977
के सौराहामा होटल धेरै भए? २०२६ को प्रक्षेपण र व्यवसायीका लागि रणनीति
Data Insights

चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरू मध्ये एक हो, जहाँ हरेक वर्ष नेपाली तथा अन्तर्राष्ट्रिय पर्यटकहरू वन्यजन्तु अवलोकन, चरा अवलोकन र प्राकृतिक सौन्दर्यको आनन्द लिन भ्रमण गर्छन्।

सौराहामा लगभग १५० होटलहरू छन् l यी होटेलहरुको क्षमता प्रति दिन लगभग ७,२०० पाहुना अटाउने खालको छ l औसतमा भन्नु पर्दा, प्रति होटल लगभग २४ कोठा जति छन् भन्ने अनुमान गर्न सकिन्छl

Source:  OurTourism News 06/07/2025; Ichchhakamana News 20/02/2026 

यस सन्दर्भमा, यो प्रश्न एकदम स्वाभाविक छ: के यहाँको होटल क्षमता र पर्यटक संख्या बीच सन्तुलन छ? के हामीले पछिका दिनहरुमा आउने पर्यटक संख्याको आधारमा होटलहरू निर्माण गरेका छौं? वा हामीले केवल अनुमान र आशावादी भएर मात्र यी होटेलहरु खोलेका छौ ? 

यस ब्लगले तीन यथार्थपरक परिदृश्यहरू (हालकै अवस्था, बढी आए भने र कम आए भने) अन्तर्गत २०२६ को लागि अनुमानित मासिक पर्यटक संख्या र सो सङ्ख्यालाई चाहिने होटेलको बारेमा जानकारी दिन्छ। सौराहामा बस्ने पर्यटकको प्रतिशत (५०%, ७०% र ८०%) को आधारमा, यसले वास्तवमा कति होटलहरू आवश्यक पर्न सक्छन् भन्ने अनुमान गर्दछ।

*होटेलले पर्यटक बाहेक अन्य क्रियाकलाप (भोजभतेर वा व्यवसायिक जमघट) मार्फत पनि आम्दानी गर्ने हुँदा, ति पाटाहरु यसमा समावेश गरिएको छैन l 

तीन परिदृश्यमा २०२६ को मासिक प्रक्षेपण

सन् २०२६ का लागि गरिएको तीन परिदृश्य (अहिलेकै अवस्था, धेरै आए भने र कम आए भने) को प्रक्षेपणले चितवन राष्ट्रिय निकुञ्जको पर्यटन मौसमी छ भन्ने प्रस्ट पार्दछ l तीनवटै परिदृश्यमा अक्टोबर महिना सबैभन्दा व्यस्त रहने देखिन्छ भने मार्च, अप्रिल, नोभेम्बर र डिसेम्बर पनि व्यस्त महिनाको रूपमा रहने देखिन्छ। जुन, जुलाई र अगस्ट महिना कम पर्यटक आउने देखिन्छ l 

महिना
पर्यटक %
अहिलेको अवस्थामा
बढी आए भने
कम आए भने
जनवरी
७.४४
२६,७८४
२९,७६०
२२,३२०
फेब्रुअरी
९.२५
३३,३००
३७,०००
२७,७५०
मार्च
१०.९२
३९,३१२
४३,६८०
३२,७६०
अप्रिल
१०.५७
३८,०५२
४२,२८०
३१,७१०
मे
६.७८
२४,४०८
२७,१२०
२०,३४०
जुन
३.४८
१२,५२८
१३,९२०
१०,४४०
जुलाई
३.३२
११,९५२
१३,२८०
९,९६०
अगष्ट
३.०१
१०,८३६
१२,०४०
९,०३०
सेप्टेम्बर
५.७६
२०,७३६
२३,०४०
१७,२८०
अक्टोबर
१५.४९
५५,७६४
६१,९६०
४६,४७०
नोभेम्बर
१२.२१
४३,९५६
४८,८४०
३६,६३०
डिसेम्बर
११.८०
४२,४८०
४७,२००
३५,४००
जम्मा
१००
३६०,०००
४००,०००
३००,०००

