नेपालको गाउँघरतिर बिहानको समयमा गोठ सफा गर्दै गरेको दृश्य सामान्य लाग्छ। तर के यहाँले कहिल्यै सोच्नुभएको छ, त्यो एउटा गोठबाट निस्कने फोहर वास्तवमा कति मूल्यवान छ?
एउटा वयस्क गाईले दैनिक २९.५ केजी गोबर उत्पादन गर्दछ। एउटा गाईले दिनमा १५ पटक सम्म गोबर दिन सक्छ । यसरी एक वर्षमा एउटा गाईले करिब ९०८ केजी गोबर दिने गर्छ l
यसको अर्थ के हो भने एउटा साधारण गाई वर्षभरि १० टनभन्दा बढी कच्चा जैविक पदार्थ उत्पादन गर्ने एउटा सानो जैविक कारखाना जस्तै हो।
Source: Ferguson Foundation
तर दुर्भाग्य, नेपालमा यो बहुमूल्य स्रोतलाई अझै पनि "फोहर" को रूपमा हेरिन्छ, जसलाई खेतमा फाल्ने, बाल्ने वा बगाएर खेर फाल्ने गरिन्छ।
यस ब्लगमा विशेष गरी गोबरबाट उत्पादन हुने जैविक मलको सन्दर्भमा नेपालमा रहेको अवस्था, विश्व बजारको माग, र सम्भावित आर्थिक अवसरलाई तथ्याङ्क, विश्लेषण र उदाहरणमार्फत प्रस्तुत गरिएको छ।

गोबर मलको विश्वव्यापी व्यापार: फोहरबाट अन्तर्राष्ट्रिय वस्तुसम्म
गोबर मलको मूल्य अब गाउँघरको गोठमा मात्र सीमित छैन। यो अहिले अन्तर्राष्ट्रिय कृषि बजारमा प्रवेश गरिसकेको उत्पादन हो, जहाँ यसलाई उच्च गुणस्तरको जैविक मलका रूपमा प्रयोग गरिन्छ।
विश्वव्यापी रूपमा जैविक कृषि विस्तार र रासायनिक मलको पर्यावरणीय असरप्रति बढ्दो चिन्ताका कारण गोबर आधारित मलको माग तीव्र रूपमा बढ्दै गएको छ। उपलब्ध बजार विश्लेषण अनुसार २०२६ मा करिब १२.०२ बिलियन अमेरिकी डलर रहेको यो बजार २०३१ सम्ममा १८.६५ बिलियन डलर पुग्ने अनुमान गरिएको छ, जुन लगभग ९.२% वार्षिक वृद्धि दर (CAGR) हो।
यसले एउटा स्पष्ट संकेत दिन्छ—गोबर मलको अन्तर्राष्ट्रिय माग तीव्र गतिमा बढिरहेको छ, र सही नीति तथा व्यवसायिक पहल भएमा नेपाल पनि यस बजारको सम्भावित आपूर्तिकर्ता बन्न सक्छ।
विवरण | जानकारी |
|---|---|
प्रमुख निर्यात गन्तव्यहरू | माल्दिभ्स, सिंगापुर, संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरब, अमेरिका |
खाडी मुलुकहरुमा प्रयोग | मरुभूमि क्षेत्रमा माटोको नमी जोगाउन र खजूर उत्पादन बढाउन |
प्रतिकिलो मूल्य (निर्यात) | प्रति केजी लगभग ४८ – ८० नेपाली रुपैयाँ |
Source: Radiocity; LinkedIn; Indiannewslink; Yahoo Finance
बुझ्नु पर्ने कुरो: भारतले अहिले वार्षिक ४०० करोड रुपैयाँभन्दा बढीको गोबर तथा गोबर आधारित उत्पादन निर्यात गरिरहेको तथ्यले नेपालका लागि ठूलो अवसर देखाउँछ। नेपालमा पनि ठूलो पशुधन स्रोत छ। यदि:
गोबरलाई व्यवस्थित रूपमा संकलन गरियो, भने
वैज्ञानिक तरिकाले कम्पोस्ट वा भर्मी कम्पोस्ट उत्पादन गरियो, भने
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रमाणीकरण (organic certification) गरियो, भने
नेपालले पनि गोबर मललाई निर्यात योग्य जैविक उत्पादनका रूपमा विकास गर्न सक्छ।
यसले ग्रामीण क्षेत्रका किसान, सहकारी र साना उद्यमीहरूका लागि नयाँ हरित व्यवसाय (green business) को ढोका खोल्न सक्छ।
