाउडर बनाउन सकिन्छ। पिसाइ पछि १००–२०० माइक्रोन (मेस १००–२००) को चल्नीले छान्ने।

भण्डारण: पाउडरले हावाको नमी सोस्यो भने गल्न थाल्छ, ढिलो हुन थाल्छ, र ढुसी लाग्न सक्छ।

  • घरेलु विधि: एयरटाइट काँचको जार वा प्लास्टिक कन्टेनर। चिसो, अँध्यारो ठाउँमा राख्ने।
  • व्यावसायिक विधि: भ्याकुम सिल गरिएको प्लास्टिक प्याकेट, सिलिका जेल प्याकेटसहित। लेबलमा उत्पादन मिति, म्याद, प्रयोग विधि, र पोषण तत्व उल्लेख गर्ने l

व्यावसायिक स्तरको उत्पादन: लागत, क्षमता र प्रतिफल

अण्डाको बोक्रा पाउडरको व्यवसाय सानो स्तरबाट सुरु गरी व्यावसायिक स्तरसम्म विस्तार गर्न सकिन्छ। भारतको प्रख्यात परियोजना परामर्श संस्था NIIR Project Consultancy Services (NPCS) ले तयार गरेको व्यवसाय योजना अनुसार, प्रतिदिन २ मेट्रिक टन (२,००० किलो) पाउडर उत्पादन गर्न सक्ने मध्यम स्तरको उद्योगको लागत र प्रतिफलको विवरण तल प्रस्तुत गरिएको छ।

विवरण
अनुमानित लगानी (ने रु.मा)
उत्पादन क्षमता
२ मेट्रिक टन / दिन
प्लान्ट र मेसिनरी लागत
ने रु. १७.६० लाख
पुँजीगत खर्च (Working Capital)
ने रु. ०
प्रतिफल दर
३०.०%
घाटाको बिन्दु
७९.०%
कुल लागत
ने रु. ६७.२ लाख
स्रोत:  Entrepreneur India

लगानी र प्रतिफल विश्लेषण

लगानी र प्रतिफलसंग सम्बन्धित हरेक पाटोलाई एकचोटी हेरौ l

  • कुल लागत (ने रु. ६७.२० लाख): यो रकम मध्यम स्तरको उद्योग स्थापनाका लागि उचित मानिन्छ। यसमा प्लान्ट र मेसिनरी (रु. १७.६० लाख) देखि भवन, भण्डारण, प्याकेजिङ्ग, र अन्य पूर्वाधारसम्मको लागत समावेश छ।
  • प्रतिफल दर (३०.०%): यसको अर्थ लगानी गरेको रकमको ३०% वार्षिक नाफाको रूपमा प्राप्त गर्न सकिन्छ।
  • घाटाको बिन्दु (७९.०%): उद्योगले आफ्नो क्षमताको ७९% मा सञ्चालन गरेपछि मात्र नाफा कमाउन सुरु गर्छ। यसको अर्थ उत्पादन क्षमताको ७९% भन्दा कम सञ्चालन गर्दा घाटा हुन सक्छ। त्यसैले, बजारको माग र उत्पादनको नियमिततामा विशेष ध्यान दिनुपर्छ।
  • पुँजीगत खर्च (ने रु. ०): कच्चा पदार्थ (बोक्रा) सजिलै र न्यून लागतमा उपलब्ध हुने, र उत्पादन बिक्रीको चक्र छोटो हुने अपेक्षा गरिएको छ। यद्यपि, व्यवसाय सुरु गर्दा केही मात्रामा कार्यशील पुँजी आवश्यक पर्न सक्छ।
बिशेष अनुरोध:  वास्तविक लागत नेपालको स्थानीय बजार, उपकरणको आयात मूल्य, भवन भाडा वा खरिद लागत, श्रमिकको पारिश्रमिक, र ऊर्जा खर्चका आधारमा फरक हुन सक्छ। उद्यम सुरु गर्नुअघि विस्तृत व्यवसाय योजना (business plan) र सम्भाव्यता अध्ययन (feasibility study) गर्न अनिवार्य छ।

अण्डाको बोक्रा पाउडर व्यवसाय: जोखिम र न्यूनीकरणका उपायहरू

कुनै पनि व्यवसायमा जोखिम हुन्छ। अण्डाको बोक्रा पाउडरको व्यवसाय पनि यसबाट अलग छैन। तर यी जोखिमहरूलाई पहिचान गरी उचित न्यूनीकरणको उपाय अपनाउन सकियो भने व्यवसायलाई सुरक्षित, दिगो र सफल बनाउन सकिन्छ। तल मुख्य जोखिमहरू र तिनको समाधान प्रस्तुत गरिएको छ:

कच्चा पदार्थ आपूर्तिमा अवरोध: होटल, बेकरी, चिया पसलहरू बन्द हुँदा वा स्रोतले बोक्रा दिन बन्द गर्दा आपूर्ति प्रभावित हुन सक्छ।

  • कम्तीमा १०–१५ फरक व्यक्ति वा समुहहरुसंग बोक्राको लागि समन्वय र सम्झौता गर्ने l धेरै उपलब्ध हुँदा सुकाएर भण्डारण गर्ने l

स्वच्छता र सुरक्षा जोखिम (ब्याक्टेरिया, ढुसी): अण्डाको बोक्रामा Salmonella जस्ता ब्याक्टेरिया हुन सक्छ। उत्पादनमा नमी भयो भने ढुसी लाग्न सक्छ, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याउँछ।