तिनै परिदृश्यहरुको बारेमा थप जानकारी लिन, यो लिंकमा क्लिक गर्नुहोस् l  Chitwan National Park 

व्यवसायिक अन्तरदृस्टी: यस मासिक प्रक्षेपणले सौराहाका होटल व्यवसायीहरूलाई दुई महत्वपूर्ण संकेत गर्दछ: पहिलो, व्यस्त सिजन (अक्टोबर-डिसेम्बर र मार्च-अप्रिल) मा अधिकतम क्षमता उपयोग गर्न अग्रिम बुकिङ र मूल्य निर्धारण रणनीति बनाउनुपर्छ भने दोस्रो, अत्यन्तै कम सिजन (जुन-अगस्ट) मा होटल मर्मत, कर्मचारी बिदा र स्थानीय पर्यटक लक्षित प्याकेजको योजना बनाएर व्यवसायलाई सन्तुलित राख्न सकिन्छ।

के १५० होटल आवश्यक छन्?  तिनै परिदृश्यहरुको विश्लेषण

सन् २०२६ मा हालको अवस्था रहेमा ३६०,००० पर्यटकहरु यो ठाउँ आउने छन् l सबैभन्दा व्यस्त महिना अक्टोबरमा ६१,९२० पर्यटक आउने अनुमान छ। यी मध्ये कति प्रतिशत पर्यटक सौराहामा बस्छन् भन्ने कुराले आवश्यक होटल संख्या निर्धारण गर्दछ।

बढी पर्यटक आए भने, र ८०% पर्यटकहरु सौराहा कै होटेलमा बसे भने, असोज महिनामा जम्माजम्मी ७४ वटा होटेल भए पुग्छ l यो भनेको, हामीसंग अहिले भएको १५० होटेलको ४९% मात्र भए पुग्छ भनेको हो l

यस्तै, कम आए भने, र ८०% पर्यटकहरु सौराहा कै होटेलमा बसे भने, असोज महिनामा जम्माजम्मी ५६ वटा होटेल भए पुग्छ l यो भनेको, हामीसंग अहिले भएको १५० होटेलको ३७% मात्र भए पुग्छ भनेको हो l 

सन् २०२६ मा आउने पर्यटक सङ्ख्याका लागि चाहिने होटेल सङ्ख्या
चाहिने होटेल सङ्ख्या निकालेको तरिका
अक्टोबरमा आउने पर्यटक संख्या:  ६१,२९०; औषत आउने पर्यटक सङ्ख्या: ६१,९२०/३१=१,९९७
व्यस्त दिनमा कुल पर्यटक (औसत २ रात बसाइ):  १,९९७ × २ = ३,९९४
आवश्यक कोठा = (३,९९४ × प्रतिशत) ÷ २ जना प्रति कोठा =९९८.५ (५०% बसे भने)
आवश्यक होटल:  आवश्यक कोठा / २४ कोठा प्रति होटल (औसत) =998.5/24≈42
होटेलको क्षमता:  हाल भएको ७२०० क्षमतालाई १५० ले भाग गर्दा प्रति होटेल २४ कोठा हुने अवस्था देखिन्छ l
महत्वपुर्ण जानकारी: माथिको विश्लेषणले यथार्थपरक अवस्थामा ८०% पर्यटक सौराहामा बस्दा पनि ६७ वटा होटल मात्र आवश्यक पर्ने देखाउँछ। तर, यसको मतलब ८३ वटा होटल पूरै खाली रहन्छन् भन्ने होइन। वास्तविकतामा, होटलहरूको आकार, स्थान, सेवा गुणस्तर, र प्रतिष्ठाका आधारमा पर्यटकहरूले रोजाइ गर्छन्। कतिपय साना होटल पूरै भरिन सक्छन् भने कतिपय ठूला होटल आधा मात्र भरिन सक्छन्। त्यसैले, बजारको यथार्थता सधैं गणितभन्दा जटिल हुन्छ।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताउँछन्।

OurTourism News 06/07/2025

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउनुहुन्छ । गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उहाँको भनाइ छ । 