एउटा व्यवसायको रूपमा गोबर मल: व्यक्तिगत आर्थिक सम्भावना
गोबर मल उत्पादन व्यक्तिगत वा सानो स्तरको व्यवसायका रूपमा सुरु गर्न सकिने कृषि उद्यम हो। यसको सबैभन्दा ठूलो फाइदा के हो भने कच्चा पदार्थ (गोबर) ग्रामीण क्षेत्रमा सजिलै उपलब्ध हुन्छ र प्रारम्भिक लगानी तुलनात्मक रूपमा कम हुन्छ।
व्यवसायिक दृष्टिले हेर्दा गोबरलाई प्रशोधन गरेर भर्मी कम्पोस्ट वा कम्पोस्ट मल बनाउँदा यसको मूल्य उल्लेखनीय रूपमा बढ्छ। उदाहरणका लागि, नेपालमा केही किसानहरूले गोबर खरिद गरेर भर्मी कम्पोस्ट उत्पादन गर्दै वार्षिक लाखौँ रुपैयाँसम्म आम्दानी गर्न सफल भएका उदाहरणहरू छन्।
बाँकेका एक उद्यमी यसका ज्वलन्त उदाहरण हुन्। उनले मात्र ४ कठ्ठा जग्गा भाडामा लिएर, ६० वटा बेड मा भर्मी कम्पोस्ट उत्पादन गरिरहेका छन्। २०७१ सालमा एक केजी गँड्यौला किनेर सुरु गरेको यो यात्रा आज वार्षिक २०-२५ लाख रुपैयाँ को कारोबारमा पुगेको छ ।
यसले देखाउँछ कि सही व्यवस्थापन र बजार पहुँच भएमा गोबर मल सानो लगानीबाट सुरु गर्न सकिने कृषि व्यवसाय बन्न सक्छ। तलको तालिकाले करिब 18–20 ट्रली गोबर प्रयोग गरेर एक उत्पादन चक्रमा हुने उत्पदन र आम्दानी देखाऊछ:
विवरण | अनुमानित अंकहरु |
|---|---|
एकपटक प्रयोग हुने गोबर | १८–२० ट्रली |
एक ट्रलीबाट मल उत्पादन | ~१२ क्विन्टल |
कुल उत्पादन (20 ट्रली) | ~२४० क्विन्टल |
बजार मूल्य | ~रु २,५०० प्रति क्विन्टल |
कुल बिक्री मूल्य | रु ६,००,००० |
उत्पादन चक्र | ३–४ महिना |
Source: The Rising Nepal 10/03/2026
आम्दानीको गणित: यदि वर्षमा ३ उत्पादन चक्र चलाइयो भने:
वार्षिक सम्भावित बिक्री: करिब रु १८–२० लाख l यसले मासिक ४०,०००-५०,००० आम्दानी हुने सम्भावना देखाऊदछ l
तद राख्नुपर्ने कुरोहरु: किन यो व्यवसाय आकर्षक छ?
कम कच्चा पदार्थ लागत: गोबर ग्रामीण क्षेत्रमा सजिलै उपलब्ध हुन्छ, धेरै अवस्थामा सस्तो वा निःशुल्क पनि पाइन्छ।
मूल्यवर्धनको ठूलो सम्भावना: कच्चा गोबरको मूल्य धेरै कम हुन्छ, तर प्रशोधनपछि बन्ने भर्मी कम्पोस्टको मूल्य रु 20–25 प्रति केजीसम्म पुग्न सक्छ।
बढ्दो बजार माग: जैविक कृषि, तरकारी खेती, फलफूल बगान, नर्सरी तथा शहरी बगैंचामा जैविक मलको माग लगातार बढिरहेको छ।
विस्तार गर्न सजिलो: सानो स्तरमा सुरु गरेर बजार बढ्दै जाँदा उत्पादन क्षमता बढाउन सकिन्छ।
गोबर मलको नेपालमा माग: एउटा केस स्टडी
गोबर मलको नेपालमा माग कति छ भन्ने तथ्याङ्क सहजै प्राप्त हुँदैन। तर, एउटा नेपाली कम्पनीले रु. ५०० मा २५ केजी गोबर मल बिक्री गरिरहेको फेसबुक पोष्टमा प्राप्त कमेन्टहरूले नेपाली बजारमा गोबर मलप्रतिको बढ्दो मागलाई स्पष्ट रूपमा उजागर गरेको छ। यी कमेन्टहरूको विश्लेषणले धेरै महत्त्वपूर्ण प्रवृत्तिहरू देखाउँछ।
नोट: यो कम्पनीको प्रोफाइल र यसले राखेका कृषि तथा उद्योगसम्बन्धी पोस्टहरू हेर्दा यसले गोबरबाट मल बनाउने व्यवसाय गरेको अनुमान गर्न सकिन्छ।
कमेंट्सहरु | प्रतिशत |
|---|---|
अर्डर गर्न चाहने | ~४५% |
डेलिभरी/चार्जबारे सोध्ने | ~१५% |