  • बोक्रालाई पानीमा ५–१० मिनेट उमाल्ने वा ओभनमा १२०°C मा स्टेरिलाइज गर्ने l पूर्ण रूपमा सुकाउने (नमी ५% भन्दा कम सुनिस्चित गर्ने) l हावा छिर्न नसक्ने गरि प्याकेजिङ्ग गर्ने l ठूलो स्तरमा नियमित प्रयोगशाला परीक्षण गर्ने l

बजार र मागको जोखिम: नेपाली बजारमा यो उत्पादन नौलो भएकाले ग्राहकले नचिन्ने, प्रयोग विधि नजान्ने, वा माग नहुने सम्भावना।

  • सानो परिमाणबाट सुरु गरी बजारको प्रतिक्रिया बुझ्ने l उत्पादनसँगै प्रयोग विधिको बारेमा जानकारी दिने वा QR कोड (भिडियो लिंक) राख्ने l नर्सरी, किसान समूह, कृषि सहकारीहरूमा नमूना वितरण र प्रशिक्षण गर्ने l सामाजिक सन्जालमा शैक्षिक सामग्री (भिडियो, इन्फोग्राफिक) नियमित पोस्ट गर्ने l

प्रतिस्पर्धाको जोखिम: यो व्यवसाय सुरु गर्ने प्रवेश अवरोध (entry barrier) कम भएकाले भविष्यमा धेरै प्रतिस्पर्धीहरू आउन सक्छन्, जसले मूल्य घटाउन सक्छ।

  • गुणस्तरलाई मुख्य विभेदक (differentiator) बनाउने l जैविक प्रमाणपत्र (USDA Organic, EU Organic) लिने l ब्रान्डिङ र प्याकेजिङ्गमा लगानी गर्ने l विशिष्ट बजार खण्ड (जैविक किसान, प्रीमियम घरेलु बगैंचा, निर्यात) मा केन्द्रित हुने l

प्रविधि र उपकरणको जोखिम: व्यावसायिक ग्राइन्डर, ड्रायर, प्याकेजिङ्ग मेसिनहरू महँगो हुन सक्छन्। उपकरण बिग्रियो भने उत्पादन रोकिन्छ।

  • सानो स्तरबाट सुरु गर्ने, आवश्यकता अनुसार उपकरण थप्ने l नियमित मर्मत र सफाइको तालिका बनाउने l महत्त्वपूर्ण उपकरणहरूको ब्याकअप (जस्तै: सानो ग्राइन्डर) राख्ने l प्राविधिक तालिम लिने वा अनुभवी प्राविधिक राख्ने l

कानुनी र नियामकीय जोखिम:  खाद्य ऐन, गुणस्तर मापदण्ड पालना नगरेमा जरिवाना, व्यवसाय बन्द, वा कानुनी कारबाही हुन सक्छ।

  • खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग (DQFTC) को मापदण्ड अध्ययन र पालना गर्ने l उत्पादनको प्रयोगशालामा परीक्षण गराउने (पोषण तत्व, ब्याक्टेरिया, भारी धातु) l लेबलमा स्पष्ट रूपमा उत्पादन मिति, म्याद, प्रयोग विधि, र पोषण तत्व उल्लेख l निर्यातका लागि आवश्यक प्रमाणपत्र (जैविक, ISO २२०००) प्राप्त गर्ने l

वित्तीय जोखिम: प्रारम्भिक लगानी उच्च हुन सक्छ, आम्दानी अनिश्चित, ऋणको भारले व्यवसाय प्रभावित हुन सक्छ।

  • सानो स्तरबाट सुरु गरी आम्दानी पुनः लगानी गर्दै विस्तार गर्ने l विस्तृत व्यवसाय योजना (business plan) र सम्भाव्यता अध्ययन गर्ने l सरकारी अनुदान, कृषि ऋण, युवा उद्यमी कोषको उपयोग l विविध बिक्री च्यानल (थोक, खुद्रा, अनलाइन, निर्यात) मार्फत आम्दानीको स्रोत विविधीकरण गर्ने l
स्रोत:  Market Research FutureReports and MarketsEntrepreneur India; Youtube

अन्तिम निष्कर्ष: के अण्डाको बोक्रा पाउडर व्यवसायको भविष्य छ?

हो, यस व्यवसायको भविष्य छ। अण्डाको बोक्रा पाउडर केवल एउटा "फोहोर" मात्र होइन, यो एउटा बहु-अर्ब डलरको विश्वव्यापी उद्योग हो जसको माग द्रुत गतिमा बढिरहेको छ। नेपालजस्तो मुलुकमा कच्चा पदार्थ प्रशस्त, श्रम लागत कम, र निर्यातको ठूलो सम्भावना भएकोले, यो व्यवसाय नेपाली उद्यमीहरूको लागि सुनौलो अवसर बन्न सक्छ।

तर, यो अवसरलाई सदुपयोग गर्नको लागि:

  • गुणस्तर र सरसफाइमा सम्झौता नगर्ने l
  • अन्तर्राष्ट्रिय मापदण्ड र प्रमाणपत्रतर्फ लाग्ने l
  • ग्राहकलाई प्रयोग विधि सिकाउने र विश्वास जित्ने l
  • सानो स्तरबाट सुरु गरी अनुभव संगाल्दै विस्तार गर्ने l

गर्न सकियो भने, आज फोहोरको रूपमा फालिने अण्डाको बोक्रा नै भोलि दिगो आम्दानी, रोजगारी, र वातावरणीय योगदानको स्रोत बन्न सक्छ।

यो पनि हेरौ:  गोबरलाई मलमा परिणत गरी आम्दानी बढाउने बारे सोचौ l
Click Here
DHN Admin 23 मार्च, 2026
सेयर गर्नुहोस् 
ट्याग्स
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
गोबरको व्यवसाय: नेपालको अर्बौंको जैविक मल उद्योग
Data Insight