Ichchhakamana News 20/02/2026

होटेल व्यवसाय विस्तार सन्दर्भमा: नयाँ होटल निर्माण गर्ने सोच बनाउनुभएको छ भने - एक पटक दोहोर्याएर सोच्नुहोस्। तीनवटै परिदृश्यमा व्यस्त सिजनमा पनि अधिकतम ७४ वटा होटल मात्र आवश्यक पर्ने देखिन्छ। अहिलेकै १५० होटलले आगामी केही वर्षको माग धान्न सक्छन्। नयाँ होटल खोल्नु भनेको पहिल्यै खाली रहेको बजारमा प्रतिस्पर्धा झन् कडा बनाउनु हो। सट्टामा, अवस्थित होटलको स्तरोन्नति र पर्यटकको बसाइ अवधि बढाउने गतिविधिहरूमा लगानी गर्नु बुद्धिमानी हुनेछ।

पर्यटनमा नया सोच:  सिक्नुपर्ने केहि पाठहरु

नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटक मध्ये ११.१% मात्र चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने गर्छन । यसको अर्थ, नेपाल आउने १०० मध्ये ८९ जना पर्यटक चितवन नआइकन फर्किन्छन्।

हरेक संरक्षण क्षेत्र र राष्ट्रिय निकुन्जमा आउने पर्यटकको हिस्साको बारेमा थाहा पाउन, यहाँ क्लिक गर्नुहोस् l  Nepal Tourism

यस्तो अवस्थामा, चितवन भ्रमणमा आउने पर्यटकहरूको बसाइ अवधि बढाउनु अत्यन्तै आवश्यक छ। यदि हालको २ रातको बसाइलाई बढाएर ४-५ रात पुर्याउन सकियो भने, पर्यटक संख्या नबढीकनै होटलको अकुपेन्सी दर उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ। विश्वभरका पर्यटकीय गन्तव्यहरूले पर्यटकको बसाइ अवधि बढाउन विभिन्न रणनीति अपनाएका छन्, जसबाट चितवनले पनि धेरै कुरा सिक्न सक्छ।