स्थान/सम्पर्क नम्बर सोध्ने | ~१८% |
गुणस्तर/शुद्धताबारे सोध्ने | ~७% |
Source: Facebook - dated 15/3/2026
कमेंट्सहरुको विश्लेषण: ख्याल गर्नुपर्ने कुरोहरु
धेरैजसो उपभोक्ताले १-२ बोरा (२५-५० केजी) माग गरेका छन्। केहीले ४-६ बोरा (१००-१५० केजी) सम्म माग गरेका छन्। केही उपभोक्ताले ठूलो परिमाण (२०-७० बोरा) मा समेत माग गरेका छन्, जसले व्यावसायिक प्रयोगकर्ताको उपस्थिति देखाउँछ।
माग काठमाडौं उपत्यकामा मात्र सीमित छैन। उपत्यकाभित्र विभिन्न स्थानसँगै उपत्यकाबाहिर बनेपा, हेटौंडा, पाल्पा, पोखरा, भरतपुर, विराटनगर, भैरहवा, मलेखु, धरानसम्मबाट माग आएको छ।
माग गर्ने उपभोक्तामा घरको बगैंचा, किचन गार्डेन, गमलाका लागि चाहिने घरेलु प्रयोगकर्ता देखि स्याउखेती र तरकारीखेती गर्ने व्यावसायिक किसान, गाई/भैंसीको मलसँग तुलना गर्ने पशुपालक, र पुन: बिक्रीका लागि माग गर्ने व्यवसायी सम्मको विविधता देखिन्छ।
बुझ्नुपर्ने मुख्य व्यावसायिक पाठहरू:
आपूर्तिभन्दा माग बढी: धेरै ग्राहकले अर्डर गरेको धेरै समय बितिसक्दा पनि सामान नपाएको गुनासो गरेका छन्। यसले बजारमा मागको तुलनामा आपूर्ति व्यवस्था प्रभावकारी हुन नसकेको संकेत गर्दछ।
मूल्य संवेदनशीलता:केही ग्राहकले मूल्य महँगो भएको टिप्पणी गरेका छन् भने कसैले गोबर भन्दैमा मूल्य कम हुनुपर्ने धारणा राखेका छन्। यसले मूल्य निर्धारणमा सन्तुलन र ग्राहकको क्रयशक्ति बुझ्न आवश्यक रहेको देखाउँछ।
प्रतिस्पर्धात्मक बजार:केही ग्राहकले विराटनगरजस्तो ठाउँमा प्रति बोरा रु. २५ मा मल पाइने जानकारी दिएका छन्। यसले यो व्यवसायमा मूल्य प्रतिस्पर्धा रहेको र ग्राहक मूल्यप्रति सचेत रहेको देखाउँछ।
गोबर मल उद्योग: अवसर र प्रमुख जोखिमहरू
गोबर मल व्यवसायमा ठूलो सम्भावना भए पनि यसका केही जोखिमहरू छन् जसलाई समयमै पहिचान गरी उचित न्यूनीकरण उपाय अपनाउन आवश्यक छ। बजारमा माग उच्च हुँदाहुँदै पनि धेरै उद्यमीहरूले कच्चा पदार्थ अभाव, श्रम संकट, प्रतिस्पर्धी बजार, ग्राहकको विश्वास र नीतिगत अस्थिरताजस्ता समस्या भोगिरहेका छन्। यी जोखिमहरूको पहिचान र व्यवस्थापन नै दीर्घकालीन सफलताको आधारशिला हो।
कच्चा पदार्थ अभाव: मोरङका एक व्यवसायीको उद्योगमा दैनिक १५,००० केजी उत्पादन क्षमता भए पनि कच्चा पदार्थ (गोबर) अभावले २,००० केजी मात्र उत्पादन हुँदैछ । यसर्थ, स्थानीय पशुपालकहरूसँग दीर्घकालीन खरिद सम्झौता (एमओयू) गर्ने बाटो खोज्दा उपर्युक्त हुन्छ। सहकारी मोडेलमा गोबर संकलन केन्द्र स्थापना गर्दा प्रभावकारी हुन सक्छ। आफैं पशुपालन व्यवसाय सँगै सञ्चालन गर्दा यो समस्या कम हुन सक्छ।
श्रमिक अभाव: सुर्खेतमा गरिएको एक अध्ययन अनुसार, ग्रामीण जनसंख्या घट्दै जाँदा गोबर संकलन र मल बनाउने कामका लागि श्रमिक पाउन गाह्रो हुँदै गएको छ । यसर्थ, यान्त्रिकीकरण (मेसिनरीको प्रयोग) गर्नुपर्छ।