फ्लोरेन्स सहरले "डिस्कभर द फ्लोरेन्टाइन वर्कशप्स" नामक परियोजना सुरु गर्यो, जसले पर्यटकलाई सहरको वास्तविक अनुभव गरायो । मुख्य आकर्षणहरू मात्र हेर्नु सट्टा, पर्यटकहरुलाई कारीगर कार्यशालाहरू, ऐतिहासिक क्याफेहरू, र पारिवारिक व्यवसायहरूमा लगियो l यसले गर्दा, फ्लोरेन्सको वास्तविक पहिचान यो हो भनेर पर्यटकहरुले बुझे । पर्यटकहरुले कामदारहरुबाट काम सिक्न, परम्परागत प्रविधिहरू बुझ्न, र सीधै उत्पादकहरूबाट खरिद गर्न सक्छन्। यस परियोजनामा व्यापार संघहरू, पसल मालिकहरू, र स्थानीय संस्थाहरू सँगै मिलेर काम गर्छन् ।
Source: https://fondazione.destinationflorence.it/en/dante-alighieri-guides-to-the-discovery-of-florentine-excellence-the-project-discover-the-florentine-workshops-kicks-off-get-to-know-the-real-florence/
  • सौराहामा पनि थारू समुदायको समृद्ध हस्तकला परम्परा छ l थारू महिलाहरूद्वारा बनाइने सिक्कीका डाली, माटाका भाँडा, र परम्परागत गहना। पर्यटकहरुलाई हस्तकला कार्यशालाहरूमा लगेर आफैंले बनाउन सिकाउनुहोस् । एक पर्यटकले एक घण्टा माटोको गाग्री बनाउन सिक्न सक्छ, र आफूले बनाएको वस्तु सुभिनायरको रूपमा किन्न सक्छ। ​
  • रेस्टुरेन्टहरूले थारू परिकार (जस्तै: ढिक्री, बगिया, अनरसा) पकाउने कक्षा सञ्चालन गर्न सक्छन्। यी अनुभवहरूले एक छोटो भ्रमणलाई आधा-दिनको बसाइमा परिणत गर्छ, र पैसा सीधै स्थानीय कारीगर र साना व्यवसायीहरूसम्म पुग्छ।
चितवनकै माडी नगरपालिकाको लक्ष्मीबास होमस्टेले देखाएको छ कि परम्परागत ब्राह्मण-क्षेत्री बस्ती पनि पर्यटकीय गन्तव्य बन्न सक्छ । छ वर्षअघि ४ वटा होमस्टेबाट सुरु गरिएको यो सामुदायिक पर्यटन आज ८ वटा होमस्टेमा विस्तार भएको छ, र गत आर्थिक वर्षमा ८,४६० पर्यटक यहाँ घुम्न आए । यहाँको सफलताको मुख्य रहस्य हो - जैविक खाद्यान्न, परम्परागत संस्कृति (भजन, देउडा गीत), र ग्रामीण शान्त वातावरण। पर्यटकहरू विषादीमुक्त तरकारी खान, घरपछाडिको बगैंचाबाट काँक्रो टिपेर खान, र सहरको कोलाहलबाट टाढा केही समय बिताउन आउँछन् ।
Source: https://kathmandupost.com/money/2025/08/06/once-a-natural-prison-madi-village-now-welcomes-thousands-of-tourists
  • सौराहाका होटलहरूले माडीको यो मोडेललाई आफ्नो प्याकेजमा समावेश गर्न सक्छन्। पर्यटकलाई एक दिनको लागि माडीको होमस्टेमा लगेर ग्रामीण जीवनको अनुभव गराउन सकिन्छ - खेतबारीमा काम गर्ने, जैविक खाना पकाउने, र साँझमा भजन कीर्तनमा सहभागी हुने।
  • यसले सौराहाको होटलको बसाइमा एक दिन थप्न सक्छ, र पर्यटकले नेपालको ग्रामीण जीवनको वास्तविक अनुभव पाउनेछ।
रुवाण्डाको न्युङ्ग्वे राष्ट्रिय निकुञ्जले उच्च-मूल्य, न्यून-मात्रा रणनीति (high-value, low-volume strategy) अपनायो। यहाँ क्यानोपी वाकवे, जिपलाइन, र थप पदमार्गहरू जस्ता नयाँ आकर्षणहरू थपेर पर्यटकलाई लामो समय बस्न प्रोत्साहित गरियो। परिणामस्वरूप, पर्यटक संख्या भन्दा पनि प्रति पर्यटक खर्च र बसाइ अवधिमा उल्लेखनीय वृद्धि भयो। सन् २००५ मा २,३८६ पर्यटकबाट सन् २०२४ मा २९,६६७ पर्यटक पुग्दा पनि राजस्व वितरण ५० मिलियन रुवाण्डा फ्रान्कबाट बढेर १.२ बिलियन पुग्यो।
Source: https://kathmandupost.com/money/2025/08/06/once-a-natural-prison-madi-village-now-welcomes-thousands-of-tourists
  • चितवनमा पनि नयाँ आकर्षणहरूको विकास गर्न सकिन्छ। केही वर्षअघि रात्रिकालीन सफारी सञ्चालनको योजना बनाइएको थियो, जसले पर्यटकलाई रातको समयमा वन्यजन्तु अवलोकन गर्ने अवसर दिने थियो । त्यस्तै, सौराहादेखि माडीसम्म २४ किलोमिटर लामो पदमार्ग विकासको योजना पनि थियो, जसले पर्यटकलाई राष्ट्रिय निकुञ्जको मुटुभएर पदयात्रा गर्ने अवसर दिने थियो ।
  • यी योजनाहरूलाई पुनर्जीवित गरेर, र क्यानोपी वाकवे, पक्षी अवलोकन टावर, र थारू सांस्कृतिक सङ्ग्रहालय जस्ता नयाँ आकर्षणहरू थपेर पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ।
DHN Admin 26 फेब्रुअरी, 2026
सेयर गर्नुहोस् 
पुरानो मितिका ब्लगहरु 
Sign in to leave a comment
दुनाटपरी उद्योग: नेपालमा बजार आकार, लगानी सम्भावना र निर्यात अवसर (२०२५ तथ्यांक)
Data Insight