नक्कली/मिश्रित मलको बजार: सीमावर्ती क्षेत्रमा भारतबाट भित्रिने नक्कली मल नेपाली ब्रान्डमा प्याकेजिङ गरी बेचिन्छ। कतिपय ब्रान्डहरू बिना गुणस्तर परीक्षण बिक्री भइरहेका छन् । यसर्थ, प्रयोगशाला परीक्षण गरी प्रमाणीकरण (certification) अनिवार्य गर्नुपर्छ। ब्रान्डिङ र प्याकेजिङलाई आकर्षक र सुरक्षित बनाउन सकिन्छ। "नेपाली अर्गानिक" छाप सहितको प्रमाणपत्र राख्दा ग्राहकले विश्वास गर्छन्।
प्राविधिक ज्ञानको अभाव: कपिलवस्तुका एक किसानलाई यूएमएनको परियोजनाले गँड्यौला र प्रशिक्षण दिएपछि मात्र उनले भर्मीकम्पोस्ट उत्पादन गर्न सफल भए । यसर्थ, नियमित तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ। कृषि ज्ञान केन्द्र र प्राविधिकसँग सहकार्य गर्न सकिन्छ। सफल किसानको अवलोकन भ्रमण गराउनुपर्छ।
नीतिगत अस्थिरता र अनुदान अभाव: कर्णाली प्रदेशलाई जैविक प्रदेश घोषणा गरेको ७ वर्षमा पनि प्रत्याशित परिणाम आउन सकेको छैन। करोडौंको प्रयोगशाला निर्माण भएर पनि प्रयोगविहीन छन् । स्थानीय तहसँग साझेदारी गरी बजार सुनिश्चितता गर्न सकिन्छ। उद्योग संगठन/सङ्घमा आबद्ध भई सामूहिक आवाज उठाउनुपर्छ।
उत्पादन र मागको अन्तर: बाँकेका एक उद्यमीले एकपटक किनेको गोबरबाट ४ पटक सम्म मल उत्पादन गर्न सकिने बताए पनि यसको लागि व्यवस्थित योजना चाहिन्छ । यसर्थ, उत्पादन चक्र योजना बनाउनुपर्छ। बजारको माग अनुसार उत्पादन तालिका मिलाउन सकिन्छ। विविधीकरण गर्नुपर्छ: भर्मी कम्पोस्ट, कम्पोस्ट, तरल मल।
भण्डारण र ढुवानी चुनौती: ७१% घरपरिवारसँग कृषि जमिन भए पनि १२% ले मात्र जैविक मल प्रयोग गर्छन्। भण्डारण र ढुवानी चुनौती यसको प्रमुख कारण हो । यसर्थ, स्थानीय स्तरमै भण्डारण केन्द्र स्थापना गर्नुपर्छ। सहकारीमार्फत सामूहिक ढुवानी गर्न सकिन्छ। सानो प्याकेजिङ (५-१० केजी) घरेलु प्रयोगकर्ताका लागि उपयुक्त हुन्छ।
Source: The Rising Nepal 21/11/2024; The Rising Nepal 10/03/2026; Ratopati 26/04/2018; UMN
अन्तिम निष्कर्ष: के गोबर मल व्यवसायको भविष्य छ?
ब्लगको सुरुमा हामीले एउटा गाईले दैनिक २९.५ केजी, वार्षिक ९०८ केजी गोबर दिन्छ भनेर थाहा पायौ । नेपालमा करिब ७५ लाख गाईवस्तु छन्। यदि यी मध्ये १०% गाईको गोबर मात्र पनि व्यवस्थित रूपमा संकलन गरेर मल बनाउन सकियो भने, यसले वार्षिक अर्बौं रुपैयाँको अर्थतन्त्र सिर्जना गर्न सक्छ।
यो केवल एउटा व्यवसाय मात्र होइन; यो माटो बचाउने अभियान पनि हो। रासायनिक मलले बिग्रँदै गएको नेपालको माटोको स्वास्थ्य सुधार गर्न, किसानलाई सस्तो र सुलभ जैविक मल उपलब्ध गराउन, युवालाई देशमै रोजगारी दिन, र वातावरण संरक्षण गर्न यो व्यवसायको ठूलो भूमिका छ।
त्यसैले, गोबरलाई फोहर नसम्झौं। यो एउटा बहुमूल्य स्रोत हो। यसको सही उपयोग गर्न सकियो भने, यसले नेपालको कृषि अर्थतन्त्रमा क्रान्ति ल्याउन सक्छ।
काम सानो ठूलो हुँदैन, त्यसमा देखाइएको प्रतिबद्धताले नतिजा निर्धारण गर्छ।" - वीरबहादुर हमाल, बाँके साभार -Ratopati 14/02/2026
यही प्रतिबद्धता र सही रणनीतिका साथ अघि बढ्ने हो भने, गोबर मल व्यवसायमा नेपालको भविष्य उज्ज्वल छ।